काठमाडौँका यी १५ ठाउँमा भेटिइसके हैजाका बिरामी, पानी खाँदा होस् गरौँ

काठमाडौँका यी १५ ठाउँमा भेटिइसके हैजाका बिरामी, पानी खाँदा होस् गरौँ

काठमाडौँ : काठमाडौँ उपत्यकाकाको १५ स्थानमा हैजाका बिरामी फेला परेका छन्। सोमबारसम्म हैजा सङ्क्रमित बिरामीको सङ्ख्या १९ पुगेको छ। यस अगाडि काठमाडौँको १४ ठाउँबाट १७ जना हैजाका बिरामी फेला परेका थिए।

सोमबार काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ वर्षका बालकलाई हैजा भएको पुष्टि भएपछि बिरामीको सङ्ख्या १८ पुग्यो भने बिरामी फेला परेको सङ्ख्या १५।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म कागेश्वरी मनोहरा, बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कलंकी (खसी बजार), कीर्तिपुर, टेकु र ग्वार्कोमा हैजाका सङ्क्रमित फेला परेका छन्।

हैजाका बिरामीहरू बढिरहेकाले काठमाडौँको पानीको स्रोतमै जीवाणु रहेको आशङ्का बढेको छ। बढी इनारको पानी, ट्याङ्करबाट वितरण गरिने पानी शंकामा परेको छ। काठमाडौँमा लामो समयसम्म फोहोर उठ्न नसक्दा समेत हैजा फैलाउने जीवाणु पानीमा मिसिन पुगेको चिकित्सकहरूले शङ्का गरेका छन्।

चिकित्सकहरूले पिउने पानीमा खेलाँची नगरी अनिवार्य उमालेको पानी मात्र पिउन आग्रह गरिरहेका छन्।

असार २०, २०७९ सोमबार १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।