नेपाल आएका दुई विदेशी नागरिकमा ओमिक्रोन पुष्टि
काठमाडौंः नेपालमा पनि कोभिड–१९को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै दुई विदेशी नागरिकमा सो भरियन्ट पुष्टि भएको बताएको हो।
मन्त्रालयका अनुसार ओमिक्रोन पुष्टि भएको देशबाट आएका एक ६६ वर्षीय बिदेशी नागरिक र उनको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन देखिएको हो। ती ६६ वर्षीय व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको र उनले नेपाल प्रवेशका दौरान पीसीआर टेस्ट र खोपको पूरा मात्रा लगाएको मन्त्रालयले जानकारी दिएको छ।
उनीहरूलाई मङ्सिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएका थिए। त्यसपछि परीक्षण गर्दा उनीहरूमा कोभिड–१९ को नतिजा पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
‘कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको ‘एस–जिन’ परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवै जनाको नमुनामा ‘एस–जिन’ फेला परेको थिएन,’ मन्त्रालयले भनेको छ, ‘एस–जिन फेला नपरेका उक्त दुवै नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु (एनपिएचएल) जिन सिक्वेन्सिङ गर्दा मिति २०७८ मङ्सिर १९ गते राति कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपालमा पहिलो पटक पुष्टि भएको छ।’
अहिले ओमिक्रोन संक्रमित दुवै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले उनीहरूमा कुनै लक्षण देखिएको छैन। उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन्।
यस्तै उनीहरूको सम्पर्कमा आएकाहरूको बृहतरूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको मन्त्रालयको भनाइ छ। कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त भएका ६६ जनाको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयको भनाइ छ।
यो भेरयन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको मन्त्रालयले जनाएको छ।
मंसिर २०, २०७८ सोमबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।