लौरोको सहारामा पढिरहेका सन्तोषको अठोट : शिक्षक बनेर ज्ञानको ज्योति छर्न चाहन्छु
सुर्खेत : पञ्चपुरी नगरपालिका-८, दुलालथाइका सन्तोष विक १३ वर्षका भए। उनी अहिले स्थानीय जनजागृति आधारभूत विद्यालयमा कक्षा ६ मा अध्यनरत छन्।
तीन महिनाकै हुँदा उनलाई आगोले पोल्यो। विस्तारै घुँडादेखि मुनिको खुट्टा सुक्दै गयो। संक्रमण खुट्टैभरि फैलन थाल्यो। औषधि उपचारका लागि आमाबुबाले अस्पताल लगे।
डाक्टरले केही महिना औषधि खुवाएर खुट्टा काटेर फाल्नुपर्ने सुझाव दिए। तर आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले खुट्टा काट्न काठमाडौं लैजान सकेनन्। अहिले उनको खुट्टा खुम्चिएर मसिनो भएको छ।
तीन भाइमध्ये कान्छा सन्तोष। वैशाखी समेत नहुँदा लट्ठीको सहारामा विद्यालय गइरहेका छन्। विद्यालय त जान्छन् तर बेञ्चमा बस्दा, शौचालयमा जाँदा र अत्तिरिक्त क्रियाकलापमा उनलाई समस्या हुने गर्छ।
कहिलेकाहीं त आफ्नै साथीहरुको समेत तिरस्कार सहनुपर्छ उनले। ढिलो आउँदा पछाडि बस्नुपर्छ भने अपांग भनेर साथीहरुले हेलाहोचो समेत गर्छन्।
‘घरबाट लट्ठी टेकेर स्कुल आउँछु। यहाँ बेञ्चमा बस्न, ट्वाइलेट जान र हिँडडुल गर्न समस्या हुन्छ। अपांगमैत्री संरचना पनि छैन,’ सन्तोषले भने, ‘कहिलेकाहीँ बाहिर फिल्डमा पढ्न जाँदा अरु साथीहरु कापी-किताब लिएर एकैछिनमा पुगिहाल्छन्। म भने लौरो र कापी किताब समात्दा समात्दै ढिलो पुग्छु।’
आफूसँग वैशाखी समेत नभएको गुनासो गर्दै उनले मन भए पनि अरु साथीहरु सरह खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी हुन नसकेको बताए।
साथी र समाजले खुट्टा नभएको अपांग भनेर गरेको दुर्व्यवहार विरुद्ध लड्न शिक्षक भएर सबैलाई ज्ञानको ज्योति छर्ने आफ्नो योजना रहेको उनले सुनाए।
‘सवलांग साथीहरु त दौड, भलिबल, फुटबल र अन्य खेलमा भाग लिन्छन्। मेरो खुट्टा छैन, म जस्ता अरु साथीहरु पनि छैनन्। त्यसैले अरुको हेरेरै चित्त बुझाउँछु,’ उनले भने, ‘खुट्टा नभएको अपांग भनेर मलाई जुन रुपमा समाजले घृणा गरेको छ नि, त्यसका विरुद्ध शिक्षक भएर समाजमा ज्ञानको ज्योति छरेर उदाहरणीय बन्ने मेरो इच्छा छ।’
उनका बुबा-आमा र दाइ-भाउजु भारतमा नोकरी गर्छन्। उनी अहिले गाउँमा माइलो दाइसँग बसेका छन्।
कक्षामा भएक अन्य ४६ जनाभन्दा सन्तोष एकदमै मिहिनेती, लगनशील र इमान्दार रहेको जनजागृति आधारभूत विद्यालयका प्रध्यानाध्यापक थानीप्रसाद घिमिरेले बताए।
विद्यालमा छैनन् अपांगमैत्री संरचना
कर्णाली प्रदेशका ७९ वटा पालिकाका अधिकांश विद्यालयमा अपांगमैत्री संरचना छैनन्। जसले गर्दा अपांगता भएका विद्यार्थीहरुलाई समस्या पर्ने गरेको छ।
विद्यालयका शौचालय, कक्षा कोठा, पुस्तकालय र खेल मैदान अपांगमैत्री नहुँदा उनीहरुले सास्ती भोग्दै आएका छन्। विद्यार्थी मात्रै होइन, अपांगता भएका शिक्षकहरुले समेत सास्ती खेप्नुपरेको बताउँछिन् वीरेन्द्रनगर-६ की शिक्षिका सोमना खड्का।
‘म पनि विद्यालयमा पढाउँछु। विद्यालयका हरेक संरचनामा म जस्ता अपांगता भएका शिक्षकहरुलाई अप्ठ्यारो पर्ने गरेको छ,’ खड्काले भनिन्, ‘बाटो-घाटोमा पनि अपांगमैत्री संरचना नहुँदा कति दिन त म आफैं नालीमा समेत छु।’
कर्णाली प्रदेशका १० वटा जिल्ला अन्तर्गतका २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिकाका ७२९ वडा रहेका छन्। शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार कर्णालीमा बाल विकासदेखि कक्षा १२ सम्मको विद्यालय शिक्षामा हाल ६ लाख ४६ हजार ७६८ विद्यार्थी अध्ययनरत छन्। २६ सय ७ बालविकास केन्द्र, १९ सय ७१ प्राथमिक विद्यालय, ६ सय २४ निम्नमाध्यमिक विद्यालय, २ सय २९ माध्यमिक विद्यालय छन्। यीमध्ये करिब २० प्रतिशत विद्यालय तथा शैक्षिक संस्थाहरुमा अपांगमैत्री संरचना छैनन्।
यस्तै प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालय २४, प्राविधिक तथा व्यावसायिक शिक्षा पढाइ हुने विद्यालय १५, क्याम्पस ४४, विश्वविद्यालय १ र एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।
अहिले बनेका भवनहरु अपांगमैत्री भए पनि पुराना भवनहरु नभएको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले बताइन्।
‘अहिले हाम्रो प्रदेश सरकारबाट बनेका नयाँ भवनहरु अपांगमैत्री नै छन्। पुराना भवन र स्थानीय तहहरुबाट बनेका भवनहरु अपांगमैत्री छैनन् भन्ने कुरा आएको छ,’ उनले भनिन्, ‘विद्यालयमा अब बन्ने हरेक संरचना अपांगमैत्री बनाउनुपर्ने नीति नै बनाएका छौं।’
फागुन १६, २०७८ सोमबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।