सरकारी निकाय सुते पनि यौन कुण्ठित 'गुरु' विरुद्ध जाग्दैछन् छात्रा, ८१ शिक्षक पुगिसके हिरासतमा
काठमाडौँ : शिक्षकले छात्रामाथि हुने यौन हिंसाको घटना सार्वजनिक हुने क्रम बढेको छ अहिले। गुरु विरुद्ध जानुहुन्न भन्ने मानसिकता बदलिँदै छ। यौन व्यभिचारी शिक्षकविरुद्ध विद्यालयमै आन्दोलन हुन थालेका छन्।
बलात्कार अनि यौन दुर्व्यवहार आरोपमा शिक्षकहरू भकाभक पक्राउ परेका छन्। तर सम्बन्धित निकाय भने अझै मौन छन्। जति घटना सार्वजनिक भए विद्यार्थीको हिम्मतले बाहिर आए। प्रधानाध्यापक अनि व्यवस्थापन समिति लुकाउनै सक्रिय देखिए।
एकपछि अर्को शिक्षक पक्राउ परे पनि सम्बन्धित निकायका अधिकारीहरूले भने यसबारे अनुगमको कल्पनै नगरौँ सामान्य छलफल समेत गरेका छैनन्।
जाग्दैछन् छात्रा
चाबहिलको सेन्ट लरेन्स कलेजका कक्षा ११ र १२ का छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै कलेजमै आन्दोलन भयो जेठ १७ गते। २ महिना अघि देखिको घटनालाई कलेज प्रशासनले लुकाउन खोजेपछि आक्रोशित बनेका विद्यार्थीले प्रहरी वृत्त गौशालामा कलेज ड्रेसमै नाराबाजी गर्न गए।
कलेजका २ शिक्षक विरुद्ध तीन जना विद्यार्थीले प्रहरीमा जाहेरी दर्ता गराएपछि बाल यौन दुराचारको आरोपमा शिक्षक जनार्दन अधिकारी र राजनकुमार पौडेल अहिले हिरासतमा छन्। उनीहरूमाथि बोलेर र छोएर यौन दुराचार गरेको आरोप छ।
त्यस्तै अर्को घटना २०७८ चैत ४ गते मोरङमा सार्वजनिक भयो। लेटाङमा शिक्षा विकास माध्यमिक विद्यालयकी एक छात्रालाई घरमै गएर एक शिक्षकले बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भयो।
छात्राले त्यति बेला बयानमा भनेकी थिइन् ‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्ने र बलात्कारको प्रयास गरे।'
प्रहरी विद्यालय पुगेपछि घटना सामसुम पार्न खोजिएको आरोपमा प्रहरीमाथि नै आक्रमण भयो। एक महिला प्रहरीको ज्यानै गयो।
तेस्रो घटना मकवानपुरको बागमती गाउँपालिका–८ फापरबारीस्थित जनता माविको आयो। शिक्षकले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै गत चैत्र ७ गते विद्यालयमा विद्यार्थीहरूले तोडफोड र तालाबन्दी गरेका थिए।
विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरूले विद्यालयका तीन जना शिक्षकहरुले यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै तोडफोड र तालाबन्दी गरेका थिए।
विद्यालयका तीन शिक्षकहरुले गलत नियतले छात्राहरूमाथि दुर्व्यवहार गरेको भन्दै फागुन ११ गते अभिभावकले र फागुन २० गते विद्यार्थीहरूले विद्यालय प्रशासनमा मौखिक उजुरी गरेका थिए। चैत ७ गते विद्यार्थी तथा अभिभावकले संयुक्त रूपमा चैत ७ गते लिखित तथा मौखिक उजुरी दिए पनि विद्यालयले उनीहरूलाई निलम्बन त गर्यो तर कारबाहीकै माग राख्दै विद्यार्थी र अभिभावकले आन्दोलन गरे।
चौथो घटना, छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गर्यो गत चैत २५ गते। भरतपुर महानगरपालिका–१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकहरू ५८ वर्षीय फणीन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा पक्राउ परे।
भट्टराईविरुद्ध विद्यालयमा कक्षा ४ मा पढ्ने छात्रा र देवकोटाविरुद्ध कक्षा ६ मा पढ्ने छात्राका अभिभावकले जाहेरी दिएका थिए। भट्टराई र देवकोटाले पढाउने क्रममा नै कक्षा कोठामै यौन दुर्व्यवहार गर्ने छात्राहरूको आरोप छ। उनले १७ जना छात्रालाई यौन हिंसा गरेको आरोप लागेको थियो।
पाँचौँ घटना, पनि चितवनकै। चितवनको माडीमा एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पक्राउ परे फागुन २९ मा।
सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको थियो। फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए।
विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो। पछि प्रहरीमा जाहेरी परेपछि शिक्षक पक्राउ परेका थिए।
सात वर्ष अघि शिक्षकले निरन्तर बलात्कार गरेको सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इङ्लिस स्कुलको तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पक्राउ परे।
धरान उपमहानगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका (१३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप छ
उनले उपचारका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई बलात्कार गरेका थिए। पछि स्कुलबाट रेस्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको खड्कामाथि आरोप छ। तत्काल उजुरी परे पनि उनी फरार थिए।
यी त केही प्रतिनिधि घटना मात्रै हो। विद्यार्थीहरू हिंसामा पर्छन् उजुरी पर्दैन परे पनि न्यून सङ्ख्यामा पर्छ। नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी पछिल्लो समय जाहेरीको सङ्ख्या बढेको बताउँछन्।
‘१६ वर्ष मुनीका बालबालिकाहरू आफन्त नजिकका त्यत्तिबाट यौन दुर्व्यवहार तथा बलात्कारमा पर्ने गर्छन्,’ उनले भने, ‘पछिल्लो समय शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ पर्ने गरेका छन्।’
विद्यालयको कु नियत
अधिकांश घटनामा विद्यार्थी र अभिभावकहरुले पहिला विद्यालयमा उजुरी गरेको देखिन्छ। विद्यालयको बेइज्जत हुन्छ भन्दै लुकाउन खोज्ने, पीडितलाई फकाउने गरेको देखिन्छ। सेन्ट लरेन्सदेखि सोमेश्वरसम्म यस्तै देखियो।
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पीडकलाई जोगाउने वा घटना सामसुम बनाउन लागेपछि विद्यार्थी आन्दोलित भएपछि मात्र घटना बाहिर आउने गरेका छन्।
विद्यालयका प्रधानाध्यापक वा अन्य कसैले घटना लगत्तै प्रहरीलाई खबर गरेका घटना दुर्लभ छन्। विद्यार्थी र अभिभावकको प्रतिरोध पछि मात्र विद्यालयकाहरु साख जोगाउन लाउके बन्छन्।
सेन्ट लरेन्समा त्यही भएको थियो। विद्यार्थीले गुनासो गरेपछि विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले फि निःशुल्क हुने प्रलोभन देखाउँदै पीडितलाई फकाउन खोजे। पीडकमाथि कारबाही नहुने देखेपछि छात्राले साथीहरूलाई भनेपछि आन्दोलन भयो र दुई शिक्षक पक्राउ परे। दुवै पक्राउपछि मात्र विद्यालयले पीडितलाई साथ दिएको नाटक गर्दै विज्ञप्ति निकालेको थियो।
डरलाग्दो तथ्याङ्क
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४ देखि ०७८ सम्ममा ८१ जना शिक्षक विरुद्ध मुद्दा परेको छ। आर्थिक वर्ष ०७४-०७५ मा ५ जना शिक्षक विरुद्ध मुद्दा दर्ता भएको थियो। त्यस्तै ०७५-०७६ मा ११ जना ०७६-०७७ मा ४५ जना ०७७-०७८ मा १५ जना र चालु आवको चैत सम्ममा ५ जना गरेर ८१ जना शिक्षकविरुद्ध बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको काम हो विद्यालय शिक्षाको नीति तथा योजना बनाउने। विद्यालयमा निरन्तर यौन हिंसाका घटना बाहिरिनु विद्यार्थीहरू विद्यालय पोसाकमा नै आन्दोलन गर्दा समेत केन्द्रका पदाधिकारी केही नभएझैँ चुपचाप छन्।
केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता डिल्लीराम लुइँटेलले विद्यालय स्थानीय तहको निगरानीमा भएकाले स्थानीय तहले हेर्नुपर्ने भन्दै नीति तथा योजना केही पनि नबनाएको बताए।
‘विद्यालय तह स्थानीय तह अन्तर्गतको हो। के-के भएको हो स्थानीयले हेर्ने हो हामीले होइन,’उनले भने, ‘यदि शिक्षक दोषी हो भने अदालतले फैसला गरेपछि शिक्षकबाट हटाउने बाहेक त हामीले के नै सकिन्छ र?’
विकास केन्द्रले विद्यालयमा यौन हिंसा अन्त्य गर्न के के गर्न सकिन्छ योजना बनाउन सक्थ्यो। विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न, विद्यालयलाई सुधार गर्न योजना बनाउने दायित्व पनि हो तर यौन हिंसाप्रति केन्द्रको पुरै वेवास्ता पाइयो।
विद्यार्थीहरू निरन्तर आन्दोलित हुँदा पनि उनीहरू मौनै छन्। लुइँटेलले तत्काल यो विषयमा कुनै छलफल नै नभएको बताए। ‘हामीले यो विषयमा छलफल नै गरेका छैनौँ' उनले भने।
जेठ १८, २०७९ बुधबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।