विवादमा प्रहरीको युएन मिसन : सुडानबाट फर्किएको छ महिनामै कङ्गो मिसनमा छानिइन् डिएसपी गुरुङ

विवादमा प्रहरीको युएन मिसन : सुडानबाट फर्किएको छ महिनामै कङ्गो मिसनमा छानिइन् डिएसपी गुरुङ

काठमाडौँ : नेपाल प्रहरीकी डिएसपी शर्मिला गुरुङ संयुक्त राष्ट्र सङ्घीय मिसनबाट फर्किएको ६ महिना मात्रै भयो। उनी सुडान मिसनमा १० महिना बसेर २०२१ जुनमा फर्किएकी थिइन्। मिसनबाट फर्किएकालाई तीन वर्षसम्म अर्को मिसनमा नपठाउने नीति भए पनि उनको नाम पुन कङ्गो मिसनमा छनौट भयो।

उनी सन् २०२० सेप्टेम्बरमा सुडान गएकी थिइन्। मिसनमा सहभागी हुन उनले अन्तर्वार्ता समेत दिइसकेकी छिन्। सुडान मिसनमा जान उनीसँगै सबै परीक्षा उत्तीर्ण भएका कतिपय भने मिसनै जान पाएनन्। समय अवधिका कारण मिसनै रद्द भयो।

उनीसँगै मिसनबाट फर्किएकाहरूलाई प्रहरी प्रधान कार्यालयले काठमाडौँ बाहिर पोस्टिङ गरे पनि उनलाई ६ महिनामै अर्को मिसनमा लागि छनौट गरेपछि अहिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरीको युएन शाखा प्रमुख एसपी गङ्गा पन्त विवादमा तानिएका छन्।

उनीसँगै सुडान मिसनमा गएका डिएसपी समीर खरेल ६ महिनामै फर्कन बाध्य भएका थिए। कोरोनाका कारण उनको निधन भयो। उनी भने सुडान मिसनमा १० महिना बसिन्।

एक पटक मिसनमा गएर फर्किएर आएकालाई तीन वर्षपछि पुन भाषा परीक्षा स्याटमा सहभागी गराएर उत्तीर्ण भएपछि मात्र मिसनका लागि छनौट गर्ने गरिन्छ। अन्तर्वार्तामा उत्तीर्ण भएमा र क्रम आएमा मात्र उनीहरू मिसनमा जान पाउँछन्। तर उनी भने फर्किए लगत्तै छनौट भएपछि प्रहरी नेतृत्वले नै भेदभाव गरेको भन्दै सङ्गठनमा असन्तुष्टि बढेको छ।

अहिले कङ्गो मिसनमा प्राविधिक प्रहरी उपरीक्षक डा. संज्ञा मल्लको नेतृत्वमा ५ महिला र १ पुरुष सहित ६ जना कार्यरत छन्। सो टोली ३ महिना पछि २०२२ जनवरीमा नेपाल फर्किने छ। त्यसपछि जाने टोलीमा शर्मिला समेत छानिएकी हुन्। अन्य पाँच जना भने यस अगाडि मिसन नगएकाहरू छन्।

शर्मिला यस अगाडि सामाखुसीको रानीवारिमा रहेको नेपाल प्रहरी स्कुलको प्रमुख हुँदा फेसबुक पोस्टको निहुँमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय कुन्दन थापा मगरलाई शनिवार स्कुलमा बोलाएर केरकार गर्दा विद्यार्थीले स्कुलको तेस्रो तलाबाट हाम फालेर आत्महत्या गरेका थिए।

त्यो बेला उनलाई कारबाहीका लागि विद्यालयबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो। तर कारबाही भएन। उनीसँगका ब्याचमेटहरुको पोस्टिङ काठमाडौँ बाहिर भए पनि उनी भने केन्द्रमै रहँदै आएकी छिन्।

प्रक्रिया मिचिएको छैन, विशेष परिस्थितिमा छनौट : एसपी पन्त

प्रहरी प्रवक्ता बशन्तबहादुर कुँवरले मिसनबाट फर्किएको तीन वर्षमा मात्र अर्को मिसनमा पठाउने नीति रहेको बताए। गुरुङको बारेमा आफूलाई धेरै जानकारी नभएको भन्दै उनले युएन शाखा प्रमुख एसपी गङ्गा पन्तसँग कुरा गर्न आग्रह गरे।

एसपी पन्तले प्रहरी सङ्गठनमा मिसन फर्किएर आएको तीन वर्षपछि अर्को स्याट परीक्षा पास भएपछि मात्रै छनौट गर्ने नीति रहेको स्वीकार गर्दै गुरुङको छनौट विशेष परिस्थितिमा भएको दाबी गरिन्।

उनी मिसनबाट आएको ६ महिना मात्रै भएको उनले बताइन्। पन्तको दाबी अनुसार कङ्गो मिसनमा पठाउने ६ जनाको सुचीमा पहिला डिएसपी गुरुङको नाम समावेश थिएन। मिसनमा २५ प्रतिशत महिला पठाउनुपर्ने राष्ट्र सङ्घको नीति अनुसार कङ्गोमा ६ जनानै महिला पठाउन नाम छनौट गरिएको तर अन्तिम अवस्थामा एक जनाले नजाने भएपछि पुन स्याट दिनु नपर्नेको खोजी गर्दा गुरुङ छनौटमा परेको उनको दाबी छ।

'मिसनबाट फर्किएर आएको २४ महिनाभित्र पुन मिसनमा जाँदा स्याट दिइरहनुपर्दैन। जान योग्य खोज्दा गुरुङ देखिइन्। एक जनाको कोटा किन खेर फाल्नु भनेर कङ्गो मिसनसँग संयोजन गरेर उनको नाम राखिएको हो,' एसपी पन्तले भनिन् ' उनको नाम पर्दैमा मिसन जान पाउने भन्ने हुन्न। अन्तर्वार्तामा सहभागी भएको हो। अन्तर्वार्ता उत्तीर्ण भए मात्र जान पाइन्छ।'

कात्तिक १२, २०७८ शुक्रबार १८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।