ट्रमाको सिटी बन्यो, वीरको मुसा छिरेको सिटी कहिले बन्छ?

ट्रमाको सिटी बन्यो, वीरको मुसा छिरेको सिटी कहिले बन्छ?

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरमा ट्युब बिग्रिएको सिटी स्क्यान मेसिन बनेको छ। वीर अस्पतालमा साउन तेस्रो साताको सुरुमा दोस्रो पटक मुसाले तार काटेको सिटी स्क्यान मेसिन भने अझै बनेको छैन।

ट्रमा सेन्टरको साउन १५ गते बिग्रिएको सिटी स्क्यान मेसिन बिहीबार (२८ गते) बाट बनेर चल्न थालेको राष्ट्रिय ट्रमा सेन्टरको सिटी विभागका इन्चार्ज दामोदर रोक्काले जानकारी दिए। उनले भने,‘बिग्रिएको १३ दिनमा बिहीबार मेसिन बन्यो।’

अस्पताल स्रोतका अनुसार ट्रमा सेन्टरको सिटी स्क्यान मेसिनको तेस्रो पटक ट्युब बिग्रिएर फेरिएको हो। 

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलका अनुसार गत चैतको पहिलो साता मात्रै (८१ लाख खर्च गरेर) सिटी स्क्यान मेसिनको ट्युब फेरिएको थियो। दोस्रो पटक सिटी मेसिन बिग्रँदा त्यति बेला बिग्रिएको करिब साढे २ महिनामा चैतको पहिलो साता ट्युब फेरेर मेसिन बनाइएको थियो। तर, फेरेको ४ महिनामा नै साउन १५ गते तेस्रो पटक मेसिन बिग्रिएको हो।

स्रोतका अनुसार करिब डेढ वर्ष अघि ट्रमाको यो सिटी स्क्यान मेसिनको ट्युब पहिलोपल्ट बिग्रिएको थियो। त्यो बेला पनि सिटी बनाउन करिब ८० लाख खर्च लागेको थियो। 

८० लाख खर्च गरेर बनाए पनि मेसिनले करिब एक वर्ष काम गरेपछि फेरी दोस्रो पटक बिग्रँदा ट्युब फेरिएको थियो। दोस्रो पटक ८१ लाखमा ट्युब फेरेको निमित्त निर्देशक डा.पौडेलले जानकारी दिए। 

तेस्रो पटक भने वारेन्टी रहेकाले कम्पनीले नै बनाइदिएको पौडेलले बताए। 

निमित्त निर्देशक पौडेलका अनुसार सिटी स्क्यान मेसिनको ट्युबको २ लाख सेकेन्ड स्क्यानको वारेन्टी थियो। तर, ९० हजार सेकेन्ड मात्रै स्क्यान गरेपछि बिग्रेकाले मेसिनको ट्युब कम्पनीकै खर्चमा फेरिएको जानकारी दिए। 

१६ स्लाइसको सिमेन्स कम्पनीको ट्रमा सेन्टरको यो सिटी स्क्यान मेसिन भारतले आर्थिक वर्ष २०७१/०७२ मा ट्रमा सेन्टर स्थापना हुँदा नै अनुदानमा दिएको थियो। यो मेसिनको मूल्य ४ करोड २८ लाख थियो।

झन्डै ४ वर्षसम्म ट्रमा सेन्टरको मेसिन राम्रोसँग चले पनि कर्मचारीको हेरफेरसँगै मेसिनमा समस्या आउन थालेको ट्रमाका एक चिकित्सकले दाबी गरे।

निमित्त निर्देशक डा. पौडेलको भने सिटी स्क्यान मेसिनको आयु नै सकिएकाले समस्या निम्तिएको दाबी छ। यसअघि उनले दुई लाख वटा स्क्यान गरेपछि मेसिनको आयु सकिने भए पनि यो मेसिनले २ लाख ८६ हजार वटा सिटिस्याक्न गरिसकेको दाबी गरेका थिए। मेसिन पुरानो भएको डा. पौडेलको दाबी छ। उनले भने,‘मेसिन पुरानो भयो।’ डा. पौडेलको भनाइलाई आधार मान्ने हो भने यो मेसिनको ट्युब फेरे पनि अब लामो समय नटिक्ने देखिन्छ। 

ट्रमामा सिटी स्क्यान गरेको करिब २ हजार शुल्क लाग्छ। तर, निजीमा सिटी गर्दा झन्डै दोब्बर बुझाउनुपर्ने हुन्छ। 

वीर अस्पतालको सिटी नबन्दा दैनिक करिब २० जनाको सिटी गर्दै आएको ट्रमाको सिटी मेसिनले अहिले ४०/४५ जनाको सिटी गर्नुपरेको ट्रमा सेन्टरका सिटी विभागका इन्चार्ज रोक्काको दाबी छ।

ट्रमा सेन्टरमा सिकारु कर्मचारीलाई सिटी स्क्यान मेसिन चलाउन छाडिदिँदा बेलाबेलामा मेसिनमा समस्या आउने गरेको एक चिकित्सकको दाबी छ। तर, निमित्त निर्देशक डा. पौडेलले भने यो दाबीलाई अस्वीकार गरेका छन्। उनले भने,‘हाम्रोमा सिकारुलाई (मेसिन चलाउन) दिएको छैन। रेडियोग्राफर पास गरेकालाई मात्रै सिटी राख्छौँ। सामान्य टेक्नोलोजिस्टहरुलाई त माथि (सिटीमा) राखेकै छैनौँ।’

वीरको तार काटेको मेसिन कहिले बन्छ?

वीर अस्पतालमा एउटा भएको सिटी स्क्यान मेसिनको दोस्रो पटक मुसाले तार काटेर बिग्रँदा २२ गते (शुक्रबार) देखि मेसिन थन्किएको छ। वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्माले भने १/२ दिनमा नै सिटी स्क्यान मेसिन बन्ने दाबी गरे। 

यसपालि वीर अस्पतालमा दोस्रो पटक मुसाले तार काट्दा मेसिन बिग्रिएको डा. शर्माले जानकारी दिए। यसअघि सोही मेसिनको मुसाले तार काटेर बिग्रँदा वैशाख १५ गतेतिर सिटी स्क्यान मेसिन अस्पतालले बनाएको थियो। तर, ४ महिना पनि नपुग्दै पुनः मुसाले तार काटेको भन्दै अस्पतालले मेसिन थन्क्याएको हो। 

नेदरल्याण्बाट तार ल्याउनुपर्ने भएकाले मेसिन बन्न ढिला भएको डा. शर्माको दाबी छ। 

त्यसो त वीर अस्पतालको मेसिन खरिद गरेको करिब अढाई वर्षमा २०७७ साल चैतको पहिलो साता मेसिन बिग्रिएको थियो। चैतमा मेसिनको पंखामा समस्या आएको थियो। पंखा बनाएर चलाएको ३ दिनमा नै मुसाले तार काटेपछि मेसिन बिग्रिएर वैशाखको दोस्रो साता फेरी सिटी स्क्यान मेसिन बनेको थियो। 

डा. शर्माका अनुसार वीर अस्पतालको बिग्रिएको यो मेसिन फिलिप्स कम्पनीको १ सय २८ स्लाइसको हो। दैनिक करिब ५० जना बिरामीको सिटीस्क्यान गरिरहेको मेसिन बिग्रिएसँगै एकातर्फ बिरामीले दुःख पाउने त छँदैछ। अर्कातर्फ अस्पतालको दैनिक १ देखि डेढ लाख कमाइ समेत घटेको छ।

ट्रमा सेन्टर र वीर अस्पतालमा भएका एक/एक वटा मेसिन बिग्रिरहने रोगले बिरामी भने अन्य अस्पताल भौँतारिनु पर्ने बाध्यतामा छन्। दीर्घकालीन समाधानका लागि व्यवस्थापन पक्ष लाचार हुँदा बिरामीले दुःख पाउनुपरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत केही दिनअघि संसदमा वीर अस्पतालमा बिग्रिएका मेसिनबारे चासो राखेका थिए। उनले प्रतिनिधि सभामा बोल्दै वीर अस्पतालमा थन्किएका मेसिनबारे छानबिन गर्न सरकारसँग माग गरेका थिए।

ट्रमा सेन्टर र वीर अस्पतालमा भएका चल्ने मेसिन थन्क्याएर कसरी नयाँ मेसिन खरिद गरिन्छ, अस्पतालमा उपकरण लगायतमा हुने मेसिन खरिद प्रकरणले लगायतका विषयमा उकेराले समाचार सम्प्रेषण गर्दै आएको छ।

भदौ १, २०७८ मंगलबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।