माओवादी महाधिवेशन : नेताहरूको सम्पत्ति खोजी गर्नुपर्ने माग 

माओवादी महाधिवेशन : नेताहरूको सम्पत्ति खोजी गर्नुपर्ने माग 

महाधिवेशनमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल गर्दै प्रतिनिधिहरूले नेताहरूको सम्पत्ति खोजी गरेर सामूहिकतामा लैजानु पर्ने माग गरेका हुन्। 

माओवादीको किसान सङ्घका उपाध्यक्ष केशव बरालले कार्यान्वयनमा आउन कठिन रहेको भन्दै सम्पत्ति खोजी गरेर सामूहिकतामा लैजानु पर्ने माग गरेका हुन्।

‘मैले उठाएको यो विषय कतिको कार्यान्वयन हुन्छ थाहा छैन, तर पार्टीका साथीहरूको सम्पत्ति खोजी गरेर सामूहिकतामा लैजानुपर्छ’,उनले भने,‘यसलाई नमुनाका रूपमा देखाउँदै आमजनतामा जानुपर्छ।’ 

उनले प्रचण्डको राजनीतिक प्रतिवेदन नजानिँदो परिवर्तनकारी रहेको उल्लेख गरे। भुईँ तहको मान्छेलाई आर्थिक रूपले सबल बनाउने र समाजवादमा जाने प्रस्तावना रहेको प्रतिवेदनमा रहेको उनले बताए।

वीरगन्जका प्रतिनिधि रहवर अन्सारीले प्रचण्डको प्रतिवेदन प्रगतिशील रहेको बताए। प्रतिवेदनमा हरित क्रान्तिको विषय छुटेको र थप गर्न सुझाव दिएको उनले सुनाए। 

ललितपुरका गणेशबहादुर गुरुङले माओवादी स्थापनाको उद्देश्य अनुसार चल्न नसकेको बताए। माथिकालाई मात्रै ‘जय’ गर्ने नभई सबैलाई उज्यालो दिन सक्नु पर्ने उनले बताए। उनले माओवादी नेताहरूमा अब सद्बुद्धि आउनु पर्ने बताए।

माओवादी झापाका प्रतिनिधि उद्धव पोखरेलले माओवादीको  चरित्र बिग्रिएको सुनाए। कलकारखाना कब्जा गरेर बेरोजगारलाई रोजगारी दिने भने पनि त्यसो हुन नसकेको पोखरेलले सुनाए।

प्रचण्डले प्रतिवेदनमा आत्मालोचना गरे पनि फेरि चरित्र बिग्रन नहुने उल्लेख गरे। धनी र गरीबबीच खाडल रहेको भन्दै पार्टीभित्र अरबपति र खर्बपति रहेको बताए। उनले प्रचण्डको राजनीतिक प्रतिवेदनमा पार्टी जीवनको निर्ममतापूर्वक समीक्षा गरिएको दाबी गरे।

पुष १३, २०७८ मंगलबार १७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।