एसिडको कहर : पाँच महिनापछि फर्किएको अस्मिताको हाँसो
काठमाडौं : भदौ २० गते आइतबार। करिब ११ बजे।
साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा. सन्तोषविक्रम भण्डारीले थेरापी कक्षकी एक किशोरीलाई देखाउँदै भने, ‘उनै हुन् अस्मिता तामाङ।’
भीडतिर यसो नजर डुलाएँ। खै को हुन् को?
‘कुन चाहिं?,’ सोधेँ
‘कस्तो नचिनेको, उनी नै हुन् के,’ चिकित्सक भण्डारीले पुन: एक किशोरीतिरै देखाए।
मैले नियालेर हेरे। अहो ! कति राम्री भइछिन्।
000
हाई डिपिडेन्सी युनिट, रुम नम्बर ६।
होली खेल्दा एक किशोरीको मुखमा एसिड परेको सूचनाको आधारमा चैत १७ गते त्यही अस्पतालको पुग्दा भुईं तलामा थिइन् १६ वर्षीया अस्मिता। उनी अर्की युवतीसँग कुरा गरिरहेकी थिइन्। ती उनको दिदी रहिछिन्।
अनुहार मात्र होइन कम्मरमा समेत पूरै प्लास्टर गरिएको अस्मिता सानो स्वरले दिदी सुनितासँग कुरा गर्दै थिइन्।
उनीसँग केही कुरा गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। चिकित्सकले पहिल्यै दिदी र उपचारमा संलग्न चिकित्सक बाहेक अन्यसँग कुरा गर्नै नमान्ने सुनाएका थिए।
कतै बोलि पो हाल्छिन् कि? फोटो पत्रकार कृष्पा श्रेष्ठसँगै कोठामा पुगेर सोधे, ‘कस्तो छ तिमीलाई?’
अस्मिता भित्तातिर फर्केर रुन थालिन्। बोल्दै बोलिनन्।
म केहीबेर त्यहीं उभिइरहें। सोधें, 'के भयो?' उनले पुलुक्क मेरो मुखमा हेरिन्। तर बोलिनन्। दोस्रो प्रश्न सोध्ने आँट गरिनँ।
000
गत वर्षको चैत १५, फागुपूर्णिमाको दिन। काठमाडौंको नाङ्लेभारे बस्ने अस्मिता ४/५ जना साथीसँग मिलेर फागु खेल्न विद्यालयतिर लागिन्। उनी पढ्ने नवीन ग्राम शिक्षा मन्दिर उनको घरबाट केही मिनेटको दूरीमा थियो।
उनी कक्षा ९ मा पढ्दै थिइन्। होली खेल्ने साथीहरु त्यही विद्यालयका कक्षा चारका विद्यार्थी थिए।
उनी रङ दल्दै, पानी छ्यापाछ्याप गरेर होली खेल्न थालिन्। अन्य पनि मिसिएर पानीमा रङ मिसाउँदै दल्न थाले। उनीहरु खेल्दै विद्यालय बाहिर पुगे।
विद्यालयकै एक सटरमा डेरी पसल थियो। विद्यालयको मुख्य भवन र अर्को भवनको बीचमा सानो गल्ली थियो। त्यो गल्लीमा एउटा निलो जर्किन भेटियो। त्यही जर्किनमा रहेको तरल पदार्थ खन्याएर रङमा मोल्दै एक-अर्काको अनुहारमा दलिदिन थाले।
सुन्नुस् :
खेल्दाखेल्दै अस्मिता र अर्का एक बालकको अनुहारमा अचानक पोल्न थाल्यो। जसले उनीहरुलाई जर्किनको तरल पदार्थ रङमा मिसाएर दलिदिएका थिए उनीहरुको पनि हात पोल्न थाल्यो।
पोलाइ बढ्दै गएपछि अस्मिता र अर्का बालक रुन थाले। लौ के भयो ! अन्य अन्योलमा परे।
पानी भनेर उनीहरुले जर्किनबाट जे खन्याएका थिए, त्यो पानी थिएन। स्कुल नजिकै रहेको सरस्वती दुग्ध उत्पादन डेरीका लागि राखिएको एसिड थियो।
डेरी सञ्चालकले एसिड भएको जर्किन बाहिरै राखेका थिए। विद्यार्थीले पानी सम्झिए। रङमा मिसाएर एकअर्कालाई दलिदिए।
जर्किनको पानी दल्दा पोल्यो भन्नासाथ वरिपरिका गाउँलेले चाल पाइहाले गडबड भयो भन्ने। उनीहरुले दुवैलाई बोकेर साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पताल दौडाइहाले। बाटोमा जाँदाजाँदै प्रहरीलाई खबर गरे।
अस्पताल ल्याएपछि थाहा भयो, एसिडले अस्मिताको अनुहार र शरीरको ६ प्रतिशत भाग जलेको रहेछ। अस्मिताको अनुहार, घाँटी र कम्मरमा परेको रहेछ एसिड।
अस्मितालाई अली धेरै नै परेछ। अन्य दुई जनाको शरीरको थोरै भागमा मात्र एसिड पर्यो। दुई जना तीन दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए।
तर अस्मिताको घाउ गम्भीर थियो। उनी भने अस्पताल नै भर्ना हुनुपर्यो।
‘अस्पताल भर्ना भएपछि उनी आत्तिएकी थिइन्। धेरैसँग बोल्दै बोल्दिनन्। टोलाएर बस्छिन्,’ उनको उपचारमा संलग्न चिकित्सक भण्डारीले उकेरासँग भने।
उनको कलिलो मनमा ठूलै चोट पारेछ त्यो घटनाले। त्यसैले हामीले बोल्न कर नगरी फर्कियौं।
फर्कदा चिकित्सक भण्डारीलाई हामीले आग्रह गरेका थियौं, ‘अस्मिताको घाउ भरिँदै गएपछि खबर गर्नु ल।’
000
अस्मिताको अनुहारको दोस्रो अप्रेसन २०७७ चैत २३ गते हुने सूचना आयो। चिकित्सक भण्डारीले भने 'उनी केही खुल्न थालेकी छिन्। यो पाली कुरा हुनसक्ला।'
कृष्पा र म अस्पतालतिर लाग्यौं।
साढे १० तिर अस्पताल पुग्दा उनको दोस्रो अप्रेसनको तयारी गरिरहेका थिए चिकित्सक। वार्डमा लगिएन हामीलाई। सिधै अप्रेसन रुममा लैजाने तयारी रहेछ।
अप्रेसन रुममा जाँदा लगाउनुपर्ने पोशाक दिए अस्पतालको कर्मचारीले। चिकित्सकले सिधै रिकभरी रुममा लगे।
दिदीको साथमा विस्तारै हिँड्दै कोठामा आइपुगिन् अस्मिता। धेरै तङग्रिइछिन्।
मैले अस्मितातिर पुलुक्क हेरें। हामीलाई देखेर उनकी दिदी हल्का हाँसिन्।
‘के छ खबर? आराम छौ नि?,’ चिकित्सक सन्तोष भण्डारी अस्मितालाई बोलाउँदै रिकभरी कक्षमा आए। भण्डारीले ढाका टोपी लगाएका थिए। अस्मिताले अप्रेसन गर्दा लगाउने निलो टोपी।
‘तपाईंको टोपी त कस्तो राम्रो। मेरो मात्रै यस्तो,’ उनले भण्डारीलाई भनिन्।
‘तिम्रो पनि राम्रो छ नि मेरोभन्दा,’ भण्डारीले हास्दै भने।
‘हो र,’ उनले हाँस्दै दिदीतिर फर्किएर सोधिन्,‘कसको राम्रो टोपी भन त दिदी।’
दिदी सुनिताले भनिन्, ‘खै कसको पो राम्रो।'
बहिनी खुल्दै गएकोमा सुनिता खुसी नै थिइन्। चिन्ता हास्दा घाउँ दुख्ला भन्ने।
'कति हाँसेको के, दुख्ला फेरि।’
दिदीको चिन्ता हटाउन खोज्दै अस्मिताले भनिन् ‘अब त म सञ्चो भइसकें नि। अस्तिसम्म त बोल्नै नहुनी भएको थियो। अहिले त जति बोले नि हुन्छ, दुख्दैन।’
तीन जनाको रमाइलो संवादले उनको शारीरिकमा लागेको चोटसँगै मानसिक चोट पनि कम हुँदै गएको देखियो। खुसी लाग्यो।
‘उनी सामान्य अवस्थामा फर्कने कोशिस गर्दैछिन्,’ चिकित्सक भण्डारीले उनको अवस्था खुलाउँदै भने, ‘पहिले त उनी कसैसँग पनि बोल्दैनथिन्। अहिले बोल्न थालेकी छन्। यो राम्रो हो।’
हामी दुईको कुरा सुनेर अस्मिताले भनिन्, ‘अब त बोल्नु परिहाल्यो नि। सधैँ नबोली कसरी सकिन्छ र?’
आज चाहिँ कुरा गर्न सकिन्छ भन्ने लाग्यो।
000
‘ममीले नजा भनेको ठाउँमा त जान हुन्न रहेछ,’ अस्मिताले अनुहारमा एसिड परेको दिन सम्झँदै भनिन्, ‘त्यो दिन म होली खेल्न नगएको भए मेरो अनुहारमा एसिड पर्दैनथ्यो।’
जब उनको अस्पतालको बसाइ सुरु भयो, पहिला त अत्यास लाग्यो रे। उकुसमुकुस भयो रे।
एसिडले शरीर जलेर अस्पताल आइपुगेकाहरुको तनसँगै मन पनि गलेको हुन्छ। त्यसैले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले तनको घाउँसँगै मनको घाउँको पनि उपचार सुरु गर्ने रहेछन्। मनोपरामर्शविद् समेत खटिने रहेछन् यो कामका लागि।
'केही हुन्न घाउ छिट्टै निको हुन्छ। पहिलाझैँ सामान्य अवस्थामा आइहाल्छौ' भनेर ढाडस दिँदा बिरामीको आत्तिएको मन विस्तारै शान्त हुँदै जाने रहेछ।
अस्मितासँग विस्तारै चिकित्सकहरु घुलमिल हुन थाले।
विस्तारै साथीभाइ बोलाएर भेटघाट गराउँदा उनीहरुको खस्किएको मनोबल उकासिँदै जाने रहेछ। विस्तारै साथीहरु अस्पतालमै भेट्न आउन थाले।
अनी उनी पनि खुल्दै आइन्।
‘साथीहरु दिनैपिच्छे भेट्न आएको आयै छन्,’ अस्मिताले खुसीहुँदै भनिन्, ‘हामी छौँ, नआत्ती भनेका छन्। उपचार सकिएपछि त फेरि साथीहरुसँगैँ भइहाल्छु नि।’
‘अस्पतालका सर-मिस आएर हाम्रो अवस्थाबरे बुझिरहनुभएको छ,’ सुनिताले भनिन्, ‘त्यही भएर बहिनीलाई छिट्टै सञ्चो हुँदै गएको छ।’
‘पोलिएको घाउ धेरैजसो दुर्घटनाबस हुन्छ। अकस्मात यस्तोहुँदा बिरामीलाई मानसिक रुपमा पनि निकै पीडा हुन्छ,’ अस्पतालका निर्देशक एवं चिकित्सक भण्डारीले भने, ‘त्यसैले उपचारसँगै मनोपरामर्श पनि दिन्छौँ।’
उनको दोस्रो सर्जरी थियो।
अस्पतालका कर्मचारीले अस्मितालाई रिकभरी रुमबाट अप्रेसन रुममा लगे। हामी पनि पछि लाग्यौं।
000
समय ११.४०।
अप्रेसन कक्षमा चिकित्सक भण्डारीको नेतृत्वमा ७ जना स्वास्थ्यकर्मी थिए, एसिडले पोलिएको अस्मिताको अनुहारको अप्रेसन गर्न।
सर्जरीमा थिए चिकित्सक भण्डारी, सर्जन रोजिना शिल्पकार, चिकित्सक प्रकाश कालिका पुडासैनी। उनीहरुलाई सघाइरहेका थिए, स्टाफ नर्स रीता गुरुङ, रस्मिता खड्का र हेल्थ असिस्टेन्ट सिर्जना भण्डारीले।
अप्रेसन भइरहेको बेला रिपोर्ट लेखिरहेका थिए, चिकित्सक विनोद भण्डारीले।
अस्मितालाई त्यो बेला कोल्याजिन गरिँदै थियो।
कोल्याजिन भनेको नयाँ छाला पलाउनका लागि राखिने छाला जस्तै वस्तु रहेछ।
‘पोलेको ठाउँको घाउ हेरेर हामीले कति कोल्याजिनको मात्रा चाहिन्छ भनेर बनाउँछौ,’ नर्स रस्मिताले छाला जस्तै वस्तु मिलाउँदै भनिन्, ‘यसलाई प्वाल-प्वाल पनि बनाउनुपर्छ। प्वालबाट अनुहारमा आउने पानी बाहिर निस्कनुपर्छ।’
अस्मितालाई केही बेर लट्ठ्याइयो। एनेस्थेसिस्ट प्रकाश कालिका पुडासैनीले अस्मितालाई लट्ठ्याए।
‘अप्रसेसनको पिरियड हेरेर हामीले बिरामीलाई बेहोस पार्छौं। लट्ठिएको बेलामा सर्जरी गरेको केही थाहा हुँदैन’ उनले भने।
चिकित्सक भण्डारी र शिल्पकारले पहिले गरेको ड्रेसिङ निकालेर अस्मिताको घाउ हेरे। दुबैलाई सघाइरहेका थिए, गुरुङ र सिर्जना भण्डारीले।
उनको घाउ हेरेपछि भण्डारीले सानो स्वरले भने,‘उनको घाउ ५० प्रतिशतभन्दा बढी निको भएछ। आज सर्जरी गरेपछि थप एक पटक मात्रै अप्रेसन गर्दा होला अब।’
चिकित्सकीय टोली सर्जरीमा व्यस्त भयो। हामी उभिएर हेरिरह्यौं।
करिब आधा घण्टापछि उनको दोस्रो सर्जरीको काम सकियो। सर्जरीपछि अस्मितालाई बौराउन बोलाउन थालियो, ‘अस्मिता आँखा खोल।’
उनले विस्तारै मुख ‘आँ’ गरिन्। तर केही आवाज आएन।
चिकित्सक प्रकाशले उनलाई पुन: बोलाए। उनको खुट्टा चल्मलायो। टाउको हल्लियो।
चिकित्सको निर्देशन अनुसार अस्मिताले प्रतिक्रिया दिएपछि उनलाई रिकभरी कक्षमा फर्काइयो।
‘अब दुई घण्टासम्म उनलाई रिकभरी कक्षमा राख्नुपर्छ,’ चिकित्सक प्रकाशले भने,‘पूर्ण होस आएपछि वार्डमा नै सारिन्छ।’
२ घन्टाको समयमा हामी उपचारमा संलग्न टोलीसँग अस्मिताको अवस्थाबारे थप कुरा गर्न थाल्यौं।
‘अस्मिताको एसिड परेको भाग ५ देखि ६ प्रतिशत हो। सुरुमा उसको घाउको गहिराइ हेर्दा समय लाग्छ कि जस्तो लागेको थियो,’ चिकित्सक प्रकाशले भने, ‘अनुहारमा रक्त सञ्चार राम्रो हुने भएकाले अनी उनको उमेर पनि सानो भएकाले छिट्टै रिकभरी भयो। घाउको गहिराइ कम हुँदै गएको छ।’
चिकित्सक भण्डारीले त्यो बेला भनेका थिए 'अब अस्मितालाई ५ दिनसम्म ड्रेसिङ गर्नुपर्दैन। घाउ निको भएको छ। उनी दुई हप्तामा डिस्चार्ज हुनसक्छिन्।'
दिउसतिर हामी फर्कियौं। अस्मिताको अवस्थाबारे फलोअप गरिरहेको थिए।
तीन हप्तापछि उनी डिस्चार्ज भएर घर फर्किइन्।
000
अस्मिताबारे तत्काल समाचार लेख्ने कि उनी निको भएसम्म कुर्ने?
होली खेल्दा झुक्किएर एक किशोरीको अनुहारमा एसिड परेकोबारे समाचार लेखिसकेको थिए। समाचार कक्षमा छलफलहुँदा निरन्तर फलो गरेर निको भएपछि एकै पटक लेख्ने सल्लाह भयो।
म चिकित्सकको सम्पर्कमै बसे।
'अस्मिता भदौ २० मा फलोअपका लागि अस्पताल आउँदैछिन्। आउनुहोला' पाँच महिनापछि चिकित्सक प्रकाशले फोनमा भने।
कृष्पालाई लिएर भदौँ २० मा साढे १० वजे अस्पताल पुगे। चिकित्सक भण्डारीको कार्यकक्षमा गएर बस्यौँ। उनी आएर थेरापी कक्षमा लिएर गए।
कक्षमा भिड थियो।
उनले टाठैबाट संकेत गर्दै अस्मितालाई देखाए। मुखमा पट्टीबाँधेको बेला देखेको उनलाई कसरी ठम्याउनु। अझ एसिड पिडितको तस्बिरहरुले मनमा अस्मिताको मुहारको अर्कै दृष्य नाचेको थियो।
त्यसैले चिकित्सक भण्डारीले संकेत गरेको भर्भराउँदो अनुहार अस्मिताकै हो भनेर कसरी ठम्याउनु!
अस्मिता सामान्य दैनिकीमा फर्किए पनि अनुहारमा सधैं क्रिम भने लगाइरहनुपर्छ। घाममा अनुहार देखाउन हुन्न।
‘कारखानामा प्रयोग गर्ने एसिड नभएर दूध फटाउने एसिड परेकाले छिटो निको भयो,’ चिकित्सक भण्डारीले भने, ‘तर पनि दुई महिनामा एक पटक फिजियोथेरापी र अनुहारमा मोस्चराइज भने गरिरहनुपर्छ।’
000
हामी यता कुरा गरिरहँदा रातो टिसर्ट, हल्का खुकुलो जिन्स पाइन्ट अनि कन्भर्स सुजमा रहेकी अस्मिता यतै हेरेर हासिरहेकी थिइन्।
म उनी नजिक गए। सोधें, ‘मलाई चिन्यौं?’
उनले यसो हेरिन् मात्र।
‘तिम्रो अप्रेसनको बेलामा हामी पनि सँगै थियौं नि। हामीले फोटो खिचेका थियौं,’ सम्झाउन खोजेँ।
‘अहँ मैले त सम्झिनँ,’ अस्मिताले भनिन्,‘अप्रेसन गर्ने बेलातिरको कुरा खासै सम्झना छैन।’
बिर्सनैपर्ने ती दिन बिर्सिइछिन्।
राम्रो भो।
भदौ २५, २०७८ शुक्रबार १३:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।