पत्रकारको कार्यक्रममा ओलीलाई फकाउन मञ्चमै फूलको वर्षा, गलामा दुबोको माला
पोखरा : पोखरामा भइरहेको एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको उद्घाटन शत्रमा आयोजकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुसी बनाउन मञ्चमै फूलको वर्षा गराएको छ।
पार्टी विभाजनपछि हुन लागेको महाधिवेशनको उद्घाटन शत्रमा उनी कार्यक्रमको प्रमुख अतिथि बनेर गएका थिए। कार्यक्रमका प्रमुख अतिथि बनेका ओलीलाई मक्ख पार्न आयोजकले उनका लागि विवाहमा दुलाहाले लगाउने झैँ सिँगारिएको दुबोको मालाको व्यवस्था गरेका थिए। यतिले मात्रै आयोजकको चित्त बुझेन। उनी मञ्चमा बस्दा माथिबाट फूलको वर्षा गराए।
चौतारीको नवौँ महाधिवेशनमा यस अगाडि पार्टीमा विवाद हुँदा माधव नेपाल समूहका लागेका पत्रकार नेताहरू समेत सहभागी छन्। महाधिवेशनमा भाग लिन देशभरका एक हजार ५० जना प्रतिनिधि र सल्लाहकार लगायतका अन्य पदाधिकारी पोखरा आएका छन्।
चौतारीको नेतृत्त्वका लागि गणेश पाण्डे, माधव नेपालले आकांक्षा देखाएका छन्। पाण्डे पार्टीभित्र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल निकट मानिन्छन्। नेपाल एमाले एक हुँदाताका पार्टी विभाजन गरेर गएका माधव नेपाल समूह निकट थिए। यस अगाडि पनि उनले नेतृत्वको प्रयास गरेका थिए। तर ओलीले गणेश पाण्डेलाई सर्वसम्मत अध्यक्ष बनाएका थिए। यस पटक पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ।
फागुन २७, २०७८ शुक्रबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।