शेष घलेको व्यापारिक स्वार्थले सङ्कटमा केशर पुस्तकालय
पुस्तकालय त्यो टहरोबाट पनि कहिले लखेटिने हो उनैलाई थाहा छैन। उनका अनुसार टहरोमा राखिएको ५० हजार बढी महत्त्वपूर्ण पुस्तकहरू अन्तै सार्न पटक–पटक दबाब आइरहेको छ। तर त्यहाँबाट पुस्तक बोकेर बाहिरिए फेरि कहिल्यै त्यो भवनमा फर्कन नपाउने डरले उनले टहरो छाड्न मानेका छैनन्।
‘यो ठाउँ व्यापार गर्नका लागि हो भन्छन्, कुरो के हो म बुझ्न सक्दिन,’ उनले उकेरासँग भने।
मिश्रका अनुसार, निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो कार्यकालमा पुस्तकालय सार्न निकै प्रयास गरेका थिए। श्रेष्ठको पालामा त्यहाँ रहेका शिक्षा मन्त्रालयको छात्रवृत्ति, एनओसी ( नो अव्जेक्सन लेटर) लगायतका शाखाहरू सानोठिमी पुर्याइए।
२०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिले त्यो भवन रेक्ट्रोफिटिङ गराइरहेको छ। तर रेक्ट्रोफिटिङ सकिएपछि त्यहाँ पुस्तकालय राख्ने योजना भने देखिएन।
जसरी हुन्छ पुस्तकालय अन्तै सार्ने र त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्न निजी कम्पनीलाई भाडामा दिने तयारीमा शिक्षा मन्त्रालयका अधिकारीहरू नै लागेको देखियो।
शिक्षा मन्त्रालयका जिम्मेवार अधिकारीहरूले पटक–पटक पुस्तकालय सार्न खोजे पनि मिश्रले मानेको देखिएन। केशर पुस्तकालय पुनर्निर्माण भइरहेको भवन नजिकैको एउटा टहरोमा भए पनि पुस्तकालय खोलेरै बसेका छन् उनी।
‘अन्तै सरे, फेरि यही ठाउँ फर्कन पाइँदैन।त्यसैले साँघुरो ठाउँमा अटाएर भए पनि यही बस्छु,’ मिश्रले उकेरासँग भने‘ केशर महलमा पुस्तकालय भएकैले त यसको नाम केशर पुस्तकालय भयो। यो ठाउँ छाडेर अन्त जाने बित्तिकै केशर पुस्तकालयले आफ्नो अस्तित्व गुमाउँछ। मेरो कार्यकालसम्म म यो हुन दिन्न।’
के मिश्रले उकेरासँग गरेको दाबी सत्य हो त?
आधिकारिक रूपमा शिक्षा मन्त्रालयका कसैले यसबारे बोल्न चाहेनन्। उकेराको सम्पर्कमा आएका मन्त्रालयका एक उपसचिवले भने मिश्रको दाबीको पुष्टि गरिदिए।
ती उपसचिवका अनुसार केशर महलको उत्तरपट्टि बन्दै गरेको होटेलको भवन जसले पाएको हो उसैले हो केशर पुस्तकालयको भवन व्यापारिक प्रयोजनको लागि हात पार्न खोजेको।
यसका लागि मन्त्रालयमा भएका बैठकबारे उनी जानकार रहेछन्। विकास समिति बनाएर हुन्छ कि पर्यटक प्रवर्धनको बहानामा हुन्छ त्यहाँको भवन र जग्गा प्रयोग गर्न पटक–पटक प्रयास भइरहेको ती उपसचिवले बताए।
‘केशर पुस्तकालय भवनको उत्तरपट्टि जुन व्यापारिक घरानाले होटेल बनाउन लागेको हो उसैले केशर पुस्तकालयको भवन पनि व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने प्रयास गरिरहेको छ,’उनले भने, ‘तत्कालीन सरकारले त्यहाँबाट पुस्तकालय सार्न भनेको थियो। तर विरोध भएपछि त्यही सानो टहरामा भए पनि बसेको छ। तर कति समयसम्म टहरोमा पुस्तकालय टिक्ने हो थाहा छैन।’
पुस्तकालय मास्न चाहने व्यापारी घराना को हो ?
पुस्तकालय प्रमुख र शिक्षा मन्त्रालयका ती उपसचिवले पुस्तकालय रहेको भवन र क्षेत्र जसले हडप्न खोजेको दाबी गरे त्यो होटेल हो गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष शेष घलेको ‘सेराटन होटेल’।
गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष घलेको एमआइटी ग्रुप होल्डिङसले केशर महलसँगै जोडिएको १४ रोपनी जग्गा किनेर होटेल बनाइरहेका छन्। सो होल्डिङस्मा घले र जमुना गुरुङ घलेको लगानी छ। जमुना शेषकी श्रीमती हुन्।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई लगेर उनले २०७१ साउनमा होटेलको शिलान्यास गराएका थिए। प्रारम्भमा आठ अर्ब लगानीमा निर्माण सक्काउने भनिए पनि भूकम्प अनि कोरोना कहरका कारण होटेल निर्माणको काम लम्बिएको थियो।
होटेल खोल्ने तयारी गरेदेखि नै घलेको नजर नजिकै जोडिएको भव्य सरकारी संरचनामा थियो। होटेललाई पर्यटकीय केन्द्र बनाउन जग्गा अपुग हुने भन्दै उनले शिक्षा मन्त्रालय समेत रहेको सो भवन भाडामा लिने प्रयास गर्दै आएका छन्।
पर्यटकीय ठमेल क्षेत्र भएकाले स्वप्न बगैँचा समेतलाई जोडेर पर्यटकलाई आफ्नो होटेलसँग जोड्ने रणनीतिमा सक्रिय देखिए घले।
यस विषयमा जानकार स्रोतका अनुसार घलेले केशर महल क्षेत्रको सरकारी संरचना भाडामा लिएर व्यापारिक प्रयोजनमा प्रयोग गर्न कोइराला प्रधानमन्त्री भएकै बेलादेखि प्रयास गरेका थिए।
शिक्षा मन्त्रालयको शाखाको राय : केशर पुस्तकालयलाई विकास समितिअन्तर्गत लानु घातक
बिचमा भूकम्प आयो। भूकम्पले केशर महल क्षतिग्रस्त भयो। शिक्षा मन्त्रालय सर्यो। त्यसले उनलाई थप सहज बनायो। उनलाई समस्या पार्यो इतिहास समेत जोडिएको पहिलो सरकारी पुस्तकालयले।
पुनर्निर्माण प्राधिकरणले रेक्ट्रोफिटमार्फत पुनर्निर्माण सुरु गरेसँगै पुस्तकालय अन्त सार्ने मौका जुरेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि घलेका सहयोगीहरूले ओलीसँग भेटेर सो क्षेत्र आफ्नो कम्पनीलाई भाडामा दिने वातावरण बनाउन आग्रह गरिरहे।
ओलीका विश्वासपात्र कृष्णगोपाल श्रेष्ठ मन्त्री बनेपछि उनले घलेको योजना अनुसार त्यहाँ रहेका अन्य शाखाहरू अन्त सारे। उनले पुस्तकालय समेत सार्न दबाब बढाएका थिए। मन्त्रालयका शाखा सरे पनि मिश्रको अडानका कारण टहरामै भए पनि पुस्तकालय केशर महल परिसरबाट बाहिरिएको छैन।
तर घलेका प्रेस हेर्दै आएका सुरेश चित्रकारले केशर महल क्षेत्रको जग्गा भाडामा लिने विषय हल्ला मात्र भएको दाबी गरे। उनले भने‘ अहिलेसम्म आफ्नै भवन सक्काउन सकेको छैन, कहाँ अर्को भवन र जग्गा लिनु।’
उनले कुनै सरकारी जग्गा लिने योजना नभएको दाबी गरे पनि उकेराले प्राप्त गरेका तथ्यहरूले त्यस्तो देखाउँदैन।
मन्त्रालयकै कर्मचारी घले मैत्री
सिधै व्यापारिक समूहलाई केशर महल भाडामा दिँदा विरोध हुनसक्ने भएकाले शिक्षा मन्त्रालयले स्वप्न बगैँचा झैँ त्यसलाई पनि विकास समितिमार्फत ल्याएर व्यापारिक प्रयोजनमा प्रयोग गर्न सक्ने बाटो खुलाउने प्रयास अझै जारी नै देखियो।
त्यसका लागि केशर पुस्तकालयलाई स्वप्न बगैँचा विकास समिति अन्तर्गत ल्याउने प्रयास रोकिएको छैन। पुस्तकालयलाई स्वप्न बगैँचा विकास समितिअन्तर्गत लैजाने र बगैँचाको विस्तार गर्ने बहानामा सांस्कृतिक केन्द्र, होटेल तथा रेस्टुरेन्ट सञ्चालन समेत गर्ने भनेर सो क्षेत्र घलेको कम्पनीलाई दिन मन्त्रालयका केही पदाधिकारी अहिले पनि सक्रिय नै देखिए।
श्रेष्ठ शिक्षा मन्त्री रहेको बेला विकास समिति बनाउन शिक्षा सचिवको अध्यक्षतामा समिति गठन भएको थियो। समितिले अध्ययन समिति बनायो। केशर महललाई विकास समितिमा लैजाने सुझाव सहितको प्रतिवेदन बनाएर तत्कालीन शिक्षा मन्त्री श्रेष्ठलाई बुझाउन भ्याए पनि सरकार बदलिएपछि सो प्रयास रोकियो।
श्रेष्ठ बाहिरिए पनि घले समूहले केशर महल क्षेत्रले ओगटेको करिब ३४ रोपनी जग्गा आफू मातहत ल्याउने प्रयास छाडेको देखिएन। अध्ययन समितिको प्रतिवेदन तयारै छ जुन कार्यान्वयनमा ल्याउने हो भने केशर पुस्तकालय क्षेत्र सहजै व्यापारीलाई भाडामा दिने बाटो खुल्छ। घलेका सहयोगी अहिले आफू अनुकूल शिक्षा मन्त्रीको पर्खाइमा देखिए।
केसर पुस्तकालय स्थानान्तरण र केसर महललाई व्यापारीकरण गर्ने मन्त्रालयको तयारीबारे शिक्षा मन्त्रालयका अधिकारीसँग बुझ्न खोज्दा जिम्मेवारी व्यक्ति नै पन्छिए।
मन्त्रालयका प्रवक्तासँग सम्पर्क नै हुन सकेन। सूचना अधिकारी धन बहादुर श्रेष्ठले केसर महल र पुस्तकालय दुबैबारे आफूलाई जानकारी नभएको भन्दै भने, ‘आफूलाई थाहा नभएको कुरामा बोल्न मिल्दैन, त्यसैले यसबारे केही बोल्न चाहिनँ।’
त्यसो भए, यसबारे जानकार को छ त, भन्ने जिज्ञासामा उनले अर्कै एक उपसचिवलाई सोध्नु भन्दै भने, ‘म नम्बर दिन्छु, कतै उहाँलाई पो थाहा छ कि, सम्पर्क गर्नुहोला।
तर उनले नम्बर दिएनन्।
४२ वर्ष इतिहास बोकेर पुस्तकालय
नेपालको पहिलो सरकारी पुस्तकालयको रूपमा जन्मिएको केशर पुस्तकालय सुरुमा केशर शमशेरको व्यक्तिगत चाहनामा जन्मेको थियो। उनको पुस्तक, पत्रपत्रिका जम्मा गर्ने सोखले यो पुस्तकालय जन्माएको थियो।
चन्द्र शमशेरका छोरा केसर शमशेर किशोरावस्थादेखि नै पुस्तक र पत्रपत्रिका जम्मा गर्न निकै सौखिन थिए। यही क्रममा उनलाई बेलायतको एक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।
बेलायत पुगेका केसरलाई त्यहाँ पुगेपछि ज्ञानमा हौसला र आकर्षण झनै बढेर आयो। जसले गर्दा नेपाल फर्किएपछि पुस्तक सङ्कलनमा उनले थप जोड दिए।
वि.सं. २००७ सालको प्रजातन्त्र आउँदासम्म फिल्ड मार्सल केसर शमशेरको निजी पुस्तकालयकै रूपमा रह्यो। उनको मृत्यु बि.सं २०२१ सालमा भयो। तर मृत्यु हुनुअघि उनले आफूले लामो समयदेखि जम्मा पारेका बौद्धिक तथा ऐतिहासिक सम्पत्ति सङ्ग्रहालयको रूपमा जाओस् भन्ने इच्छा व्यक्त गरेका थिए।
उनकै इच्छा अनुसार, केसरका परिवारले यो पुस्तकालयलाई सरकारलाई सुम्पिए। सरकारको शिक्षा मन्त्रालयको स्वामित्वमा केसर पुस्तकालय संञ्चालमा ल्यायो।
निजी पुस्तकालय भएको केसर महल सहित झण्डै ३४ रोपनी जग्गा केसरका परिवारले सरकारलाई हस्तान्तरण गरेको थियो। बि.सं. २०२६ साउन १ गते यसको नामकरण केसर पुस्तकालय गरियो।
पर्यटकहरूको बाक्लो चहलपहल हुने क्षेत्रमा रहेको यो पुस्तकालय अन्य पुस्तकालय भन्दा फरक भएको बताउँछन् नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली।
‘केसर पुस्तकालय ऐतिहासिक हो। यसको अवधारणा र अन्य पुस्तकालयको अवधारणा नै फरक हो,’ उनले भने, ‘४० प्रतिशत म्युजियम, बाँकी पुस्तकालय र स्वप्न बगैँचा हो।’
१५ करोड अनुमान, ६० करोडमा ठेक्का
केशर पुस्तकालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले नराम्रोसँग चर्कियो। धेरै मान्छेको भार थाम्नै नसक्ने अवस्थामा पुगे पनि त्यहाँका ऐतिहासिक पुस्तकमा भने कुनै हानी भएन। दोस्रो तलामा भएका पुस्तकको केही भाग च्यातिए पनि त्यसलाई डिजिटल गरिसकेको उप सचिव मिश्रको भनाई छ।
उनले भने, ‘केशर पुस्तकालय उपत्यकामा भएका सबै पुस्तकालयमध्ये सबैभन्दा व्यवस्थित छ, हामीले पुराना पुस्तक र पाण्डुलिपिलाई पनि सफा गर्दै दिनदिनै किरा नलाग्ने औषधी छर्केर राखेका छौँ। लामो समय भएकाले केहीमा भने किराले प्वाल पार्न भ्याएको छ।’
भूकम्पले चर्किएको भवनमा मानिसको आवतजावत गर्न समस्या भएपछि निकै ढिलो गरेर मात्रै केशर महलको पुनर्निर्माण सुरु गरियो।
इजरायलबाट इन्जिनियर खटाएर तीन महिना अनुसन्धान गरेपछि भवन बन्न १५ करोड खर्च हुने तय भएको थियो। यसलाई बनाउन पाँच वर्षको समय लाग्ने अनुमान गरिएको थियो।
तर नेपाल सरकार पुनर्निर्माण प्राधिकरणले यसलाई झण्डै साठी करोड रुपैयाँमा ठेक्कामा दियो। त्यो पनि साँढे २ वर्षमा सक्ने गरेर। भवन प्रबलीकरण थालेको दुई वर्ष बितिसकेको छ भने यसको मिति सकिन अव ४ महिना मात्रै बाँकी छ।
अहिलेसम्मको काम हेर्ने हो भने, भवनको काम ५० प्रतिशत पनि सकिएको छैन। भवन भित्रको ग्यालरी टुक्रा परेका इँटा, माटोका थुप्राले डेरा जमाइरहेका छन्।
उकेराकर्मी त्यहाँ पुग्दा केही कर्मचारी महल भित्रकै कोठामा आङ तन्काएर सुतिरहेका थिए। केही भने काममा जुटिरहेका थिए। महलको काम निकै सुस्त तरिकाले चलिरहेको त्यहाँको गतिविधि हेरेर प्रस्टै देख्न सकिन्थ्यो।
भवनको अवलोकन गर्ने क्रममा केही युवाहरू आएर अवरोध समेत गरे। उनीहरूले कसलाई सोधेर भित्र छिरेको भन्दै थर्काए। पुनर्निर्माण प्राधिकरणको अनुमति पत्र बिना केसर महललाई हेर्न, डुल्न र फोटो खिच्न निषेध गरिएको उनीहरूको दाबी थियो।
दुई जना युवाहरू त झनै क्यामरा खोसौँला जसरी नजिक आए । ‘हामीलाई यहाँको फोटो भिडियो लिक भयो भने माथिबाट स्पष्टीकरण सोध्छन्, कि अनुमति पत्र देखाउनुस्, कि फोटो डिलिट गर्नुस्,’ उनीहरूको माग थियो ।
‘पत्रकार हो, कार्ड छ, उप सचिवसँग सोधेरै फोटो खिचेको हो भन्ने प्रतिक्रियामा उनीहरूले विश्वास गरेनन्।’ उपसचिवको कार्यकक्ष अगाडीको झ्यालबाटै उनीहरूले थर्काएर मिश्रसँग कुरा गरे।
उपसचिव मिश्रले पुस्तकालयमा भएका पुस्तकको फोटो खिच्नु भनेको हो, उता पनि खिच्नुभएछ, भइहाल्यो नि त भनेर सम्झाएर पठाए। पछि कार्यकक्षमा पुगेपछि उनले भने, ‘म त यी सब कुराबाट टाढा छु । देख्नुभयो नि, फोटो खिच्न दिने अधिकार समेत मेरो हातमा छैन।’
यता पुनर्निर्माण पाटो सम्हालिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सम्पर्क गर्दा त्यो जिम्मेवारी आफ्नो नभएको दाबी गरे।
प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेका अनुसार केसर महलको जिम्मा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) लाई दिएको छ। उनले भने, ‘हामीलाई त्यताको काम के कस्तो चलिरहेको छ, थाहा छैन। यसबारे जानकारी चाहिन्छ भने, उतै सम्पर्क गर्नुस्।’
केन्द्रीय इकाई (भवन) मा सम्पर्क गर्दा त्यहाँको टेलिफोन उठेन।
भदौ १५, २०७८ मंगलबार १५:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।