माओवादी महाधिवेशन : प्राकृतिक र युद्धका घाइतेको अधिकार बराबर 

माओवादी महाधिवेशन : प्राकृतिक र युद्धका घाइतेको अधिकार बराबर 

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शान्ति सम्झौतापछि पार्टीमा क्रियाशीलहरू प्रतिनिधि बनेका छन्।

माओवादीको १० वर्षे सशस्त्र युद्धमा लागेकाहरूलाई सहयोग गर्ने गोरखाकी इन्द्रमाया गुरुङ पनि माओवादीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि चुनिएर आएकी छन्। 

गोरखाकी गुरुङ २०६४ सालको संविधान सभामा सदस्य थिइन। उनी अहिले माओवादीको अपाङ्गता सङ्गठन नेपालकी संयोजक छिन्। उनी सशस्त्र युद्धमा झोलै बोकेर लागेकी होइनन्। ‘अरू साथीहरू जस्तो युद्धमा झोलै बोकेर लागेकी होइन’,गुरुङले उकेरासँग भनिन्,‘युद्धमा लागेर अपाङ्गता भएको पनि होइन, साथीहरूलाई सहयोग भने गरेकी हुँ।’ 

महान् जनयुद्धको नाम दिइएका तस्बिरहरूको शृङ्खलामा इन्द्रमाया छैनन्। तर, उनी अपाङ्गता सङ्गठन नेपालबाट माओवादीको प्रतिनिधि बनेकी छन्। २०६४ सालको संविधान सभा चुनावमा उनले सदस्य हुने अवसर समेत पाइन्। 

माओवादीको ढुङ्गो मात्रै उठाउँदा पनि भोट आउने वातावरण थियो त्यस बेला। पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेर २०७० सालमा भएको संविधान सभाको दोस्रो चुनावमा माओवादीमा लागेका सबैले अवसर पाएनन्। त्यो अवसर नपाउनेमा इन्द्रमाया पनि एक हुन्। 

पार्टी टुक्रा टुक्रा भएकोमा इन्द्रमायालाई खासै चिन्ता छैन। पार्टी टुक्रा टुक्रा पारेर जाने साथीहरूको पुच्छर नलागेको बताउँछिन् इन्द्रमाया। स्कुले जीवनबाट माओवादीमा आस्था राखेको बताउने इन्द्रमायाले भनिन्,‘पार्टी टुक्रा भयो, जाने साथीहरूसँग पुच्छर लागेर गइएन, उनीहरूले घाइते, बेपत्ता साथीहरूलाई कहिले सम्झिनु हुँदैन।’ 

सशस्त्र युद्धका सहिद, घाइते र बेपत्ता भएका व्यक्तिलाई सम्झिने पुष्पकमल दाहाल प्रचण्डले नै हो भन्छिन् उनी। उनी माओवादीमा लागेर स्थानीय तहको चुनावमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गराउने अभियानमा छिन्। 

२०७२ सालमा जारी संविधानले स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व नभएको भन्दै अब हुने स्थानीय तहको चुनावमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व गराउने अभियानमा रहेको उनले बताइन। 

स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म अपाङ्गता भएका व्यक्तिको समावेशी समानुपातिक प्रतिनिधित्वको आवाज उठाउने काम अपाङ्गता सङ्गठन नेपालले गर्दै आएको उनले सुनाइन। तर, अपाङ्गता सङ्गठन नेपालले नै पदाधिकारी चुन्न सकेको छैन। 

अधिवेशन स्थगित गरेर संयोजक भएकाले इन्द्रमाया भने माओवादीको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि भएकी छन्। उनी पोलियोका कारण अपाङ्गता भएकी माओवादीकी प्रतिनिधि हुन्। 

उनी घाइते र प्राकृतिक अपाङ्गता भएकालाई समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने बताउँछिन्।

पुष १२, २०७८ सोमबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।