वीरसहितका अस्पतालमा २४सै घण्टा खाेपकाे व्यवस्था: स्वास्थ्यमन्त्री खतिवडा
काठमाडाैंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विराेध खतिवडाले काेरोनाविरुद्धको खोप लगाउन पालो कुर्न नपर्ने बताएका छन्। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जारी फाइजरकाे खाेप अभियान निरीक्षण गर्नेक्रममा उनले यस्ताे बताएका हुन्।
उनले खोपको अभाव नरहेकाले जुनुसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए। 'अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन', मन्त्री खतिवडाले भने, 'सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन्।'
उनका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल प्रहरीकाे अस्पतलामा २४सै घण्टा सर्वसाधारणलाई खोपको व्यवस्था गरिएको छ।
मन्त्री खतिवडाले केही दिनपछि अन्य जिल्लामा पनि जुनसुकै बेला सर्वसाधारणले खोप लगाउन सक्ने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए। उनले फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको बताए।
मन्त्री खतिवडाले एक महिनापछि १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई पनि फाइजर खोप प्रदान गरिने बताए। उनले सरकारले ६० लाख फाइजर खोप ल्याउन अन्तिम तयारी गरेको पनि बताए।
यस्तै स्वास्थ्यकर्मीलाई जाेखिम भत्ता दिन पनि तयारी थालेकाे उनले बताए।
मंसिर २, २०७८ बिहीबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।