लुम्बिनी प्रदेशमा पहिलो दल बन्यो कांग्रेस

लुम्बिनी प्रदेशमा पहिलो दल बन्यो कांग्रेस

बुटवल : लुम्बिनी प्रदेशका १ सय ९ पालिकाकै नतिजा सार्वजनिक भएको छ। गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना सकिएसँगै प्रदेशका सबैै स्थानिय तहको नतिजा सार्वजनिक भएको हो।

यो प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ३३ स्थानमा जित हासिल गरेकोमा अहिले ४९ पालिकामा विजयी भएको छ। 

कांग्रेसले गल्मीका पाँच, पाल्पाका तीन, अर्घाखाँचीका दुई, रुपन्देहीका एघार, कपिलवस्तुका चार, प्युठानका तीन, रोल्पाका दुई, दाङका पाँच, बर्दियाका पाँच, बाँकेका छ र नवलपरासी (पश्चिम) का तीन पालिका सहित ४८ पालिकामा नेतृत्व लिन सफल भएको छ।

२०७४ को निर्वाचनमा कांग्रेसले गुल्मीका चार, पाल्पामा चार, अर्घाखाँचीमा चार, रुपन्देहीमा दुई, कपिलवस्तुमा पाँच, प्युठानमा तीन, रोल्पामा एक, दाङमा तीन, बर्दियामा दुई, बाँकेमा दुई र नवलपरासी (पश्चिम)मा तीन पालिका जितेको थियो। 

२०७४ को निर्वाचनमा एमालेले ४३ स्थानमा जितेकोमा अहिले भने जम्मा २७ स्थानमा विजयी भएको छ। एमाले गुल्मीका तीन, पाल्पाका ६, अर्घाखाँचीका तीन, रुपन्देहीका तीन, कपिलवस्तुका तीन, प्युठानका दुई, दाङमा दुई, नवलपरासी पश्चिममा तीन, रोल्पा, र बर्दियामा समान एक÷एक पालिकामा विजयी भएको छ।

एमालेले दाङमा पाँच, गुल्मी र रुपन्देहीमा समान चार÷चार, बर्दियामा दुई, पाल्पा/कपिलवस्तु/प्युठानमा समान एक÷एक पालिका गुमाएको छ। पहिला चार पालिका जितेको बाँकेमा अहिले एक सिट पनि जित हासिल गर्न सकेन। यद्यपि, अर्घाखाँचीमा दुई, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा एक/एक पालिका भने थप्न सफल भएको छ। 

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले १९ पालिका जितेकोमा अहिले २४ पालिकामा विजयी हासिल गरेको छ।

माओवादी केन्द्र गुल्मीका चार, प्युठानका तीन, रोल्पाका सात, दाङका तीन, बर्दियाका दुई, पाल्पा/बाँके/नवलपरासी (पश्चिम)का एक/एक र पर्वी रुकुमका तीन पालिकामा निर्वाचित भएको छ। अर्घाखाँची, रुपन्देही, कपिलवस्तुमा भने माओवादीले खाता खोल्न सकेन।

२०७४ सालको निर्वाचनमा माओवादीले गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, नवलपरासी (पश्चिम)मा एक/एक पालिकामा जित हासिल गरेको थियो। त्यस्तै, रोल्पामा सात, बर्दियामा तीन र रुकुम पूर्वमा तीन पालिका गरी १९ पालिका जितेको थियो।

त्यस्तै २ पालिकामा जनमोर्चाले विजय हासिल गरेको छ। ३ पालिकामा जनता समाजवादी पार्टीले जितेको छ। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले २ पालिका, जनता प्रगतिशील पार्टी र राप्रपा नेपालले एक/एक पालिकामा विजयी हासिल गरेका छन्।

१३ जेठ, २०७९, ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।