१७ परिवारको आँसु नदेख्ने सरकार

१७ परिवारको आँसु नदेख्ने सरकार

मेलम्ची : २०७८ असार १ मा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची अनि हेलम्बु क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति गर्यो। बाढीमा परेर ज्यान गुमाएका पाँच जनाको शव भेटियो। तर अझैँ १७ जना ज्युदो छन् या छैनन् परिवार अन्योलमा छन्।

सिन्धुपाल्चोक जिल्लाको भ्रेमाथाङबाट आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बुदेखि मेलम्ची नगरपालिकाको बाहुनेपाटी हुँदै सिपाघाटसम्म ठुलो क्षति पुर्याएको थियो। अर्बौँको भौतिक संरचना अनि खेतीयोग्य जमिन बगर बनायो बाढीले।

एक वर्ष भयो यो विपद् आएको। बालुवा र गेग्रानले पुरिएको मेलम्ची बजार पुरानै स्वरूपमा फर्कन सङ्घर्षमा छ। तर सङ्कट उस्तै छ। न प्रदेश सरकार न केन्द्र कसैले हेरेनन्  मेलम्चीलाई। पुन निर्माण अनि पुनर्स्थापनाको काम उस्तै छ।

सरकार सुरुदेखि नै मेलम्ची र हेलम्बुवासीको पीडामा कसरी मलहम लगाउने भन्दा पनि मेलम्चीको पानी काठमाडौँ पुर्याउने भन्नेमै केन्द्रित भयो। जसको घर बग्यो,बगिहाल्यो। जसको ज्यान बग्यो,बगिहाल्यो। जसको खेत बगर बन्यो त्यो बगरै छ। जसले माटो पन्छाएर बासको जोहो गर्न सके त्यही गरे। बर्खा आयो। बर्खासँगै त्रास पनि आयो। त्यो त्रास पन्छाउन भने सकेका छैनन् मेलम्चीवासीले।

मेलम्ची खानेपानी आयोजना थिएन भने हेलम्बु गाउँपालिकाको चनौटेमा हालसम्म पनि पुल बन्ने थिएन। हेलम्बुका सागर लामिछाने भन्छन् 'मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ पुर्याउन मर्मतको लागि सामान लैजान बाध्य भएर पुल बनाइयो।'

नत्र अहिले पनि हेलम्बुको तिम्बु र चनौटे क्षेत्र सडक सञ्जालबाट टाढै हुने उनको तर्क छ।

'मेलम्ची नगरपालिका हुँदै पाँच पोखरी थाङ्पाल, इन्द्रावती गाउँपालिका र सदरमुकाम चौतारा जोड्ने पुल आजसम्म किन निर्माण गर्न नसकेको सरकारले?' लामिछानेको प्रश्न थियो।

बाढीपछि सरकारी बजेट नपाएकोले मेलम्चीवासी आफैले स्थानीय र विभिन्न सहयोगीहरू मार्फत मेलम्चीमा पुरिएका घर र सडक खोतलेर बस्न लायक बनाउने प्रयास गरे। सरोकार समिति नै गठन गरेर मेलम्चीवासीले स्थानीय सरकार र केन्द्रीय सरकारीप्रति आशा मरेको भन्दै आफ्नो घर आफैँ जोगाउ भन्ने अभियानमा लागे।

https://www.ukeraa.com/ckfinder/userfiles/files/Melamchi%2013.JPG

बाढीले घरमा पुरेको बालुका निकाले, ढुङ्गा, मुढाहरू पन्छाए। र केही महिनापछि पुरानै अवस्थामा बस्न थाले। तर, बाढीको डरले भने राम्रोसँग अझै पनि रात कटाउन सकेका छैनन्। बाढीले सबै गुमेपछि मेलम्चीका केही स्थानीयले थातथलो नै छोडेर हिँडेँ।

नदी तटीय क्षेत्रका स्थानीयहरू हालसम्म पनि त्रासमै छन्। मौसमविद्ले यो वर्ष अझै धेरै वर्षा हुने भन्दै दिएको अभिव्यक्तिले मेलम्चीवासी त्रासमा छन्।

स्थानीय सरकारले अहिले बाढी बजार क्षेत्रमा नपसोस् भनेर नदीलाई पुरानै अवस्थामा लैजान नदीमा एक्स्काभेटर लगाई रहेको छ। मेलम्चीबजारलाई प्राकृतिक विपत्ति तथा अकल्पित क्षतिबाट थोरै भए पनि जोगाउन स्थानीय सरकार खटिएको देखिन्छ। तर, नागरिकको स्थायी पुनर्वासको तथा पुल लगायतका भौतिक निर्माणमा नगरपालिका नेतृत्व निष्क्रिय देखियो।

बाढीले मेलम्ची नगरपालिकाको मेलम्ची हुँदै सदरमुकाम चौतारा, पाँच पोखरी र इन्द्रावती जाने पक्की पुल बगायो। बर्खा सकिएपछि सडक ह्युम पाइप राखेर सडक सञ्जाल जोडिएको भए पनि वर्षासँगै आएको बाढीको कारण अहिले सो ह्युम पाइप झिकिएको छ।

सडक सञ्जाल टुटेपछि अहिले मेलम्ची नगरपालिका– ९, १० वडा र पाँच पोखरी र इन्द्रावती गाउँपालिकाका स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। वैकल्पिक रूपमा रहेको बाहुनेपाटी, सञ्जेलटार बगुवाको बाटो पनि पूर्ण रूपमा मर्मत हुन सकेको छैन।

बाढीमा अझै बेपत्ता

बाढी आएपछि बेपत्ता भएका दुई भारतीय नागरिक, एक चिनियाँ नागरिकसहित १७ जना अझैँ फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक डिएसपी दक्ष कुमार बस्नेतले १७ जना बेपत्तै रहेको बताए।

बस्नेतका अनुसार बाढीले बगाएर विभिन्न जिल्लामा पुर्याएका दुई जना चिनियाँ नागरिक एक जना भारतीय र दुई जना नेपाली नागरिक गरी पाँच जनाको शव भेटिएको थियो। बाँकीको अझै अत्तोपत्तो छैन।

बाढीबाट कति क्षति भयो ?

मेलम्ची र हेलम्बु गाउँपालिकाको तथ्याङ्क अनुसार बाढीले मेलम्ची नगरपालिका भित्र २४२ र हेलम्बु गाउँपालिकाको ३०८ घर पूर्ण रूपमा क्षति पुर्याएको थियो।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको कार्यालय मेलम्चीमा रहेको ब्लकको १८ वटा भवन, दुई वटा ट्रस्ट, टोयटाको हाइलक्स गाडी सहित विभिन्न मेसिनरी सामाग्रीहरू बाढीले पूर्णरुपमा क्षति पुर्याएको थियो।

बाढीले ठुलो मात्रामा गेग्रान थुपारेर मेलम्ची खानेपानी आयोजनाको अम्बाथानको प्रमुख द्वार नै पुरेको थियो। खानेपानी मन्त्रालयले काठमाडौँ खानेपानी ल्याउनका लागि ती गेग्रान हटाउनका लागि करिब रु ८० करोड खर्च गरेको छ। स्थानीय बासिन्दा सुरूङ्गको प्रवेशद्वारमा ८० करोडको लागतमा गेग्रान हटाइएको कुरो सुनेर चकित छन्।

त्यस्तै बाढीले मेलम्चीको दुई वटा झोलुङ्गे पुल र दुई वटा पक्की पुल बगायो। मेलम्ची नगरपालिका ६ स्थित तालामाराङमा रहेको तेर्से माविको एक वटा भवनमा क्षति पुर्यायो।

मेलम्ची– ११ मा रहेको बङ्गुर फर्म, माछा फर्म, भैँसी फर्म दुई वटा गोठ र मेलम्ची ६ मा विभिन्न व्यक्तिका गरी २८ वटा गोठ कटेरा बगाएको थियो।  विभिन्न व्यापार व्यवसाय गरेर बसेका स्थानीयको धेरै व्यवसाय बाढीले तहसनहस बनायो।

त्यस्तै हेलम्बु गाउँपालिकामा रहेका ७ वटा झोलुङ्गे पुल मध्ये एक वटा बगायो  भने बाँकी छ वटामा क्षति पुर्याएको थियो। छ वटा पक्की पुल बाढीले तहसनहस बनायो। आठ वटा माछा फर्म र इप्रका हेलम्बु लगायत धेरै घरहरू बाढीले बगायो।

मेलम्चीमा मात्रै व्यक्तिगत १८ सय ८२ रोपनी र सार्वजनिक १२ सय रोपनी गरी तीन हजार ८२ रोपनी जग्गा बाढीले पूर्ण रूपमा क्षति पुराएको थियो। त्यस्तै हेलम्बुमा पनि २१ सय रोपनी खेतीयोग्य जमिन बाढीले पूर्ण रूपमा ध्वस्त पारेको थियो।

राहत र खर्च ?

बाढी पछि मेलम्ची र हेलम्बु गाउँपालिकाको स्थानीयलाई राहत स्वरूप विभिन्न पालिका, विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले आर्थिक सहयोग गरे। हेलम्बु र मेलम्ची नगरपालिकाको बैङ्क खातामा ती सहयोगी संस्थाहरूले पीडितलाई खाद्यान्न तथा पुनर्वासको लागि भन्दै राहत रकम जम्मा गरिदिए।

राहत स्वरूप हेलम्बु गाउँपालिकाले गत पुस महिनासम्ममा चार करोड ४४ लाख ४१ हजार ९४९ रुपैयाँ  पाएको छ। गाउँपालिकाका अनुसार उक्त रकम राहत वितरण तथा सडक मर्मतको लागि खर्च भयो। सडक निर्माणको लागि चाहिने सामाग्री ढुवानी, हल तथा भवनको प्रयोग लगायतको खर्च देखाएर ३८ लाख २३ हजार रुपैयाँ मौज्दात रहेको गाउँपालिकाले जानकारी दिएको छ।

त्यस्तै मेलम्ची नगरपालिकाको राहत कोषमा छ करोड ९४ लाख १५ हजार ६९५ रुपैयाँ जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ। जसमध्ये एक सय पीडित घरधुरीलाई १० हजारको दरले राहत वितरण गरेको साथै नदी नियन्त्रणको लागि भएको खर्च तथा विभिन्न खर्च गरी छ करोड ३८ लाख १८ हजार ७५७ रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ।

हाल नगरपालिकाले पाँच वटा उपभोक्ता समिति गठन गरेर मेलम्ची बजार क्षेत्रको पाँच ठाउँमा नदी नियन्त्रणका काम भइरहेको जानकारी दिएको हो। प्रति उपभोक्ता समिति ५० लाखको दरले नदी तथा तटीय क्षेत्रको सुरक्षाको लागि उपभोक्ता समिति मार्फत काम भइरहेको नगरपालिकाले जनाएको छ।

पीडितले के पाए ?

मेलम्ची नगरपालिकाले नगरभित्रका वडा नं ६, ७, १०, ११, १२ का पीडित परिवारलाई प्रति परिवार १० हजारको दरले राहत स्वरूपको रकम उपलब्ध गराएको थियो। त्यस्तै हेलम्बु गाउँपालिकाले खाद्यान्नको लागि भन्दै प्रति पीडित परिवार एक बोरा चामल र एउटा त्रिपाल बाढेको थियो।

पीडित परिवारको स्थायी वासस्थानको लागि हेलम्बु गाउँपालिकाको १० प्रतिशत  प्रदेश तथा सङ्घीय सरकारबाट ९० प्रतिशतको अनुदानमा निर्माण गर्ने तयारी छ।

* आइएनएसमा प्रकाशित समाचार सम्पादनसहित शीर्षक प्रतिवर्तन गरेर प्रकाशित गरिएको हो

२ असार, २०७९, २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।