वैदेशिक रोजगारबाट आउने नेपाली यसरी फस्छन् सुन तस्करीमा

वैदेशिक रोजगारबाट आउने नेपाली यसरी फस्छन् सुन तस्करीमा

काठमाडौँ : कात्तिक १४ गते उच्च अदालत पाटनमा ‘सुन चोरी पैठारी गरी राजस्व चुहावट’ गरेको आरोपमा भारतीय नागरिक शाकिर अली, अब्दुल सत्तार, प्यार मोहम्मद र राकेश राई विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता भयो।

साउन २० गते सिनामंगलमा रहेको मिर्चया मल्हानियों गेस्टहाउसको कोठा नम्बर २०२ बाट महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

प्रहरीले कोठाभित्र फेला पारेका पाँच वटा सुटकेसमध्ये अङ्ग्रेजीमा स्यादजी लेखिएको कालो रङको सुटकेसभित्र रातो कालो रङको अमेरिकन टुरिजम लेखिएको पछाडि भिर्ने ब्याग फेला पर्यो।

उक्त ब्यागभित्र सिल्भर कलरको पोलिस लगाएको बेरिएको रोल तीन थान थियो। रोल घोटेर हेर्दा सुन जस्तो देखियो। त्यस्तै झोलाभित्र गोल्डेन कलरको कफी ग्राइण्डर मेसिनभित्र सिल्भर कलरको पोलिस लगाइएको धातुको टुक्रा दुई थान भेटियो। यसलाई पनि घोटेर हेर्दा सुन जस्तो देखियो।

सोही झोलाभित्र रहेको डिएन्डजी लेबल रहेको निलो रङको पाइन्टको अगाडि दायाँतर्फको सानो पकेटमा पनि सिल्भर कलरको पोलिस लगाएको २ सय ३३ ग्राम सुन भेटियो।

सोही पाइन्टमा बेल्ट बाँध्ने भागको सिलाइभित्र ८ सय ४० ग्राम सुन भेटियो।

जम्मा बरामद भएको बेरिएका रोलहरू थान ८, पाता थान १ र टुक्रा थान २ को जम्मा तौल १ केजी ८ सय ६६ ग्राम सुन प्रहरीले फेला पार्यो।

काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घमा ती वस्तु परीक्षण गर्दा सबै सुन नै रहेको पुष्टि भएपछि पक्राउ परेकाहरूले सुनका टुक्रा, रोल तथा पातामा सिल्भर कलर लगाई ब्याग, कफी ग्राईण्डर मेसिन, जिन्स पाइन्टको गोजी र बेल्ट बाँध्ने भागमा लुकाएर ल्याएको खुल्यो।

प्रहरीले उनीहरूको साथबाट १ हजार ८ सय ६४.८ ग्राम सुन जस्तो देखिने पहेँलो धातु र भारतीय रुपैयाँ ५ सय दरका २ सय ११ थान नोट फेला पार्यो।

अनुसन्धानको क्रममा राकेश राईले संयुक्त अरब इमिरेट्सबाट आउने व्यक्तिहरूमार्फत सो सामान पठाएको बताए। प्रहरीले काठमाडौँ जडीबुटीबाट राकेश राईलाई पनि पक्राउ गर्यो। शाकिर अली, अब्दुल सत्तार र प्यार मोहम्मद गरी ४ जनालाई १ हजार ८ सय ६४.८ ग्राम सुन, १,०५,५००  भारतीय रुपैयाँ सहित महानगरीय अपराध महाशाखाले २१ साउनमा नै राजस्व अनुसन्धान विभागमा मुद्दा दर्ता गर्यो।

शाकिर अली, अब्दुल सत्तार र प्यार मोहम्मदसँग राजस्व अनुसन्धान विभागले बयान लियो। बयानको क्रममा उनीहरूबाट विभागले बिल बिजक वा भन्सार प्रज्ञापन पत्र विनाको परिमाणको सुनजस्तो देखिने पहेँलो रङको धातु र नगद बरामद भएको प्रमाणित भयो।

गनीले दिएका थिए सुन

अनुसन्धानमा संयुक्त अरब इमिरेट्समा रहेका गनी नाम गरेका व्यक्तिले नेपाल आउने नेपालीका साथमा सुन पठाउने गरेको खुल्यो। उनले सुटकेसभित्र ब्यागमा वा सुटकेसभित्र सिलाएर राखिएको भागमा वा हेयर ड्रायर, इलेक्ट्रिक केल्ली आदिभित्र सिल्भर कलरको लेप लगाई सुन राखी नेपाल पठाउने  गरेका थिए।

उनले जसको साथमा सुन सहितको सामान पठाउने हो उसको फोटो नेपालमा रहेका राकेश राईलाई ह्वाट्सएपमा पठाउने गरेका थिए।  सुन बोकेर आउने व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि राकेशले सुन बुझ्ने र उनले शाकिर अलीलाई दिने गरेको पक्राउ परेका अभियुक्तहरूको बयानका खुल्यो।

अनुसन्धानमा खुलेको कल डिटेल्स रिपोर्टको अध्ययनमा शाकिर अलीले प्रयोग गर्ने गरेको नेपालको मोबाइल नम्बर र संयुक्त अरब इमिरेट्समा रहेका गनी नाम गरेका व्यक्तिले प्रयोग गर्ने गरेको र ११ जुलाईदेखि ४ अगस्ट (मिति २०७८/०३/२७ देखि २०७८/०४/२०) भित्र यी दुबैबिच ८ दिनमा २५ पटक सम्पर्क भएको देखियो।

यस अवधिमा उनीहरूको करिब ७० मिनेट कुराकानी गरेका थिए। यसबाट सुन ओसारपसार गर्न पटक पटक मोबाइलबाट कुराकानी भएको देखियो।

शाकिर अलीले प्रयोग गर्ने गरेको मोबाइल र राकेश राईले प्रयोग गर्ने गरेको मोबाइलबाट २९ जुलाइदेखि ४ अगस्टभित्र ६ दिनमा ३३ पटक सम्पर्कमा भएर करिब २६ मिनेट कुराकानी भएको देखियो।

उनीहरूले फोनमार्फत एकआपसमा सम्पर्क गरी एयरपोर्टबाट आएका व्यक्तिहरूले ल्याएको लगेज व्यवस्थापन गरी सुन लिएको तथ्य खुल्यो।

भन्सार ऐन, २०६४ (संशोधन सहित) को दफा २(च) ले भन्सार महसुल लाग्ने मालवस्तु भन्सार महसुल नतिरी, लुकाई छिपाइ वा बाटो छली वा भन्सार महसुल नलाग्ने मालवस्तु भए पनि यस ऐन बमोजिम घोषणा नगरी नेपालभित्र ल्याउने कार्यलाई भन्सार चोरी पैठारीका रूपमा परिभाषित गरेको छ।

साथै मूल्य अभिवृद्धि कर ऐन, २०५२ (संशोधन सहित) तथा नियमावली, २०५३ (संशोधन सहित) ले समेत माल वस्तुका साथमा अनिवार्य रूपमा बिल बिजक रहनुपर्ने व्यवस्था गरेको छ।

उनीहरूको साथबाट बरामद भएको सुनको बिल, बिजक वा भन्सार प्रज्ञापन पत्र लगायतका कागजात बरामद भएको बरामद मुचुल्कामा नदेखिएको सुनको बिल बिजक, भन्सार प्रज्ञापन पत्र, राजस्व तिरेको निस्सा प्रमाण केही पनि नभएको तथा सुन संयुक्त अरब इमिरेट्सबाट गनी नाम गरेका व्यक्तिले पठाएको भनी उनीहरूले गरेको बयान अनुसार सुन अवैध रूपमा ओसारपसार भएको पुष्टि भएको अनुसन्धानले देखायो।

पेसेवर तस्कर शाकिरको खुल्यो अर्को तथ्य

अनुसन्धानको क्रममा शाकिर अली पेसेवर सुन तस्कर रहेको अर्को तथ्य पनि फेला पर्यो। उनको मोबाइलको फरेन्सिक परीक्षण भयो। प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबबाट प्रतिवेदन प्राप्त भएपछि २०१९/०९/२४ मा नै शाकिर अलीबाट बरामद भएको भारतीय रुपैंया ८८ लाख सुनको कारोबारबाट आर्जित रकम भनी जफत भएको फैसलाको प्रतिलिपि समेत फेला पर्यो।

दुबईबाट काठमाडौँ आएका शंकरकुमार साह लगायतको बोर्डिङ पास, रमेश साह सुढी समेतको हवाई टिकट, यज्ञराज बुढा समेतको पासपोर्ट समेतका सम्बन्धमा शाकिर अलीले अस्वीकार गर्न सकेनन्।

ह्वाट्सएप एकाउन्टमा भएको वार्तालापमा सुटकेसका साथमा यात्रामा निस्कन लागेका ४ जना मानिसका छुट्टाछुट्टै फोटा, सुनका जस्ता देखिने ६ वटा टुक्राका फोटोका आधारमा शाकिर अली सुन तस्करीमा पेसेवर व्यक्ति भएको भन्दै भारतमा बरामद ८८ लाख भारु जफत भएको थियो।

उक्त रकम सुनको अवैध ओसारपसार र हण्डीको कसुरमा समेत छानबिन गरेर अदालतले सोही अनुसार फैसला गरेको थियो।

यसरी ठुलो मात्रामा नगद जफत हुनु, निजको मोबाइलबाट सुनका टुक्राहरू रहेको फोटा फेला पर्नु र सुटकेस तथा विभिन्न व्यक्तिहरूको बोर्डिङ पास, हवाई टिकट, पासपोर्ट निजको मोबाइलबाट फेला परेको देखिएकाले निज लामो समयदेखि नेपाल तथा भारतमा सुनको तस्करीमा संलग्न भएको पुष्टि भयो।

उनले ठुलो आर्थिक लाभ प्राप्त गरी सुन तस्करीजन्य कार्य गर्ने गरेको पुष्टि हुन आएको अनुसन्धान प्रतिवेदनले उल्लेख छ।

एक पटक सामान लिइदिएको एक हजार

राकेश राईले बयानमा खुलाए अनुसार शाकिर अलीले एक पटक सामान रिसिभ गरे बापत एक हजार नेपाली रुपैयाँ दिने गरेका थिए।

उनको बयानबाट विदेशबाट आउने व्यक्तिहरूले लगेज शाकिर अलीलाई जिम्मा लगाउने गरेको देखियो। साथै शाकिर अली बस्ने गेस्टहाउसबाट राईले जिम्मा लगाएका सुटकेसबाट सिल्भर लेप लगाएको सुन फेला परेका कारण राईको सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्यार मोहम्मद र अब्दुल सतारले दैनिक भारु ५ सय ज्याला पाउने गरी भारतबाट शाकिर अलीले ल्याई उक्त कार्यमा लगाउने गरेको भने तापनि उनीहरू बस्ने गेस्टहाउसबाट सुन फेला परेकोले नियोजित रूपमा उनीहरू सुन तस्करीमा संलग्न रहेको पुष्टि भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।

दुबईमा तस्करसँग भेट

सुन ओसारपसार संलग्न गनी नाम गरेका व्यक्ति भारतीय मूलका हुन्। उनी संयुक्त अरब इमिरेट्समा छन्।

सुन ओसारपसार गर्ने व्यक्तिहरू खोज्ने सिलसिलामा दुबईमा पहिल्यै भेटघाट भई हाल नेपालमा रहेका नेपाली नागरिक राकेश राई तथा भारत राजस्थानका शाकिर अलीसमेतलाई भारतबाट नेपालको काठमाडौँसम्म एहमद रजाक, मोहम्मद आरिफ र नामुद हुसेनले ल्याएर सुन सङ्कलन गरेर भारतसम्म लैजाने प्रयोजनका लागि काम लगाएको अनुसन्धानमा देखिएको थियो।

पोके तस्करीको बिगबिगी

ठुलो मात्रामा हुने सुन तस्करीका एकपछि अर्को घटना खुलेपछि पछिल्लो समय तस्करीमा संलग्नहरूले विदेशबाट नेपाल फर्कने नेपालीहरूलाई यसरी नै सुन बोकाएर पठाउने र उनीहरूलाई थोरै रकममै प्रभावमा पारेर सुन तस्करी गर्ने गरेको देखिन्छ।

प्रहरीले बारम्बार विमानस्थल बाहिर बसेर सुन सङ्कलन गर्नेहरूलाई पक्राउ गर्ने गरे पनि तस्करीको यो शैली अझै भत्किएको छैन। यस्तो तस्करीमा दुबईमा बसेका नेपालीहरू समेत संलग्न रहेको खुल्ने गरेका थिए।

यस घटनाले भारतीय तस्करहरूले समेत नेपाली नागरिकलाई प्रलोभनमा पारेर तस्करीमा प्रयोग गर्ने गरेको देखियो।

मंसिर १, २०७८ बुधबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।