एकीकृत समाजवादी र जसपाले भाग बढाउँदा सरकारमा माओवादी खुम्चिने

एकीकृत समाजवादी र जसपाले भाग बढाउँदा सरकारमा माओवादी खुम्चिने

एकीकृत समाजवादीले ७ वटा मन्त्रालयमा दाबी गरेको छ भने जनता समाजवादी पार्टीले ६ मन्त्रालय पाउनु पर्ने बताएको छ। ‘जसपाले ६ मन्त्रालय पाउने लगभग कुरा मिलेको छ,’ जसपाका एक नेताले भने, ‘मन्त्रालयको नाम टुङ्गो लागेपछि मन्त्री छनौट हुन्छ।’

नेपालको संविधानअनुसार धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहने व्यवस्था छ। हाल प्रधानमन्त्री देउवासहित कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादी केन्द्रबाट २ जना मन्त्रिपरिषद्मा छन्। बाँकी १७ मन्त्रालयमा एकीकृत समाजवादी र जसपाले समान ६/६ वटा मन्त्रालय पाउँदा ५ वटा मन्त्रालय कांग्रेस र माओवादी केन्द्रको भागमा पर्न आउँछ।

दलहरुबीच मन्त्रालयको सङ्ख्या लगभग टुङ्गो लागेको भनिए पनि खास कुरो सङ्ख्यामै अड्केकाे माओवादी केन्द्रका एक नेताले बताए। ‘कांग्रेसले प्रधानमन्त्रीसहित ७ र बाँकी ६/६ वटा मन्त्रालय माओवादीसहित तीन दललाई भनिएको थियो,’ माओवादीका ती नेताले भने, ‘अब त कांग्रेसले प्रधानमन्त्रीसहित ८ र माधव नेपालको एकीकृत समाजवादीले ७ जनालाई मन्त्री बनाउन नामै बुझाएपछि पार्टीले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागेको छैन।’

कांग्रेसले मन्त्रालय सङ्ख्या घटाउन नमानेको र जनता समाजवादीले पनि एकीकृत समाजवादीले पाउने सङ्ख्या पाउनु पर्ने भनेकाले माओवादीबाट मन्त्री नै थप नहुने देखिएको ती नेताले बताए। माओवादीले पाउने मन्त्रालयको सङ्ख्या र मन्त्री बन्नेहरूको नाममा मंगलबार स्थायी कमिटीमा गर्ने भनेको छलफल यही कारण बुधबारलाई सारेको छ।

पार्टीमा मन्त्री बन्ने आकांक्षीहरू धेरै भएका कारण कसलाई मन्त्री बनाउने नबनाउने तनावमा रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आएका छन्। बुधबार बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठक मन्त्रालय भागबन्डाका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।

शाहले मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्डको भएकाले मन्त्रालय भागबन्डा टुङ्गिने बित्तिकै नाम छनौट हुने बताए। राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धनकाे जसपाले मन्त्रीको नाम छनौट गर्ने र सरकारमा सहभागी हुने बताएको थियो। तर, मन्त्रालयको सङ्ख्या टुङ्गो नलागेकाले मन्त्री छनोट हुन नसकेको जसपा अध्यक्ष उपेन्द्र यादव बताउँछन्।

प्रधानमन्त्री देउवाको निजी सचिवालयले भने यो हप्ता मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकाे छ। देउवाका स्वकीय सचिव भानु देउवाले यो हप्ता मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए।

१३ असोज, २०७८, ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।