बैठक चल्दै गर्दा जब कार्यपालिका सदस्यले निर्णयपुस्तिका लिएर कुलेलम ठोकिन्...

बैठक चल्दै गर्दा जब कार्यपालिका सदस्यले निर्णयपुस्तिका लिएर कुलेलम ठोकिन्...

पोखराः पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको बेला निर्णयपुस्तिका लिएर एक कार्यपालिका सदस्य भागेकी छिन्। गाउँ कार्यपालिकाको तेस्रो बैठकमा भएका निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवाल निर्णयपुस्तिका खोसेर भागेकी हुन्।

बरुवालले निर्णयपुस्तिका लिएर भागेपछि गाउँपालिकाको कार्यपालिका बैठक नै स्थगित गरिएको छ।

गाउँपालिकामा सत्ता गठबन्धनले अध्यक्ष, उपाध्यक्षसहित ६ जना मात्र सदस्य जितेको छ भने एमालेसँग ११ जना कार्यपालिका सदस्यसहित बहुमत छ। त्यसैले गठबन्धनबाट निर्वाचित प्रतिनिधिलाई असफल बनाउन यहाँ एमालेका प्रतिनिधिले पटक-पटक अवरोध गर्दै आएका छन्।

पालिका अध्यक्ष राजुप्रसाद आचार्यले बैठकमा प्रस्तुत गर्ने अजेण्डाका बारेमा दुई पटक औपचारिक र अन्य अनौपचारिक बैठक डाकेर समेत छलफल गरेका थिए। तर, छलफलका क्रममा अजेण्डामा सहमति जुट्न नसकेपछि अध्यक्ष आचार्यले कानुनअनुसार कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ ९२० अनुसार चार वटा विषयगत समिति गठन गरिएको निर्णय सुनाएका थिए।

आचार्यले बहुमतलाई लत्याएर आफूखुशी कानूनको आडमा निर्णय गरेको भन्दै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले 'नोट अफ डिसेन्ट' लेख्ने जनाएका थिए। अध्यक्षले गरेको निर्णयविरुद्ध नोट अफ डिसेन्ट लेख्ने भन्दै निर्णयपुस्तिका मागेर बरुवाल कुलेलम ठोकेकी हुन्।

जलजला गाउँपालिकाको कानूनमा विषयगत समिति गठन गर्दा सकभर सर्वसहमतिमा निर्णय गर्ने यदि कुनै कारण सहमति नभएमा अध्यक्षले विषयगत समिति गठन गर्नसक्ने व्यवस्था छ।

अध्यक्ष आचार्यले यही कानूनलाई आधार मानेर आर्थिक समितिमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपद्मा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई सञ्योजक तोकेका थिए।

समिति बनाउन सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि कानूनअनुसार चार वटा समितिको सञ्योजक तोकिएको अध्यक्ष आचार्यले बताए।

उनले सहमतिमा ६ वटा विषयगत समितिमध्ये गठबन्धनलाई तीन वटा र एमालेलाई तीन वटा रोज्न आग्रह गर्दा समेत नमानेर काम गर्न नदिने नियत देखाएपछि चार वटा समितिको सञ्योजक तोकेको बताए।

गाउँपालिकाको निर्णयपुस्तिका खोसिएपछि पालिकाले कार्यपालिका सदस्य बरुवालकाविरुद्ध प्रहरी प्रशासनमा निवेदन दिएको छ।

कार्यपालिका सदस्य बरुवालले बहुमत सदस्यको भनाइलाई बेवास्ता गर्दै अगाडि बढेपछि आफू बैठक छाडेर हिँडेको र निर्णयपुस्तिकाका बारेमा जानकारी नभएको बताएकी छन्।

कार्यपालिका सदस्यले माइन्युट लिएर भागेपछि पालिकाले विज्ञप्ति जारी गर्दै एमालेसँग सहमतिको प्रयास गर्दा त्यसलाई पुरै बेवास्ता गर्दै बहुमतको आडमा अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएको छ।

६ असार, २०७९, १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।