छैन अब प्रहरीको डर : पर्यटकको पर्खाइमा रातभर खुल्लै छ पोखराको लेकसाइड

छैन अब प्रहरीको डर :  पर्यटकको पर्खाइमा रातभर खुल्लै छ पोखराको लेकसाइड

पोखरा : पोखराको लेकसाइडको भर आन्तरिक र बाह्य पर्यटकै त हुन्। रमाइलो गर्ने मुडमा पर्यटकहरु पब, डिस्को दोहरी लगायतका रात्रीकालिन व्यवसायमा रमाउँथे। तर १० बज्न पाएको छैन प्रहरीको सिठी बज्न थालिहाल्ने। सटरमा ढकढक गरिहाल्ने। प्रहरीको गाडिको साइरन बजेपछि पर्यटक नाक खुम्च्याउँदै बाहिरिन बाध्य थिए। जसले १० वजे कटाउने दाउँ गर्थे उनीहरुले प्रहरी प्रशासनमा अतिरिक्त आम्दानी बुझाउनै पर्थ्यो।

तर सरकारले  मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा खुल्ला  गर्न सकिने निर्णय गरेपछि भने पोखराको लेकसाइड क्षेत्रको रात्रिकालीन व्यवसायमा प्रहरीको आतंकबाट मुक्त हुन थालेका छन्। व्यवासयले पनि गति लिन थालेको छ। 

कोभिड-१९ को संक्रमणका कारण  अन्यत्रको व्यवसाय झैँ पोखरा लेकसाइडको व्यवसाय ठप्प भयो। कोरोनाको कहर घटेसँगै आन्तरिक पर्यटक आउन थाले पनि समयको सिमा थियो नै। सरकारले  रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ला गर्न दिने निर्णयले पोखरा लेकसाइडका रात्रिकालीन व्यवसायीले राहत पाए।

पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराहा,काठमाडौंको ठमेल र दरबारमार्ग लगायतमा सञ्रचालित रात्रीकालिन र मनोरञ्जनात्मक व्यवसायलाई २४ घण्टा खुला गर्ने गृहले निर्णय गरेको थियो। प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यस अघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए। रात्रिको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए।

दुई वर्षदेखि कोरोना संक्रमणले थला परेका रात्रिकालीन व्यवसाय सरकारले संचालन गर्न दिने निर्णय गरेसँगै पर्यटन व्यवसायी उत्साहित छन्। कोरोना संक्रमण पहिले स्थिर सरकार बनेकाले पर्यटक आगमन उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा लगानी बढाएका थिए। त्यसै समयमा एकाएक (कोभिड–१९) कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गर्दा व्यवसायी मारमा परेका थिए। अब, बिस्तारै संक्रमण कम हुँदै गएकाले सरकारले निषेधाज्ञा हटाएको छ। 

पर्यटन व्यवसायी गोविन्द शर्मा सरकारले २४ घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय संचालन गर्न दिने निर्णय गरेपछि थला परेको पर्यटन उद्योगमा आश जगाएको बताए।

‘लामो समयदेखि कोरोना संक्रमणका कारण व्यापार व्यवसाय ठप्प भयो। कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि आन्तरिक पर्यटक मात्र आए। आन्तरिक पर्यटकले करोडौँको लागानीमा संचालन भएको पर्यटन व्यवसायलाई सामान्य राहत मात्र दियो। दुई वर्षदेखि बाह्य पर्यटक आगमन ठप्पै छ। आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन,' उनले भने'अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौँ।’

सरकारले ढिलै भए पनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश जाने उनको आश छ। सरकारले ढिलो भए पनि पर्यटनमैत्री निर्णय गरेको बताउँदै उनले यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए।

'सम्साँझै व्यवसाय बन्द गर्नु पर्दा पर्यटकले आवश्यक सेवा र मनोरञ्जन लिनबाट वञ्चित गरिएको गुनासो गर्दै आएका थिए। अब, भने पर्यटकले धित मर्ने गरी मनोरञ्जन गर्न पाउने छन्। व्यवसायीलाई पनि सेवा गर्ने मौका मिल्ने छ,’उनले भने।

व्यवसायी शर्माले विगतमा दश बज्न नपाउँदै हाेटल, रेष्टुरेण्ट बन्द गराउँदै हिँड्ने प्रहरीबाट हैरानी ब्योहोर्दै आएका गुनासो पोखे। दश बज्यो कि प्रहरी सिठी फुक्दै सटर बन्द गर्न लगाउँदा पर्यटकमा समेत नकारात्मक प्रभाव पर्ने बताए। उनले गत बुधबार सरकारले २४ घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड राती अबेरसम्म खुल्न थालेको बताए।

सरकारले व्यवसायीको हितलाई मध्यनजर गर्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

उनले भने,‘सरकारले ब्यसायीको हितका लागि गरेको निर्णयको सम्मान गछौँ। सरकारले २४सै घण्टा व्यवसाय संचालन गर्न दिने निर्णयलाई कार्यान्वयन गर्दै जान्छौं। एकैचोटि कार्यान्वय गर्न नसकिए पनि बिस्तारै हुँदै जान्छ। सरकारले तयार गरेको मापदण्ड पालना गर्दै अगाडि बढ्छौं।’

अध्यक्ष सुवेदीले लामोसमय देखि थला परेको व्यवसाय बिस्तारै तंग्रिने बताए। उनले रात्रिकालीन व्यवसाय गर्न अनुमति पाएसँगै यस क्षेत्रमा रोजगारी बढ्ने र पर्यटकले पनि खुलेर मनोरञ्जन लिन पाउने बताए। उनले भने, ‘२४ घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवश्यक पर्ने भएकाले रोजगारी बढछ। रोजगारीसँगै ब्यवसायीको आम्दानी समेत बढ्छ।’

लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ।

‘हामीले बर्षौ अगाडिदेखि उठाउदै आएको माग अहिले सरकारले पूरा गरिदिएको छ’,उनले भने, ‘चौविसै घण्टा व्यवसाय संचालनमा आएपछि व्यवसायी र देशको अर्थतन्त्रमा पनि प्रभाव पर्छ।’

अध्यक्ष सुवेदीले व्यवसायीले २४ सै घण्टा सञ्चालन गर्नका लागि सरकारसंग बर्षौदेखि माग गर्दै आएपनि सुनाइ नभएको बताए। उनले भने, ‘हामीले धरै बर्ष अगाडीदेखि चौविसै घण्टा व्यवसाय खोल्ने वातावरण बनाई दिन सकरसँग आग्रह गर्दै आएका हौं । सरकारले अहिले सम्म हाम्रो माग प्रति चासो देखाएन । तर, अहिले सरकारले ब्यवसायीको माग सम्बोधन गरेको छ । अब, यसलाइ कार्यान्वयन गर्नु पर्छ।’ 

१ चैत, २०७८, १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।