झापाका दुई पालिका प्रमुखमा महिला निर्वाचित

झापाका दुई पालिका प्रमुखमा महिला निर्वाचित

काठमाडौं : झापा जिल्लाका १५ वटा पालिकामध्ये दुई वटाको प्रमुख पदमा महिला उम्मेदवार निर्वाचित भएका छन्।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी निर्वाचित भएका हुन्। महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी भएका हुन्।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो। मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका छन्।

एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो। अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका छन्।

यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो। कार्की एमालेका बलदेव गोम्देनसँग पराजित भए भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी भए।

११ जेठ, २०७९, ०८:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।