त्यो घर जहाँ गिरिजाप्रसादको हत्या प्रयास भयो, शेरबहादुरको ओठमा गम्भीर चोट लाग्यो
बुटवल : ‘यो त्यही घर घर हो, जहाँ गिरिजाबाबुको हत्या प्रयास भएको थियो भने शेरबहादुर देउवाको ओठमा गम्भीर चोट लागेको थियो,’ ३८ वर्षअघिको चर्चित सुरजपुरा घटना स्मरण गर्दै ७० वर्षीया भुमा गिरीले भनिन्।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ३ स्थित सुरजपुरा घटना सुनाउँदै भुमाले
थपिन्, ‘२०४० फागुन २० गते सुरजपुरामा गिरिजाप्रसाद कोइरालालाई लक्षित गरी आक्रमण भएको थियो। हामीले उहाँ सहित शेरबहादुर देउवालाई यही घरको आटीमा राखेर बचायौ। तर त्यही घटनामा अरु दुई जनाको मृत्यु भएको थियो। दुई सयभन्दा बढी व्यक्ति घाइते भए।’
सुरजपुरामा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, शैलजा आचार्य लगायतका नेतामाथि आक्रमण भएको थियो। त्यो आक्रमणबाट कोइराला जोगिए तर देउवालाई ओठमा चोट लागेको थियो।
‘देउवाको ओठको चोट यहीँको आक्रमणमा पर्दा लागेको हो। पञ्च–मण्डलेले हत्या नै गर्न भनेर योजनाबद्ध आक्रमण गरेका थिए। धन्न उहाँहरुलाई केही भएन्,’ घटनाकी प्रत्यक्षदर्शी भुमाले सुनाइन्।
यसरी भयो आक्रमण
कांग्रेसको संगठनलाई बलियो बनाउने र प्रजातन्त्र स्थापित गर्ने अभियान स्वरुप देश दौडाहा निस्कँदा रुपन्देहीको सुरजपुरामा पनि कार्यक्रम तय भयो। तराईमा पञ्च–मण्डलेको बिगबिगी भए पनि सुरक्षित स्थान खोज्दै कांग्रेसले कार्यक्रम गरिरहेको थियो। देवदह नगरपालिका वडा नम्बर ३, सुरजपुरास्थित कांग्रेसका तत्कालीन रूपन्देही सभापति पुष्पानन्द गिरीको घरमा अन्यत्रभन्दा सुरक्षित देखेर कांग्रेसले सभा राख्यो।
‘कार्यक्रम अहिले नराखौं, परिस्थिति ठिक भएपछि राखौंला भनेर धेरैले भने। तर पुष्पानन्द (बुबा) ले प्रजातन्त्रको महायज्ञमा अगाडि बढेका मान्छे डराएर हुँदैन, महामन्त्रीको कार्यक्रम रुपन्देहीको चार ठाउँमा हुनुपर्छ भनेपछि हाम्रै घरबाट कार्यक्रम सुरु भएको हो,’ पुष्पानन्दका साहिँला छोरा शक्तिप्रसन्नले भने।
त्यसपछि कार्यक्रम सुरु भयो। तत्कालीन जिल्ला सचिव रामकृष्ण ताम्राकारले कार्यक्रम चलाए। केहीबेरमा गिरिजाप्रसाद कोइरालाले भाषण सुरु गरे। तर एक्कासि चारैतिरबाट घेरेर आक्रमण सुरु भयो। ढुंगामुढा सहित खुकुरी नचाउँदै भीड कोइरालाले भाषण गरेको स्थानतिर बढ्यो। अनि कार्यकर्ताको भागाभाग सुरु भयो।
’आक्रमण हुन थालेपछि कोइरालालाई घरको माथिल्लो तलामा लगियो। तलामा जाने ढोकामा ताल्चा लगाइयो। तल्लो तलाको ढोका बन्द गरियो। आक्रमणकारी झ्याल फोरेर तल्लो तलामा गए तर माथि जान सकेनन्,’ पुष्पानन्दका छोरा शक्तिप्रसन्नले सम्झे।
उनले भुइँतलामा भएका शेरबहादुर देउवा (हाल प्रधानमन्त्री) को ओठमा ढुंगाले लागेको बताए। अन्धाधुन्दा आक्रमण गरेका मण्डलेहरुले घरमा थाम काट्ने, छानो फुटाल्ने काम गरे। २ घण्टासम्म भएको आक्रमणबाट कोइराला, देउवा लगायतका नेता बचे पनि घटनामा २ जनाको मृत्यु भएको थियो। गिरिजाप्रसाद बसेको माथिल्लो तलामा जान नसकेपछि उनीहरूले घरभित्रको धेरै सामान लिएर गएको शक्तिप्रसन्न गिरिले बताए।
त्यो बेला आक्रमणको नेतृत्व पञ्चायत पक्षधर कुलबहादुर बाठा भन्ने व्यक्तिले गरेको कांग्रेसले अनुमान गरेको थियो। घटनाका प्रत्यक्षदर्शी घनश्याम गिरीलाई अहिले पनि सुरजपुर घटना ताजा जस्तै लाग्छ। ‘नेतालाई माथिल्लो तलामा लुकाएर राखियो। उनीहरु माथि जान सकेनन्। तर तल्लो तलामा भएका सबै सामान लगे। कपडा समेत बाँकी राखेनन्,’ उनले भने।
घटनामा १९ जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगिएको र त्यहाँबाट ट्रकमा राखेर बुटवल लगिएको थियो।
त्यसो त गिरिजाप्रसाद कोइरालालाई सुरजपुरा आउने समयमै हत्या योजना बुनिएको कांग्रेस नेताहरु बताउँछन्। सुरजपुरा कार्यक्रमको अघिल्लो दिन १९ फागुनमा कोइराला सहितका नेता सुरजपुरा आउन हिँडे। तर उनीहरु चढेको जिप नारायणगढ आइनपुग्दै बिग्रियो। त्यसपछि ट्रक चढेर उनीहरु नारायणगढ आए।
‘नारायणगढबाट उहाँहरु मिनिबसमा सूर्यपुराका लागि हिँड्नु भो। दाउन्नेनेर एक हुल मान्छे फूल, माला, झण्डा सहित पर्खेर बसेका थिए। उनीहरुलाई समय छैन भन्दै उहााहरु अगाडि बढ्नुभयो। त्यहाँ कांग्रेसको झण्डा बोक्ने, फूल–माला लिएकाहरु कांग्रेस नभई मण्डले रहेछन्। गाडी नरोक्नाले त्यहाँ ज्यान बचेको थियो,’ पत्रकार जगत नेपालले लेखेको ‘आफ्नै कुरा गिरिजाप्रसाद कोइराला’ नामक किताबमा उल्लेख भएको पुष्पानन्द गिरीका काइँला छोरा युवराज गिरीले बताए।
गिरी आफ्ना बाबुसँग कोइरालालाई लिन राजमार्गमा पर्ने खैरेनीसम्म गएका थिए। गाडीबाट झरेपछि ४५ मिनेटजति हिँडाएर उहाँलाईसुरजपुरा लगिएको उनले बताए।
आजकै दिन मृत्यु भएको थियो आलोकको
सुरजपुरा काण्डको नामले बदनाम उक्त घटना रुपन्देहीवासीले अझै बिर्सिएका छैनन्। २० फागुन घटनाको दिन अनि २२ फागुन घाइते यादवनाथ आलोकको मृत्यु भएको दिन। आजकै दिन उनै आलोकको स्मृतिमा नेपाली कांग्रेसले प्रत्येक वर्ष कार्यक्रम समेत गर्दै आएको छ। मण्डलेको आक्रमणबाट घाइते भएका आलोकको बुटवलमा २२ फागुनमा मृत्यु भएको थियो। कांग्रेसले आलोकलाई सहिद घोषणा गरिसकेको छ। उक्त घटनाका अर्का घाइते शिक्षक रामप्रसाद चौधरीको घटनाको दसौं दिनमा मृत्यु भएको थियो।
मुलुकमा वहुदलीय व्यवस्था आउनुभन्दा झण्डै ६ वर्षअघि २०४० साल फागुन २० गते भएको सुरजपुरा घटना नेपाली कांग्रेसको इतिहासको एउटा कहालीलाग्दो घटना हो।
त्यस घटनापछि गिरिजाप्रसाद कोइराला ४ पटक सुरजपुरा पुगेका थिए। अरू केन्द्रीय नेता पनि रुपन्देही आएका बेला सुरजपुरा पुग्छन्। प्रजातन्त्र आएपछि गिरिजा र देउवा सरकारको नेतृत्वमा पुगे पनि सुरजपुरा घटनाको छानबिन नभएको कांग्रेस नेताहरू बताउँछन्।
फागुन २२, २०७८ आइतबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।