बागलुङमा डेङ्गुका दुई जना बिरामी फेला
बागलुङः गर्मी बढेसँगै जिल्लामा डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। हालसम्म बागलुङमा दुई जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ।
धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए।
सङ्क्रमित बागलुङ नगरपालिका–७ का र ९ रहेका छन्। ती बिरामीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ।
उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेङ्गु हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ। वर्षाका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुने गरेकाले पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।
असार २८, २०७९ मंगलबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।