अनलाइन कक्षा पढ्दै आएका दुई हजार बालबालिकाको आँखा परीक्षण
काभ्रेः जिल्लाकाे नमोबुद्ध नगरपालिकामा दुई हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण तथा उपचार गरिएको छ। अनलाइन कक्षा पढ्दै आएका बालबालिकाकाे घरदैलो अभियानमार्फत आँखा परीक्षण गरिएको हो।
कोभिड–१९ का कारण विद्यालयमा पठनपाठन बन्द भएपछि कम्युटर, ल्यापटप र मोबाइलको प्रयोग गरी निरन्तर अनलाइन कक्षामार्फत अध्ययन गर्दा बालबालिकाको आँखामा समस्या देखिएपछि परीक्षण अभियान सञ्चालन गरिएको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए।
नमोबुद्धले सेवा फाउण्डेशन र बनेपास्थित रेयुकार्य मासुनागा आँखा अस्पतालको सहयोगमा एक महिने अभियान सञ्चालन गरेको हो। आँखा जाँचपश्चात एक सय ११ बालबालिकालाई चस्मा वितरण गरिएकाे छ भने तीन सय ६५ जनालाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको टिम लिडर प्रफुलराज श्रेष्ठले जानकारी दिए। 'परीक्षण गरिएकामध्ये ६४ जनामा मोतियाविन्दु देखिएको छ, एक सय ४६ जनालाई थप परीक्षण र उपचारका लागि रेफर गरिएको छ', उनले भने।
असोज १९, २०७८ मंगलबार ०८:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।