१२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई भोलिबाट खोप
काठमाडौंः सरकारले भोलिबाट १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। ५७ जिल्लामा यो खोप अभियान भोलिदेखि १४ गतेसम्म चलाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विद्यार्थीलाई मोडर्ना खोपको पहिलो मात्रा दिइनेछ। प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुरमा खोप दिइने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लामा खोप लगाइनेछ।
बागमती प्रदेशअन्तर्गत दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिइनेछ। गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वतमा साथै लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दियामा खोप दिइनेछ।
कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लामा खोप लगाइनेछ।
यी जिल्लामा दोश्रो चरणको खोप अभियान माघ २ देखि १२ गतेसम्म सञ्चालन हुनेछ।
पुष ३, २०७८ शनिबार १६:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।