कराँते खेलाडी अनुको अनुभव : महिनावारीमा समेत खेलको लागि औषधि खाएर सार्नुपर्छ
काठमाडौं : सन् २०११ मा राष्ट्रिय खेलका लागि खेलाडी छनोट हुँदै थियो। नुवाकोटकी अनु अधिकारी क्षेत्रीय प्रतियोगिता छनोट खेलका लागि सिफारिस भइन्। पञ्चकन्या गाउँपालिका, घट्टेरुम्टाकी मध्यमवर्गीय परिवारकी अनु साथी-भाइको लहलहैमा कराँते खेल्न थालेकी थिइन्। रमाइलोका लागि अरुले विभिन्न उपाय गर्छन्। उनी भने खेलमा नै रमाइलो भेट्टाउँथिन्।
वीरगञ्जको क्षेत्रीय छनोट पार गरेर उनी हेटौंडामा भएको फाइनल सेलेक्सनमा आइन्। राष्ट्रिय प्रतियोगिताका लागि छनोटमा आवेदन दिएकी अनु एघारौं साफ च्याम्पियनसिपका लागि छनोट भइन्।
बंगलादेशमा भएको एघारौं साफ च्यापियनसिपमा ५५ केजी उमेर समूहमा उनले रजत पदक जितिन्। पहिलो अन्तर्राष्ट्रिय खेल, त्यो पनि साफ उद्घाटनपछिको पहिलो खेल। अनुको चौतर्फी प्रशंसा भयो।
नेपालका लागि एघारौं साफमा पहिलो मेडल ल्याएर वाहवाही बटुलिरहेकी अनु दोस्रो दिन नै निराश बनिन्। निराश हुनुको कारण थियो, कराँतेकै अर्को उमेर समूहमा नेपालले स्वर्ण पदक जित्नु।
‘गोल्ड मेडल आएपछि मलाई आफू निकै कमजोर रहेको अनुभव भयो,’ अनु भन्छिन्, ‘पहिलो खेलमा नै मेडल ल्याएको भनेर तारिफ भइरहेको थियो। सबैले हौसला दिइरहेका थिए। गोल्ड मेडल आएपछि त सबैको ध्यान त्यतै गयो। मलाई कसैले वास्तै गरेनन्। खुब चित्त दुख्यो।’
नेपाल फर्केपछि उनलाई धेरै संघ-संस्थाले सम्मान गरे। मेडल ल्याउने सबै खेलाडीलाई सम्मानका लागि बोलाउँथे। तर तारिफ गोल्डमेडल ल्याउनेको मात्र हुन्थ्यो। स्वर्ण बाहेक अरु मेडलको महत्व नै नभएझैं गर्थे आयोजकहरु।
अनुलाई गोल्ड मेडल ल्याउनुपर्ने रहेछ भन्ने त पहिलो खेलबाटै लागेको थियो। तर साफमा गोल्ड मेडल ल्याउन उनलाई आठ वर्ष लाग्यो।
सन् २०१९ मा आएर उनले नेपाललाई गोल्ड मेडल दिलाइन्।
०००
नुवाकोटबाट अस्थायी बसाइ-सराइँ गरेको अधिकारी परिवारलाई काठमाडौंमा सहज वातावरण थिएन। अनुलाई आमाले खेल्न अनुमति दिए पनि परिवारका अन्य सदस्यले भने खोजेजस्तो साथ दिन सकेनन्।
‘छोरी मान्छे भएर जातततै हिँड्न हुन्न भन्ने मानसिकताले महिलालाई आज पनि गाह्रो पारिरहेको छ,’ अनु भन्छिन्, ‘पहिलो खेलमा नै मेडल ल्याएँ। घरको वातावरण त केही हलुका भयो। तर खेलमै रमाउने अवस्था भने बनेन।’
परिवार तथा समाजले छोरीमाथि प्रश्न गरिरहने अवस्था कायमै रह्यो। घरजम गरेर नबसेर के खेलिरहेको भन्नेहरु पनि निस्के अनुलाई। तर उनमा त नशा थियो खेलको। खेलबाट टाढा हुने अवस्थामा नै थिइनन्।
खाई-नखाई कराँतेको पोशाक किनेको दिनको दृष्य अनुको दिमागमा अझै ताजै छ। देश-विदेशमा खेलिरहँदा ‘घुमन्ते केटी के ठिक होली र?’ भन्ने समाज अघिल्तिर छ। घाउ-चोट लाग्दा आइसले सेकेर बसेका धेरै क्षणहरु छन्। सपनाको लागानी मात्र होइन, जीवनको पलपल खेलमा अड्किएको छ उनको।
र, त अनु राज्यमाथि प्रश्न गर्छिन्, ‘देशका लागि धेरै मेडल ल्याउने चाहिँ महिला अनि तिनै महिला खेलाडीमाथि सामाजिक, पारिवारिक र राज्यले दिने सेवा-सुविधामा विभेद? अवसरको समानता खै?’
आफूलाई यति धेरै प्रश्न बोक्न सिकाएको यही समाजले हो जस्तो लाग्छ उनलाई।
०००
उनले नेपालको राष्ट्रिय कराँते खेलाडीका रुपमा देशको प्रतिनिधित्व गरेको करिब १० वर्ष भयो। जतिबेला उनी १६ वर्षकी थिइन्। यसबीचमा सन् २०१२ मा भएको वर्ल्ड च्याम्पियनसिपमा उनी सहभागी भइन्। कोरियामा इसोन एसियन गेम खेलिन्।
भारतको गुहावटीमा भएको १३औं साफमा कराँते विधा नै नराखिएकाले अनुले खेल्न पाइनन्।
सन् २०१७ मा इन्डोनसियामा भएको एसिएन गेम खेलिन् उनले। तर दुई राउण्ड जितेपछि उनी अन्तिममा पराजित भइन्। सन् २०२१ को ओलम्पिकमा अनु छनोट भएकी थिइन्। तयारीका लागि ओलम्पिकले पैसा पनि पठाएको थियो। तर सहभागी हुन सकिनन्।
साना-तिना प्रतियोगिता त कति खेलिन् कति, उनलाई नै हेक्का छैन। १५ भन्दा बढी देशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी अनुसँग एक दर्जनभन्दा बढी गोल्ड मेडल छन्। तर पनि ओलम्पिक भने खेल्न पाएकी छैनन्।
‘हाम्रो एक्सपोजर पनि भएन। कुटनीति पनि भएन। कोरोना भनेर हामी त्यत्तिकै बस्यौं,’ अनु भन्छिन्, ‘पहल गर्ने निकायले चासो नराखेपछि हामीले खेल्न मन गरेर, अभ्यास गरेर मात्र भएन।’
अब आउँदै गरेको एसिएन गेमका लागि अनु तयारीमा जुटिसकेकी छिन्। तर राज्यबाट कुनै तयारी छैन। राष्ट्रिय खेलकुद परिषद् र संघ राजनीतिकर्मीको अखडा मात्र बन्दा खेलाडीहरुलाई सहज वातावरण बन्न नसकेको भन्ने लाग्छ उनलाई।
‘हाम्रो र्यांकिङले खेलमा ठूलो फरक पार्छ। र्यांक बढाउन हामीले खेलिरहनु पर्छ। केही समय म एक्लै रसिया गएर आएँ। न कोच छ, न टिम म्यानेजर छ, न घाइते भयो भने ख्याल गर्ने टिम छ। खेलाडी एक्लैले भिडेर कहिलेसम्म मेडल ल्याइदिने हो देशको लागि?’
अनुलाई अब खेलाडीका रुपमा भन्दा पनि खेललाई उन्नत बनाउने बाटोमा आउन मन लागिरहेको छ। यसका लागि सही समयको पखाईमा रहिछिन् उनी।
०००
सरकारसँग खासै आश गर्दिनन् अनु। तर आश नगरेर पनि अर्को विकल्प छैन उनीसँग। आफ्नो समय देशका लागि खेल्नमा लगाएपछि देशबाट केही आश गर्नु स्वाभाविक पनि हो। राज्य तहमा नीतिगत प्रणाली नहुँदा खेलाडी समस्यामा परेको उनको बुझाई छ।
‘मैले साफमा मेडल ल्याएँ। वर्ल्ड च्याम्पियनसिप खेलेँ। मलाई सशस्त्र प्रहरीले जागिर दियो,’ अनु भन्छिन्, ‘आफ्नै तलब खर्च गरेर भए पनि खेल्न जानुपर्ने अवस्था छ। बाहिर खेल्न जाँदा म देश हुन्छु, व्यक्ति त हुन्न नि।’
जागिरको कमाइ खेलमा नै सकिन्छ। कमाइको वैकल्पिक माध्यम पनि खेलाडीको खेल नै हुन्छ। घर-परिवार र नाता-गोताले भविष्यको सुनिश्चतता नदेखेर अनुलाई धेरै पटक खेल नखेल्न सुझाउने गर्छन्। तर नशा लागिसकेकोले नखेली बस्नै नसिकने अनु बताउँछिन्।
‘म यतिका वर्ष टिममा भएँ। अब विस्तारै यहाँबाट हट्नुपर्छ,’ अनु भन्छिन्, ‘अब मेरो विकल्प के? खेलाडी हुँदा पनि दु:खैले खेलियो। खेल्न छाडेपछि पनि दु:ख पाउने?’
अनुले खेलसँगै पढाइलाई पनि महत्व दिइन्। एपिएफको जागिर छाडेकी उनी हाल हिमालयन बैंकमा कार्यरत छिन्।
‘बिहान म साना भाइ-बहिनीलाई कराँते सिकाउछु। आफू पनि अभ्यास गर्छु। अफिस आउछु,’ अनु सुनाउँछिन्, ‘करिअर सुरक्षित भएन खेलेर। मनले त खेल्न जा-जा भन्छ नि। अरुको अफिस टाइम मेरो लागि खेल्ने टाइम हुनुपर्ने हो। तर सम्भव छैन।’
खेलमा संघर्ष र विभेद-१: फुटबलर एञ्जिलाको प्रश्न- महिला र पुरुष खेलाडीको सुविधामा किन विभेद ?
उसुकी गोल्डमेडलिस्ट जुनीको गुनासो : पुरुष खेलाडीले द्विअर्थी शब्द बोल्दा हिंसा महसुस हुन्छ
सरकारले राम्रा र सक्षम खेलाडीलाई कोचमा भर्ति गर्नुपर्ने अनुको भनाइ छ। पहिले-पहिले गोल्ड मेडल ल्याउनेलाई सरकारले जागिर दिन्थ्यो। प्रशिक्षक बनाउँथ्यो। तर अहिले राजनीति घुसेर खेलाडी थप मारमा परेका छन्। राम्रा र क्षमता भएका खेलाडीमाथि राजनीति गर्न नहुने उनको तर्क छ।
‘प्रशिक्षक पद पनि खाली नै छ। खेलाडीलाई पनि प्रशिक्षक चाहिएकै छ। तर पनि राखेप र संघमा भएको राजनीतिले हामी खेलाडीलाई थाल खाऊँ कि भात खाऊँ बनाएको छ,’ अनु भन्छिन्, ‘सक्षम खेलाडीलाई राज्यले खेलमा नै करिअर सुरक्षित गराइदिने हो भने म बैंकको जागिर किन खान्छु? मेरा त आत्मा नै खेलमा बसेको छ। अरु खेलाडी पनि म जस्तै त हुन्। खेलाडीलाई खेलमा नै झुम्ने अवसर दिए रिजल्ट राम्रो आउँथ्यो।’
०००
नेपालको सन्दर्भमा महिला खेलाडीलाई त्यति सहज छैन। मार्सल आर्टसँग जोडिने खेलहरुमा त झन् समाजको मानसिकता समस्याकै रुपमा देखिँदै आएको छ।
गोल्डमेडलिस्ट अनुलाई खेल छोड्न र विवाह गरेर बस्न आज पनि समाजले भनिरहन्छ। शरीरिक रुपमा सबल हुँदै घरजम गर्न आफन्तको दबाब आइरहन्छ।
‘घरी विहेको कुरा, घरी के, घरी के। अनेक कुरा आउँछन्। खेलाडी हुँ, खेल मात्र खेल्छु भन्न सक्ने अवस्था छैन। यस्ता कुराले पनि मानसिक प्रेसर बनिहाल्छ,’ अनु भन्छिन्, महिनावारी जस्तो प्राकृतिक कुरालाई समेत खेलको लागि भनेर औषधि खाएर सार्नुपर्छ। त्यसले कति असर गर्छ स्वास्थ्यमा?'
खेलमा चोटपटक लाग्दा समेत ढुक्कले उपचार पाइने अवस्था नरहेको उनको गुनासो छ। 'बल छँदा देश भन्यो, बल नभएपछि के गर्ने टुंगो छैन। समाजले दिने मानसिक बोझ एकातिर, खेल र व्यक्तिगत समस्या अर्कातिर छन्,’ अनुले भनिन्।
यति धेरै संघर्ष गरेर खेलमा आएका महिलालाई संरक्षण गर्न नचाहनु राज्य स्तरबाट भएको हिंसा हो जस्तो लाग्छ अनुलाई।
‘यति धेरै समस्या छिचोलेर हामी देशमा लागि खेल्छौं अनि महिला भनेर हामीलाई पुरुष खेलाडी सरह व्यवहार र श्रमको मूल्यांकन चाहिँ किन हुँदैन?', यो प्रश्नको उत्तर खोज्दैछिन् अनु।
फागुन २७, २०७८ शुक्रबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।