इन्धन व्यापारमा निगम-पम्प सञ्चालक मिलेमतो : १६ दिनमा सञ्चालकहरूले कमाए ५६ करोड
काठमाडौँ : जब-जब नेपाल आयल निगमले इन्धनको मूल्य हेरफेर गर्ने तयारी गर्छ वीरगन्ज प्रमुख नाका भएको मधेस प्रदेशमा डिजेलको कारोबार छक्क पार्ने गरी बढ्छ। निगमले इन्धनमा मूल्य बढाएको मिति अनि बढेको मूल्य लागु हुनुभन्दा अगाडि मधेसमा रहेको डिपोबाट विक्री भएको डिजेलको परिमाण हेर्दा छक्कै पर्ने तथ्याङ्क देखियो।
२०७८ भदौ ५ गते निगमले डिजेलको भाउ १ सय ११ बाट १ सय १३ पुग्ने निर्णय गरेको अघिल्लो दिन मधेसको डिपोबाट पम्पहरूलाई १८ लाख ९२ हजार लिटर डिजेल विक्री भएको देखिन्छ।
निगमबाट उकेराले प्राप्त गरेको विवरण अनुसार भाउ बढ्ने दिन १५ लाख १७ हजार मात्र विक्री भयो। जब की ३ गते जम्मा ११ लाख ६१ हजार लिटर मात्रै डिजेल विक्री भएको देखिन्छ। इन्धन बढेको भोलिपल्ट अर्थात् ६ गते पनि जम्मा ११ लाख ६७ हजार लिटर विक्री भएको देखिन्छ।
यसले मधेसमा दैनिक ११ लाख लिटरको हाराहारीमा डिजेल विक्री हुने गरेको देखाउँछ। तर बढेको मूल्य लागु हुने अघिल्लो दिनको विक्री भने ७ लाख लिटर बढी देखिन्छ। जुन स्वाभाविक देखिँदैन।
आर्थिक वर्ष भरी मूल्य घटबढ भएकै १६ दिनमा २ करोड ६९ लाख ७४ हजार लिटर डिजेल विक्री हुँदा निगमले ३ अर्ब ७४ करोड ३५ लाख ४३ हजार आम्दानी गर्यो। पेट्रोल व्यवसायीले ३ अर्ब ८४ करोड ४८ लाख ७७ हजार आम्दानी गरे। यसमा अझैँ वैध कमिसन जोडिएकै छैन।
इन्धन विक्री गर्दा पम्पहरूले पाउने कमिसनै नजोडे पनि यो बिचमा चालु आवमा मधेस प्रदेशका पम्प व्यवसायीले १३ करोड १० लाख ९८ हजार ४ सय ११ रुपैयाँ बढी नाफा पाएको देखिन्छ।
मूल्य घटबढ भएको १६ दिनमा मधेस प्रदेशमा ७८ लाख ८२ हजार ६ सय ३९ लिटर पेट्रोल विक्री भएको निगमको तथ्याङ्कले देखाउँछ। पेट्रोल बेच्दा निगमलाई १ अर्ब २२ करोड ४७ लाख ४६ हजार १ सय ६० रुपैयाँ आम्दानी भएको देखिन्छ भने त्यही पेट्रोल बेच्दा व्यवसायीलाई १ अर्ब २५ करोड ४५ लाख १० हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको देखिन्छ। यो भनेको २ करोड ९७ लाख ६४ हजार ४ सय ११ रुपैयाँ पम्प व्यवसायीलाई फाइदा हो।
मधेस प्रदेश मात्र हैन। अन्य प्रदेशको इन्धनमा मूल्य बढाएको दिनको कारोबार शङ्कारहित देखिएन। निगमले मध्यरात मूल्य बढेको सूचना निकालेर रातको १२ बजेबाट लागु गर्छ। त्यही दिन दिनभर अन्य दिनको भन्दा धेरै इन्धन डिपोबाट बिक्री हुन्छ।
यसले मूल्य बढाउने निर्णय अगाडि नै निश्चित पम्प सञ्चालकहरूमा सो सूचना पुग्ने र उनीहरूले बढेको मूल्य लागु हुने अघिल्लो दिन पुरानै रेटमा इन्धन उठाएर बढेको मूल्यमा विक्री गरेर मनग्ये नाफा कमाउने गरेको देखाउँछ।
आयल निगमले प्रदेश १, महेन्द्रनगर, नेपालगन्ज, दाङ, मधेस प्रदेश, बागमती प्रदेश, चरिलाल डिपो, दिपायल डिपो, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी, भैरहवा पेट्रोल पम्प, नेपालगन्ज पेट्रोल पम्प र सुदूरपश्चिम डिपो गरी १४ स्थानबाट पेट्रोल तथा डिजेल बिक्री गर्ने गरेको छ।
उकेराले आर्थिक वर्ष २०७८-०७९ मा हाल सम्म नेपाल आयल निगमले १६ पटक इन्धनको मूल्यमा गरेको घटबढ गरेको दिनको तथ्याङ्क केलाएको थियो। त्यसले पुरानो मूल्यमा इन्धन किनेर बढेको मूल्यमा विक्री गर्दा पेट्रोल पम्प व्यवासायीहरुले कमिसन बाहेक सहजै ५५ करोड ९९ लाख ७ हजार ९५ रुपैयाँ नाफा कमाएको देखिन्छ। अर्थात् निगमले यति नै रकम घाटा बेहोर्यो यो अवधिमा।
निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानी भने मूल्य घटबढ हुँदाको नाफा घाटा जे भए पनि पम्प व्यवसायीले नै बेहोर्ने सम्झौता भएकाले यसलाई सामान्य रूपमा हिसाब गरेर नाफा-घाटा ननिस्कने दाबी गर्छन्।
‘हामीले मूल्य घटाउँदाको घाटा व्यवसायीले बेहोरिरहेका छन् भने बढाउँदाको फाइदा पनि लिएका छन्,’उनले भने, ‘एकतर्फी सोचेर उनीहरूले फाइदा लिएको मात्रै देख्नु भएन।’
तर मूल्य घटबढ गरेकै दिन सधैँ कसरी बढी इन्धन विक्री हुने गरेको हो भन्ने जिज्ञासाको प्रस्ट जवाफ भने उनीसँग छैन। यसलाई 'संयोग' भनेर निगमबाट पम्प व्यवसायीलाई फाइदा हुने गरी भइरहेको सूचना चुहावटलाई लुकाउने प्रयास गरे।
यस्तो छ १४ डिपोको शङ्कास्पद कारोबार
उकेराले १४ वटै डिपो तथा पेट्रोल पम्पको विवरण केलाउँदा निगमको डिपोबाट हुने विक्रीको मात्रा शङ्कारहित देखिएन।
सुरुवातमा प्रदेश एक हेरौँ। विराटनगरमा रहेको डिपोमा मूल्य घटबढ भएको १६ दिनमा पेट्रोल ५६ लाख ८४ हजार ९ सय ३ लिटर पेट्रोल र १ करोड ३० लाख ५० हजार १४ लिटर डिजेल विक्री भएको देखिन्छ। मूल्य बढाउने दिन अघिपछि भन्दा धेरै मात्रामा इन्धन विक्री भएको छ। निगमले १६ दिनमा विक्री भएको इन्धनबाट ८८ करोड ५ लाख ७१ हजार ४४ रुपैयाँ आम्दानी गरेको देखिन्छ।
त्यही इन्धन पम्प व्यवसायीले बेच्दा कमिसन बाहेक ८९ करोड ९६ लाख ६ हजार ३ सय ३० रुपैयाँ आम्दानी भएको देखिन्छ यो भनेको निगमलाई भन्दा १ करोड ९० लाख ३५ हजार २ सय ८६ बढी हो।
त्यस्तै डिजेलमा पनि निगमलाई भन्दा पेट्रोल पम्पलाई ४ करोड ८७ लाख ६२ हजार २१ रुपैयाँ फाइदा भएको देखिन्छ। निगमलाई १ अर्ब ८२ करोड २२ लाख ९१ हजार ३ सय मात्रै आम्दानी हुँदा पेट्रोल पम्पलाई भने १ अर्ब ८७ करोड १० लाख ५३ हजार ३ सय २१ रुपैयाँ आम्दानी भएको देखिन्छ।
वर्ष भरी १६ पटक मूल्य घटबढ गरेको सरकारले प्रदेश १ का पेट्रोल व्यवसायीले मात्र ६ करोड ७७ लाख ९७ हजार ३ सय ३ कमिसन बाहेक नाप् गरेको प्रस्टै देखिन्छ। विराटनगर डिपो रहेको स्थान जोगबनी नाका हो।
चालु आवमा बागमती प्रदेशमा पेट्रोलको मूल्य घटबढ भएको १६ दिनमा बिक्री भएको इन्धनको हिसाब गर्दा १ करोड २८ लाख ५८ हजार ३ सय २८ लिटर पेट्रोल बिक्री भएको देखिन्छ।
सरकारले यसलाई साबिकको मूल्यमा बेचेको हुन्छ। सरकारलाई त्यति पेट्रोल बेच्दा १ अर्ब ९४ करोड ९८ लाख ९९ हजार ९ सय सात आम्दानी भएको छ। त्यही परिमाणको पेट्रोल पम्प व्यवसायीले बेच्दा २ अर्ब ९ लाख ७१ हजार ३ सय ९१ रुपैयाँ आम्दानी गरे।
यसले वैध कमिसन बाहेक मूल्यमा भएको घटबढबाट व्यवसायीले सिधै ५ करोड १० लाख ७१ हजार ४ सय ८४ रुपैयाँ नाफा गरेको प्रस्टै देखिन्छ।
चालु आवमा बागमती प्रदेशमा डिजेल १ करोड ५१ लाख ६४ हजार ९ सय ५४ लिटर बिक्री भएको थियो। यति डिजेल बेच्दा पेट्रोल व्यवसायीले २ अर्ब १३ करोड ४८ लाख १० हजार ९ रुपैयाँ कमाए। सरकारले जम्मा २ अर्ब ८५ करोड ५३ लाख १३ हजार ७ सय ४६ रुपैयाँ कमायो।
अर्थात् पम्प सञ्चालकहरूले डिजेलमा निगमले दिने कमिसनभन्दा ४ करोड ९४ लाख ९६ हजार २ सय ६३ रुपैयाँ बढी कमाए।
गत आवको असार २० सम्म बागमती प्रदेशमा पेट्रोल २१ करोड ७३ लाख ४५ हजार ३ सय ९७ र डिजेल २५ करोड ५८ लाख ४२ हजार ६ सय ६४ लिटर बिक्री भएको थियो।
यसरी बागमती प्रदेशमा बिक्री भएको इन्धनको परिमाण मात्रै हेर्दा पम्प सञ्चालकहरूलाई इन्धन बिक्रीबापत आउने कमिसन बाहेकै १० करोड ५ लाख ६७ हजार ७ सय ४७ रुपैयाँ सोझै नाफा भएको देखिन्छ।
निगम सधैँ घाटामा पम्प व्यवसायी सधैँ नाफामा
गण्डकी प्रदेशमा भने पेट्रोल तथा डिजेलको खपत नै कम हुने गरेको देखियो। मूल्य घटबढ भएको १६ दिनमा गण्डकी प्रदेशमा पेट्रोल २२ लाख ७२ हजार ७ सय ४३ लिटर विक्री भएको थियो। यही तेल बेचेर सरकारले ३५ करोड ७५ लाख ९४ हजार ४ सय ४३ रुपैयाँ पायो भने पेट्रोल पम्प व्यवसायीहरूले ३६ करोड ६६ लाख ९६ हजार ४० रुपैयाँ प्राप्त गरे। यो पनि कमिसन बाहेक हो।
त्यस्तै डिजेलमा १६ दिनमा ३९ लाख ८ हजार ९ सय ८३ लिटर विक्री भएकोमा सरकारले ५५ करोड ७२ लाख २९ हजार ६ सय ४५ रुपैयाँ प्राप्त गर्यो भने पम्प व्यवसायीहरूले ५६ करोड ८५ लाख ८६ हजार ८ सय ७० रुपैयाँ प्राप्त गरे। यसरी दुबैमा पम्प व्यवसायीले कमिसन बाहेक २ करोड ४ लाख ५८ हजार ८ सय २२ रुपैयाँ नाफा गरेको देखिन्छ।
लुम्बिनी प्रदेशमा १६ दिनमा ५१ लाख १४ हजार १ सय ७ लिटर पेट्रोल विक्री भयो। निगमले ७९ करोड ५३ लाख ५९ हजार १ सय २३ आम्दानी गरेकोमा पम्प व्यवसायीले ८० करोड ८९ लाख १४ हजार ५ सय ८२ रुपैयाँ आम्दानी गरे।
डिजेल १ करोड ५० लाख २४ हजार ८ सय २८ लिटर विक्री हुँदा लुम्बिनी प्रदेशबाट निगमले २ अर्ब ८ करोड ९४ लाख ७८ हजार ३ सय ७४ रुपैयाँ कमाई गर्यो। जब कि व्यवसायीले उति नै मात्राको डिजेल विक्री गर्दा २ अर्ब १३ करोड २६ लाख ४३ हजार ७३ रुपैयाँ आम्दानी गरे।
डिजेल र पेट्रोल दुवैको नाफा जोड्दा लुम्बिनीका पम्प व्यवसायीले ५ करोड ६७ लाख २० हजार १ सय ५८ रुपैयाँ फाइदा भएको देखिन्छ।
आयल निगम र पम्प व्यवसायीको चलखेल : सस्तोमा किनेर महँगोमा बेच्छन् लाखौं लिटर इन्धन
त्यस्तै कर्णाली प्रदेशमा पनि डिजेलमा धेरै नाफा लिएको देखिन्छ। १६ दिनमा ५ लाख १८ हजार १ सय २२ लिटर पेट्रोल विक्री भएकोमा निगमलाई ८ करोड ७ लाख ५६ हजार ८ सय ४८ रुपैयाँ आम्दानी भएको देखिन्छ भने सोही पेट्रोल पम्पले बेच्दा ८ करोड २९ लाख २ हजार १ सय ७९ रुपैयाँ आम्दानी भएको देखिन्छ।
डिजेल मूल्य परिवर्तन भएको १६ दिनमा १६ लाख ७६ हजार १ सय १० लिटर विक्री भएकोमा निगमले २३ करोड ५३ लाख ३९ हजार ५ सय ७५ रुपैयाँ आम्दानी गरेको थियो भने २४ करोड ४० लाख ६५ हजार ८ सय ९२ रुपैयाँ आम्दानी भएको देखिन्छ। यसरी हेर्दा दुवै इन्धनबाट निगमलाई १ करोड ८ लाख ७१ हजार ६सय ४८ रुपैयाँ घाटा भएको देखिन्छ भने व्यवसायीलाई फाइदा ।
बाँकी रहेका डिपोबाट इन्धन बेच्दा निगमलाई घाटा र पम्प व्यवसायीलाई फाइदा भएको देखिन्छ। यहाँ कति फाइदा लिए पम्प व्यवसायीहरूले भनेर मात्रै हिसाब राखिएको छ। जसमा सुदूरपश्चिमका पम्प व्यवसायीले ३ करोड ३८ लाख १४ हजार ४ सय १८ रुपैयाँ नाफा लिएको देखिन्छ ।
नेपालगन्जका पम्प व्यवसायीले ९ लाख ४३ हजार १ सय १० रुपैयाँ, भैरहवा पम्प व्यवसायीले १२ लाख १ हजार ५ सय २७ रुपैयाँ, महेन्द्रनगर पम्प व्यवसायीले २ करोड ७१ लाख ३४ हजार ९५ रुपैयाँ, नेपालगन्ज डिपो मार्फत इन्धन किन्ने पम्प व्यवसायीले ३ करोड ८९ लाख ९२ हजार ९ सय ६२ रुपैयाँ, दाङ डिपोबाट इन्धन किन्ने व्यवसायीहरूले १ करोड २४ लाख ५५ हजार ५ सय ६१ रुपैयाँ, चरिलाल डिपोका इन्धन किन्ने व्यवसायीहरूले २ करोड ९६ लाख २८ हजार कमिसनबाहेक नाफा गरेका छन्।
दिपायलबाट भने १८ लाख ३३ हजार ९ सय २८ रुपैयाँ फाइदा भएको देखिन्छ। यो देशैभरका १४ वटा डिपो तथा पम्पबाट देश भरीका व्यवसायीलाई ५५ करोड ९९ लाख ७ हजार ९५ रुपैयाँ फाइदा भएको देखिएको छ।
यो फाइदा भनेको पम्प व्यवसायीले पाउने गरेको निश्चित प्रतिशत कमिसन बाहेकको हो। यदि मूल्य घटबढ हुँदा नयाँ मूल्य अनुसारै निगमको डिपोबाट तेल पम्पसम्म पुगेको भए यो बिचमा ती रकम निगमकै खातामा आउँथ्यो।
असार २९, २०७९ बुधबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।