गौरादहको मेयर-उपमेयरमा एमाले विजयी

गौरादहको मेयर-उपमेयरमा एमाले विजयी

झापाः गौरादह नगरपालिकामा एमालेले मेयर र उपमेयर दुवै पद जितेको छ। १२ हजार ८४९ मत प्राप्त गर्दै मेयरमा एमालेका छत्रपति सुवेदी निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार रोहितकुमार शाहलाई पराजित गरेका हुन्। शाहले ११ हजार ४४८ मत प्राप्त गरेका छन्। शाह यसअघि गौरादहको मेयर थिए।

उपमेयरमा पनि एमालेकी जलवर्षा राजवंशी विजयी भएकी छिन्। राजवंशीले ११ हजार ९१४ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकालले १० हजार ३४८ मत प्राप्त गरे।

गौरादहमा कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो। नगरका नौ वडामध्ये वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी, २ मा कांग्रेसका गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेका दुर्गामणि बस्नेत, ५ मा एमालेका जगन्नाथ खनाल, ६ मा कांग्रेसका तोयानाथ प्रसाईँ, ७ मा एमालेका बलराम खरेल, ८ मा माओवादीका गणेशकुमार राजवंशी र ९ मा एमालेकै उपेन्द्र निरौला विजयी भएका छन्।

९ जेठ, २०७९, १२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।