'मृत्यु मार्ग' भनेर चिनिने सिद्धबाबामा असोजबाट सुरुङ मार्ग निर्माण

'मृत्यु मार्ग' भनेर चिनिने सिद्धबाबामा असोजबाट सुरुङ मार्ग निर्माण

बुटवल : पहिरो खसेर सवारी दुर्घटना तथा धनजनको अत्यधिक क्षति भएका कारण ‘मृत्यु मार्ग’ भनेर चिनिने सिद्धबाबा क्षेत्रमा आगामी असोजदेखि सुरुङ मार्ग निर्माणको काम सुरु हुने भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल(तानसेन सडक खण्डको सिद्धबाबामा असोजबाट सुरुङ निर्माणको काम सुरु गर्ने तयारी सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले गरेको छ।

सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठले गत फागुनमा निर्माण कम्पनीसँग सम्झौता भएको र अहिले सुरुङ मार्गको डिजाइन निर्माण कम्पनीले गरेको बताए। निर्माण कम्पनीले गरेको डिजाइन सडक विभागले स्वीकृत गरेपछि आगामी दशैंताकाबाट सुरुङ मार्ग निर्माणको काम सुरु गर्ने उनले बताए।

तिनाउ गाउँपालिका वडा नं। २, सिद्धबाबा मन्दिरदेखि हेडबक्ससम्म ११ सय मिटर निर्माण हुने सुरुङ मार्गमा ३ वटा आकस्मिक स्केप सुरुङ मार्ग निर्माण हुने छन्। बीचमा केही घटना भइहाले त्यही स्केप सुरुङ मार्गको माध्यमबाट बाहिर निस्कन सकिने छ। सुरुङ मार्गको दुवैतर्फ एप्रोज सडक समेत बन्नेछ।

त्यसबाहेक माथिबाट झर्ने ढुंगा सिधै खोलामा जाने गरी ७ सय ५० मिटर क्षेत्रमा रकसेड बनाइने उनले बताए। सुरुमा सुरुङ मार्ग निर्माण हुने र निर्माण भइसकेपछि बाहिरको रकसेड पछि मात्र निर्माण गरिने उनले जानकारी दिए। यसो हुँदा सवारी आवत(जावतमा कम असर पर्ने उनको भनाइ छ।

सुरुङ मार्ग निर्माणपछि कम्पनीले ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नुपर्ने छ। यसरी १० वर्ष उक्त परियोजना कम्पनीको प्रत्यक्ष निगरानीमा रहने छ। 

२०७२ सालदेखि नै चर्चा हुन थालेको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि २०७८ जेठ ९ मा ग्लोबल टेन्डर आह्वान भएको थियो। त्यसमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी छानिएको थियो। ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गर्ने चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको छ।

विष्णु पौडेल अर्थमन्त्री हुँदा २०७३र०७४ को बजेटमार्फत विस्तृत परियोजना प्रतिवेदन तयार गर्न बजेट छुट्याइएको थियो। पछि सुरुङ मार्ग निर्माणका लागि तत्कालीन अर्थमन्त्री पौडेलले द्द०७७ मंसिरमै १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए।

लामो समयसम्म चर्चामा रहेको सिद्धबाबामा सुरुङ मार्ग बन्ने प्रक्रिया अघि बढेसँगै पाल्पासहित पहाडी जिल्लाहरु गुल्मी, स्याङजाका जनतालाई बुटवल आउन जोखिमको यात्रा गर्नुपर्ने छैन।

मृत्यु मार्ग क्षेत्रको रुपमा चिनिएको सिद्धबाबामा हिउँद वा वर्षा जुनसुकै बेला पनि पहिरो जाने गर्छ। कमजोर चट्टानका कारण धुले पहिरो जाँदा यस क्षेत्रमा वर्षेनी कयौंले ज्यान गुमाइरहेका छन्।

यसअघि पहिरो नियन्त्रणका लागि केही प्रयासहरु समेत भएका थिए। सिद्धबाबा क्षेत्रमा जाली लगाएर ढुंगा रोक्ने काम गरिए पनि प्रभावकारी भने भएको थिएन।

त्यस क्षेत्रमा सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन गर्ने काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन ९एसडिसी० ले गरेको थियो। नेपाल सरकारको अनुरोधमा स्विस अध्ययन टोलीले अघिल्लो वर्ष सुरुङको प्रारम्भिक रेखांकन गरी सडक विभागलाई बुझाएको थियो। उक्त कम्पनीले सो क्षेत्रमा स्यानस्टोन र मोडस्टोन खालको चट्टान भेटिएको बताएको थियो।

११ सय मिटरमा सुरुङ मार्ग बन्ने भए पनि तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबासम्मको जोखिमको यात्रा गर्नुको भने विकल्प छैन। सुरुङ मार्ग निर्माणको डिजाइन माथिल्लो सिद्धबाबादेखि हेडबक्ससम्मको भएकाले तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबाको १ किलोमिटर बाटा जोखिम मोलेरै यात्रा गर्नुपर्ने छ।

लामो समय रुपन्देहीको चिडियाखोलामा पर्ने तल्लो सिद्धबाबामा लेदो सहितको पहिरो जाँदा धेरैले ज्यान गुमाएका थिए। यद्यपि, अहिले त्यस क्षेत्रमा पहिरो जान रोकिएको छ। तर पाल्पाको सिमाना प्रवेश गर्नासाथ ठूलो चट्टान सहितको पहिरो खस्ने डर अहिले पनि कायमै छ।

२८ असार, २०७९, १२:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।