विदेशी चिकित्सकले पनि नेपालमा काम गर्न पाउने नियमावलीको विपक्षमा सरकारी चिकित्सक सङ्घ
काठमाडौँ : विदेशी चिकित्सकलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिने गरी सोझै दर्ता परीक्षामा सहभागी गराउने गरी नेपाल मेडिकल काउन्सिलले निर्णय गरेपछि सरकारी चिकित्सक सङ्घले विरोध गरेको छ।
काउन्सिलले नियमावली संशोधन गरेर नेपालमा अध्ययन गर्ने जुनसुकै देशका नागरिकले पनि काउन्सिलमा परीक्षा दिन पाउने नयाँ व्यवस्था गरेको छ। यसले गैर नेपाली नागरिकले समेत काउन्सिलमा परीक्षा दिएर पास भएमा नेपालमा चिकित्सक अभ्यास गर्न कानुनी रूपमा अनुमति पाउने छन्। सङ्घले यसैको विरोध गरेको हो।
‘नेपाल मेडिकल काउन्सिल नियमावली (पाँचौँ संशोधन २०७८) मार्फत मूल नियमावलीको नियम २० (ङ) र (च) मा हेरफेर गरी विदेशी चिकित्सकलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिने गरी सोझै चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने गरी भएको निर्णयप्रति यस सङ्घको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ।
नेपाली चिकित्सकहरूलाई प्रत्यक्ष गम्भीर असर पर्ने र नेपाली नागरिकको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भन्दै सङ्घले विदेशी चिकित्सकको दायरा, भूमिका र जबाफदेहितामा नै प्रश्न उठ्ने यस्ता गैह्र जिम्मेवार निर्णय तत्काल बदर गर्न सरकारसमक्ष माग समेत गरेको छ।
काउन्सिलले नियमावलीमा संशोधन गर्दै ‘नेपालमा चिकित्सा शास्त्रका मेडिकल वा डेन्टल विषयमा स्नातक तह उत्तीर्ण गरेका विदेशी विद्यार्थीले समेत ...दर्ता प्रमाणपत्र परीक्षामा भाग लिन पाउने व्यवस्था गरेको छ।
फागुन २६ गते संशोधन भएको नियमावलीको नियम (९) मा भनिएको छ,‘नेपालमा चिकित्सा शास्त्रका मेडिकल वा डेण्टल विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका विदेशी विद्यार्थीले समेत उपनियम (१) बमोजिम विशेष परीक्षामा भाग लिन पाउनेछन्। सरकारी चिकित्सक यसबारे बोले पनि नेपाल चिकित्सक सङ्घ भने अहिलेसम्म मौन छ।
असार १४, २०७९ मंगलबार २१:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।