काठमाडौं महानगरले असारभित्रै सार्वजनिक शौचालयलाई चिह्न प्रदान गर्ने
काठमाडौंः काठमाडौं महानगरपालिकाले होटल, रेष्टुराँ तथा निजी संस्थासँग सम्झौता भएका सार्वजनिक शौचालयलाई असार महिनाभित्रै चिह्न प्रदान गर्ने भएको छ। सार्वजनिक शौचालय सञ्चालनका लागि महानगरले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ।
सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले बताए।
चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ।
बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ। सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ। चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने महानगरले जानकारी दिएको छ।
सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन् जसमा १०० मा चिन्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ। निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघि नै महानगरमा रहेका ५८ गरी अब काठमाडौंमा २५० शौचालय सार्वजनिकरूपमा प्रयोगमा ल्याउन लागिएको पनि छ।
यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ। यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक/एक जना प्रतिनिधि तोकिएको छ र उनीहरूले हरेक चार महिनामा प्रतिवेदन दिनेछन्।
असार १७, २०७९ शुक्रबार ०७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।