मदन पुरस्कार विजेता इङ्नामको दावी- पृथ्वीनारायण शाह र प्रतापसिंह शाह मरेका होइनन्, मारिएका हुन सक्छन्

मदन पुरस्कार विजेता इङ्नामको दावी- पृथ्वीनारायण शाह र प्रतापसिंह शाह मरेका होइनन्, मारिएका हुन सक्छन्
तस्बिर : कृष्पा श्रेष्ठ

मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नाम दावी गर्छन्, ‘पृथ्वीनारायण शाहको हत्या भएको हुनसक्छ।’ उनका अनुसार पृथ्वीनारायण शाहका जेठा छोरा प्रतापसिंह शाह पनि मरेका होइनन्, मारिएका हुन सक्छन्। 

इङ्नामले त्यसै यस्तो दावी गरेका होइनन्। उनका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेको सरकारी पत्रले पनि पृथ्वीनारायण शाह र उनका जेठा छोराको मृत्यु प्राकृतिक नभएको जनाउँछ।

एकैछिन इङ्नामकै कुरा गरौं।

इङ्नामले २०२९ सालमा एसएलसी दिएपछि हो इतिहासमा रुचि देखाएको। त्यो पनि लोकसेवाको तयारीका क्रममा। त्यसबेला उनले बालचन्द्र शर्माको ‘२००८ सालमा नेपालको अतिरिक्त रूपरेखा’, ‘नेपालको संक्षिप्त इतिहास’, शंकरराज वंशीको ‘पुरातत्त्व संङ्ग्रह’, योगी नरहरीनाथको ‘ऐतिहासिक सन्धिसंग्रह’, बाबुराम आचार्यको ‘पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’, ‘पृथ्वीनारायण शाहको दिव्य उपदेश’, ‘गोपाल वंशावली’, ‘विजयपुरको किराँतकालिन इतिहास’ लगायतका पुस्तकहरू पढे।

‘अहिले जस्तो लोकसेवाको पाठ्यक्रमलाई ठिक्क हुने पाठ्यपुस्तक पाइँदैनथ्यो,’ इङ्नामले भने, ‘सबै पुस्तक पढ्नुपर्ने हुँदा धेरै कुरा थाहा पाइयो।’ यिनै किताब पढेर शाखा अधिकृतमा नाम पनि निकाले इङ्नामले।

त्यसपछि सरकारी जागिरको भोक त हरायो, तर सुरु भयो इतिहासको भोक। उनी लिम्बुहरू कहाँ बाट आए? लिम्बूको इतिहास के हो? नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरे भनिन्छ यसमा अन्य जातको भूमिका के रह्यो? किन लेखिएन अन्य जातको इतिहास? यिनै प्रश्नले इङ्नामलाई घेर्न थाल्यो।

तेह्रथुमको आठराईमा २०१३ सालमा जन्मिएका इङ्नामलाई काठमाडौं वरपरको इतिहास मात्रले चित्त बुझेन।

जागिरे जीवनले उनलाई धेरै ठाउँ घुमायो। अवकाश हुनुअघि इङ्नाम धनकुटाको प्रमुख जिल्ला अधिकारी थिए। त्यहीबीच केही इतिहासका लालमोहर संङकलन पनि गरे।

‘लिम्बूवानको ऐतिहासिक रूपरेखा भन्ने पुस्तकमा २०४२ सालमा धेरै लालमोहर देखेको थिएँ’, उनले भने, ‘त्यतिबेलै दिमागमा सेट भयो लालमोहर जम्मा पार्न पर्छ भनेर।’

इङ्नाम पनि सुब्बाको छोरा। घरमा पनि लालमोहर थिए। तर एकपटक आगलागी हुँदा धेरै लालमोहर नासिए।

६० वर्षको उमेरमा पहिलो पटक विभेद भोगे

इङ्नामको गाउँमा कुमाइ बाहुनको बाहुल्य थियो। उपाध्याय बाहुन र लिम्बूहरूको पनि बस्ती थियो।

कुमाइको बाहुल्य भएको हुँदा उपाध्याय बाहुन र लिम्बूहरू एक भएका थिए। त्यसैकारण स्कुले जीवनमा इङ्नामले जातीय विभेद भोगेनन्।

‘पक्ष विपक्ष लिनुपर्दा उपाध्याय बाहुन र लिम्बु एकातिर कुमाइ अर्कोतिर हुन्थे’, उनले भने, ‘त्यतिबेला घरमा बस्दा होस् या विद्यालय जाँदा मैले जातीय विभेद महसुस गरिनँ।’

यता जागिरको क्रममा पनि संगत क्षेत्री बाहुनकै भयो। तर उनले न विभेद गरे न त कहिल्यै विभेद महसुस नै गरे।

तर, जब ‘लिम्बुवानको ऐतिहासिक संङ्ग्रह’ पुस्तक प्रकाशन गर्न सरकारी कार्यालय धाउन थाले, इङ्नामले कहिल्यै नभोगेको विभेद तब महसुस गर्न थाले।

पुस्तक लेखनकै क्रममा इङ्नाम दस्ताबेज खोज्दै सरकारी कार्यलय पुगे। महानिर्देशकलाई पनि भेटे। इङ्नामले ‘पल्लो किराँत लिम्बूवान सम्बन्धी दस्ताबेज हेर्न र प्रकाशित गर्न पाउँ’ भनि निवेदन दिए।

निवेदन त दिए तर सहजै दस्ताबेज पाएनन्।

उनलाई दस्ताबेज हेर्न दिने कि नदिने भन्नेमा हाकिमहरूको बैठक नै बस्यो। हाकिमहरूबाट ‘निवेदनमा लेखिएका दस्ताबेज प्रकाशन गर्दा जातीय सद्भाव बिथोलिन्छ’, भन्ने जवाफ पाए।

इङ्नाम दस्ताबेज नपाएर खिन्न मात्र भएनन्, उनले ६० वर्षको उमेरमा जीवनमै पहिलो पटक जातीय सद्भाव बचाउने बहानामा विभेद महसुस गरे।

इङ्नामलाई अब भने बोल्न पर्छ भन्ने लाग्यो। भने, ‘म पनि प्रजिअ भएर अवकाश लिएको हुँ, के प्रकाशित गर्दा सद्भाव बिथोलिन्छ के प्रकाशित गर्दा सद्भाव बिथोलिदैन राम्रोसँग जानकार छु।’

यहीबीचमा प्रदेश १ को राजधानीको नामाकरणको विषयमा विवाद पनि बढिरहेको थियो। त्यसैकारण आफूलाई दस्ताबेज हेर्न दिएनन् कि भन्ने सोच्छन् इङ्नाम।

‘इतिहास लुकाएर जातीय सद्भाव रहँदैन’

जातीय सद्भाव बनाइराख्न जातको इतिहास लुकाएर सम्भव छैन भन्ने मान्यता राख्छन् इङ्नाम। उनका अनुसार हरेक जातका इतिहासलाई छलफलमा ल्याएर नयाँ नयाँ तथ्यबाट मात्रै सद्भाव कायम राख्न सकिन्छ।

उनले यही विचार ०७७ सालमा ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह’ प्रकाशन गर्दा प्रयोगमा ल्याए। भेटेजति लालमोहर, स्याहामोहर र रुक्काहरू जम्मा पारे।

राणा प्रधानमन्त्री, सरकारी अड्डाहरूबाट प्रदान गरिएका कास्यपत्रहरू, अर्जीपत्रहरू, रसीद, आदेशहरू, चिठीपत्र, इस्तीहार, टिपोट, कचहरीका निवेदनहरू, फिराद पत्र, सुब्बाहरूबीच भएको मुचुल्का, तमसुक, अमाली सुब्बाका फैसला जस्ता कागजात जम्मा गरे।

फलस्वरूप, त्यही पुस्तकले मदन पुरस्कार पायो।

इङ्नामले जति जति दस्ताबेज संङग्रह गर्दै गए, त्यति नै नयाँ तथ्य थाहा पाउँदै गए। उनले पुस्तकमा जस्ताको त्यस्तै ‘ओरजीनील कपी’ नै राखेर त्यसको अनुवाद पनि गरिदिएका छन्।

लिम्बुवान युद्ध भएकै हो

प्रजिअ हुँदा इङ्नामले ‘लिम्बू जातिको इतिहास’ लेखे। त्यस क्रममा दस्ताबेज संकलन गर्दा उनले थाहा पाए– लिम्बूवान जित्न त्यतिबेलाका शासकलाई हम्मे हम्मे परेको रहेछ।

इङ्नामका अनुसार इतिहास शिरोमणी बाबुराम आचार्यले उल्लेख गरे जस्तो अरुणमा युद्ध गर्दै पुगेको गोरखाली सेना देखेर लिम्बूहरू मिल्न आएका होइनन्।

आचार्यको पुस्तकमा भनिएको छ- विजयपुरको ठकुराइमा सेन राजाको पुस्तैनी दिवान वा चौतारा लिम्बू हुने नियम थियो। सो युद्धमा ८५ जना लिम्बूहरू खेत (मृत्यु) भए।

इङ्नाम यहीँ सहमत छैनन्। ‘युद्ध नभएको भए ८५ जना मारिन्थे?’, उनी प्रश्न गर्छन्।

उनका अनुसार १० सरदार लिम्बूहरू एकीकृत भई गोरखाली सेनालाई प्रतिरोध प्रत्याक्रमण गर्न सफल भए। गोरखाली र लिम्बू सेनाबीच भएको युद्धमा दुई पटकसम्म गोरखाली सेना हारे।

‘इतिहास शिरोमणीलाई मैले अपमान गरेको होइन’, इङ्नामले भने, ‘पृथ्वीनारायण शाहको राज्य विस्तार गर्ने क्रममा सहजै लिम्बूवान आएको होइन, युद्ध भएको थियो भन्ने प्राप्त दस्ताबेजले बताउँछ।’

इङ्नामको दाबी छ, १० सरदार लिम्बूलाई फुटाउन गोरखाली सेनाले कुटनीतिक चाल रचेका थिए। र सफल पनि भए। १० मध्ये पाँच गोरखातिर मिले भने पाँच लिम्बू मिल्न अस्वीकार गरे। 

१८३१ मै पितापुर्खाले भोग्दै आएको खाइन पाइन दिने सर्तमा राजा पृथ्वीनारायण शाहले लालमोहर प्रदान गरे। स्वतन्त्र लिम्बूवान हुनुपर्छ भन्नेहरू सिक्कीमको सहयोगमा १८८३ सम्म छापामार युद्ध लडिरहे।

‘ठ्याक्कै लिम्बूवान एकैपटकमा मिल्यो भनेर इतिहासकारहरूले लेख्नु गम्भीर त्रुटी हो’, इङ्नाम भन्छन्, ‘यो तथ्य सरकारी कागजातमै भएको लालमोहर हो किन वेवास्ता गरियो अचम्म लाग्छ।’

अनि संस्कृतिमाथि आक्रमण सुरु भयो

इतिहासकारहरू कतिपयले पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्छन् कतिले कटु आलोचना। तर इङ्नाम न कटु आलोचक हुन् न त समर्थक नै।

‘पृथ्वीनारायण शाह जस्ता चलाख र बुद्धिमानी मान्छे नेपालमा न उनीअघि जन्मिए न त अहिलेसम्म नै जन्मिएका छन्’, उनले भने।

शाहले गोरखा राज्य विस्तारको लागि चालेको रणनीतिबाट आफू पनि प्रभावित भएको बताउँछन् इङ्नाम।

‘उनी बाँचिरहेको भए संस्कृतिमाथि आक्रमण गर्थे गर्थेनन् यसै भन्न सक्दिनँ, काठमाडौंलाई हेर्दा नगर्न पनि सक्थे,’ उनी भन्छन्, ‘अल्पायुमै बिते, त्यसकारण पृथ्वीनारायण शाहको आलोचना गर्नु उपयुक्त ठान्दिनँ।’

उनका अनुसार लिम्बुहरूको संस्कृतिमा गाई, चौरी गाईको भोगबलि दिइन्छ। सेनकालबाटै केही लिम्बूहरू हिन्दु धर्म मान्थे। शाहकालमा १८४३ सालमा लालमोहरबाट गोवध निषेध गरिएकोबाट उनीहरूको संस्कृतिमा दमन गरेको पुष्टी हुने आधार भेटिएको इङ्नाम दाबी गर्छन्।

त्यस्तै लिम्बूहरूको किपट जग्गा पनि थियो। सो जग्गा रैकरविहीन थियो तर यहाँ शाह राजाहरूले अर्को बदमासी गरेको इङ्नाम बताउँछन्।

लिम्बुहरूलाई थुमथुमका १०/१२ किपट खेत सरकारमा चढाई पतिया लिन बाध्य पारियो भने हिन्दु धर्म मान्ने लिम्बुलाई छुट दिइयो। त्यस्तै जातमा वर्गीकरण गर्ने र फुट ल्याउन १० थर लिम्बु भनेर चोइट्याउन खोजेको पनि दस्ताबेजमा रहेको उनले बताए।

पृथ्वीनारायण शाहको हत्या भएको हुन सक्छ

पृथ्वीनारायण शाहको निधन १८३१ को माघमा भएको हो। तर इङ्नामको दाबीलाई मान्ने हो भने त्यो मिति पृथ्वीनारायण शाहको निधन भएको होइन, हत्या भएको हो।

इङ्नाम भन्छन्, ‘परराष्ट्र मन्त्रालयबाट हस्तान्तरण भई राष्ट्रिय अभिलेखालयमा रहेको पत्रमा पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहको स्वभाविक निधन होइन हत्या भएको हुन सक्ने देखिन्छ। यत्रो सरकारी दस्ताबेजलाई इतिहासकारहरूले किन वेवास्ता गरे?’

इङ्नामका अनुसार प्रतापसिंह शाहको निधनपछि त केही भारदारहरू पक्राउ पनि परेका थिए।

‘मैले प्राप्त गरेको टिपोटअनुसार पृथ्वीनारायण शाह बिरामी भएको आठौँ दिनमा बितेका थिए। त्यस टिपोटमा राजाद्वयको निधनमा शंका उपशंका गरिएका छन् भने प्रतापसिंह शाहका मृत्यु सम्बन्धमा केही भारदारहरूलाई पक्राउ गरी बलभद्रले कचहरीमा काजी स्वरूपले अह्राएको हुँदा 'प्रयोग' गरेको भनि बयान गरेको हुँदा कतै विष सेवन गराएका हो की भन्ने शंका गर्ने ठाउँ छ’, उनले भने।

इङ्नामसँग अर्को पनि आधार छ। ‘पृथ्वीनारायण शाह बित्दा उनका छोरा प्रतापसिंह शाह पनि नुवाकोट मै थिए भनेर यस लालमोहरमा छ। जबकी हामीले पढ्दा नुवाकोटमा बहादुर शाह मात्रै थिए भनेर पढेका थियौं’, उनले भने, ‘त्यसमाथि उनको निधन भएपछि शंका भएको भनेर उल्लेख छ। कालगतिले मरेको भए कोही निधन भएपछि शंका गर्नुपर्ने कारण के हुन्छ? प्राप्त दस्ताबेजले पृथ्वीनारायण शाहको हत्या भएको हुन सक्छ। यस दस्ताबेजलाई इतिहासकारले कसरी लिनुहुन्छ हेर्न बाँकी नै छ।’

असोज ३०, २०७८ शनिबार ०८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।