प्रधानमन्त्री देउवालाई स्वास्थ्यमा विवादितै प्रिय

प्रधानमन्त्री देउवालाई स्वास्थ्यमा विवादितै प्रिय

काठमाडौँ : विवादित व्यवसायीलाई स्वास्थ्य राज्यमन्त्री बनाएर विवादमा तानिएका प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारीको सरुवामा हस्तक्षेप गर्दै विवादित चिकित्सक भूपेन्द्रकुमार बस्नेतलाई जिम्मेवारी दिएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि व्यावसायिक स्वार्थ बँझिने व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो। गठबन्धनमा रहेका अन्य दलका नेताले श्रेष्ठको नियुक्तिमा असन्तुष्टि जनाएपछि देउवाले सर्वदलीय बैठकमा अब यस्तो हुन्न भनेर माफी मागेका थिए। तर उनले युनिफाइड अस्पतालमा पनि विवादित पात्रै रोजे।

सोमबार मात्रै डा जागेश्वर गौतमको सरुवाको निर्णयसँगै सो पदमा डा रुद्र मरासिनीले जिम्मेवारी पाएका थिए। रातारात निर्णय परिवर्तन गर्दै वीर अस्पतालको पूर्व निर्देशक रहेका बेला भएका खरिदका विवादित पात्र बस्नेतको छनौट गर्दै मरासिनिको सरुवा बदर गराए।

बस्नेत वीरको निर्देशक हुँदा क्यान्सरको उपचारका लागि अत्यावश्यक भन्दै ३९ करोडमा किनिएको ‘टोमोग्राफी’ मेशिन अहिलेसम्म नचलेर सशस्त्र प्रहरीको अस्पतालको चौरमा छ। निर्देशकको पदावधि सकिने भएपछि उनले आवश्यक पूर्वाधार समेत नबनाई सो मेसिन किनेका थिए।

यो मेसिन २०७४ सालमा ३९ करोडमा लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिसँग किनेको थियो। ०७४ मा यो मेसिन किन्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति डा. गणेश गुरुङ थिए भने अस्पतालको निर्देशक डा. भूपेन्द्र बस्नेत थिए।

३९ करोडमा किनिएको वीरको मेसिन २ वर्षदेखि सशस्त्रको चौरमा 

फागुनमा उकेरासँग कुरा गर्दै बस्नेतले 'मेशिन खरिद प्रक्रिया आफ्नो पालामा सुरु भए पनि कहिले आइपुग्यो भन्नेबारे भने जानकारी नभएको' दाबी गरेका थिए।

तत्कालीन क्यान्सर विभाग प्रमुख डा. विवेक आचार्यले सो मेसिनका लागि निश्चित संरचना र मापदण्ड चाहिने र संरचना नै नबनाई मेसिन मात्र ल्याएर काम नहुने भन्दै असहमति राखे पनि बस्नेतले जवर्जस्ती टेन्डर गराएर मेसिन खरिद गराएका थिए। आफू निर्देशकबाट हट्नु अगाडि उनले आयातकर्तालाई ७० प्रतिशत भुक्तानी गराएर हिँडेका थिए।

बस्नेतको पालामा ३९ करोडमा खरिद गरेर सशस्त्रको चौरमा थन्काइएको ‘टोमोग्राफी’ मेशिन

एकै व्यवसायीको तीन वटा फर्ममा कोटेसन हाल्न लगाएर चल्तीको दर रेट भन्दा महँगोमा मेसिन खरिद गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनकोक्रममा छ। अनियमिततामा अख्तियारको छानबिनमै रहेका बस्नेतलाई नियुक्त गराए।

सोमबार दिउस स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मरासिनीलाई नियुक्तिको निर्णय गर्दै नियुक्ति पत्र दिएका थिए। सरकार बदलिएसँगै बस्नेत प्रमुख प्रशासकीय हुने दौडमा थिए। मरासिनीले नियुत्तीपत्र लिएर घर पुगे लगत्तै उनलाई नियुक्ति पत्र फिर्ता गर्न मन्त्रालयबाट निर्देशन आएको थियो।

प्रधानमन्त्रीको कार्यालयबाट नियुक्तिमा आपत्ति आयो भन्दै नियुक्ति पत्र फिर्ता गर्न निर्देशन आएपछि उनले मङ्गलवार पत्र फिर्ता गरेका थिए। मङ्गलवारै मरासिनीको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न स्वास्थ्य सचिवलाई निर्देशन आएको थियो। स्वास्थ्य मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले मरासिनीको स्थानमा बस्नेतलाई नियुक्तिको निर्णय भयो। मङ्गलवारै बस्नेतले पत्र पाए।

३९ करोडमा किनिएको ‘टोमोग्राफी’ मेशिन राख्ने ठाउँ जहाँ अझै बनाउने काम सकिएको छैन

१० औँ तहकालाई जिम्मेवारी

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रूपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा उल्लेख छ। बस्नेत १० औँ तहका हुन्।

युनिफाइडमा किन हानथाप !

सोमबार नियुक्ति पत्र सहित डा मरासिनी। 

केपी ‌ओली नेतृत्वको सरकारले ल्याएको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेशले वीर अस्पताललाई  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्ने व्यवस्था गरेको थियो।

केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीका रूपमा निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको कम्तीमा ११ औँ तहका अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाइने अध्यादेशमा उल्लेख छ।

युनिफाइड केन्द्रीय अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेसन, हार्ड डिपेन्डेन्सी युनिट (एचडियु) र  सघन उपचार कक्ष (आइसियु) लगायतको व्यवस्था गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवासमेत सञ्चालन गर्ने लगायतका अधिकार छन्।

डा जागेश्वरले २० करोडको मात्र ठेक्का लगाउन भ्याएका छन्। जागेश्वरको कार्यकालमा भएका ठेक्का समेत विवादित छन्। अन्य ठेक्का प्रक्रियामै छन्। पहिल्यैको खरिदमा बदनियत देखिएका बस्नेतलाई बाँकी ठेक्काको जिम्मेवारी सहित प्रधानमन्त्री देउवाले युनिफाइड अस्पतालको जिम्मेवारी सुम्पेका छन्।

साउन १९, २०७८ मंगलबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।