सफलताको कथा : जुत्ता पसलमा १२ सय तलब खाने हरि यसरी बने मालिक
व्यापारी बन्ने सपना पूरा नहुने देखेपछि उनी कामको खोजीमा काठमाडौँ गए। काम खोज्न धेरै संघर्ष गरे। कामको खोजीमा काठमाडौँका धेरै ठाउँमा चहारेपछि बल्ल उनले जुत्ता-चप्पल पसलमा काम पाए।
आजभन्दा २२ वर्ष पहिले उनको तलब मासिक १२ सय रुपैयाँ थियो। त्यो तलबले खान र कोठाभाडा तिर्न पनि धौ-धौ हुन्थ्यो।
कैयौँ दिन चामल किन्ने पैसा नभएर भोकै बस्नु परेको पीडा पनि उनीसँग छ। एकछिन फुर्सद भएपछि साहुबाट पुराना जुत्ता-चप्पल बजार लगी बिक्री गरेर खर्च व्यवस्थापन गर्थे।
त्यहीँबाट संघर्षको पाठ सिकेका हरि अहिले आफैँ मालिक बनेका छन्। वीरेन्द्रनगरमा उनले ‘भगवती स्टोर्स’ सञ्चालन गरेका छन्। र, चार/पाँच जना युवालाई रोजगारी समेत दिएका छन्। महिनामा सबै खर्च कटाएर डेढदेखि दुई लाखसम्म फाइदा हुने गरेको उनी बताउँछन्।
साहुको पसलमा काम गर्ने क्रममा हरिलाई व्यवसाय गर्दा कसरी फाइदा हुँदो रहेछ भन्ने अनुभव भयो। जसले गर्दा व्यवसायमा लाग्न थप ऊर्जा मिल्यो।
निरन्तर एउटै साहुसँग ८ वर्षसम्म काम गरेका हरिको तलब १२ सय रुपैयाँबाट सुरु भई ३५ सय रुपैयाँसम्म पुग्यो।
पसलमा काम गर्दा मार्केटिङका लागि उनले देशका विभिन्न ठाउँ घुम्ने अवसर पाए। जसका कारण व्यावसायिक क्षेत्रलाई अझै नजिकबाट जान्ने मौका पाए।
हरिलाई सधैँभरि एउटा मात्र चिन्ता लाग्थ्यो ‘म कहिले साहुजी बनुँला’? तर त्यो सपना पूरा गर्न उनलाई साहुकहाँ ८ वर्षसम्म काम गर्नुपर्यो।
काम गरेर कमाएको ३० हजार रुपैयाँ बैंकमा जम्मा गरेका हरिले आफैँ व्यवसाय गर्ने कुरा आफ्ना मालिक मधुसुदन मिश्रलाई सुनाए।
उनको इमानदारिता र लगनशीलताले मधुसुदनलाई विश्वास दिलाएको थियो। व्यवसाय गर्ने योजना भए आफू पनि सहयोग गर्न तयार रहेको बताएपछि हरिले वीरेन्द्रनगरमा जुत्ता-चप्पलको पसल थाप्ने निर्णय गरे।
साहु मधुसुदनले सामान बेचेपछि पैसा दिने सर्तमा १७ लाख रुपैयाँ बराबरको सामान सुर्खेत पठाइदिए।
‘लगातार ८ वर्षसम्म साहुजीकोमा काम गरेँ, मेरो मिहिनेत र इमानदारिताबाट प्रभावित भएर उहाँले सहयोग गर्ने वचन दिनुभयो,’ हरिले भने, ‘साहुजीले मलाई विश्वास गरेर १७ लाखको सामान उधारो दिएपछि मेरो व्यवसाय गर्ने सपना पूरा भयो।’
आजभन्दा १५ वर्ष अगाडि सुर्खेतमा जुत्ता–चप्पलको होलसेल पसल थिएन। जसका कारण हरिको पसल राम्रै चल्यो। सुरुमा ल्याएको सबै सामग्री एक महिनामै बिक्री भयो। मालिकको पैसा तिरेर पनि दुई तीन लाख खुद नाफा भयो। आफू सुर्खेतका पुरानो व्यापारी भएका कारण ग्राहक आउने गरेको उनी बताउँछन्।
उनका मालिक मधुसुनसँग अहिले पनि राम्रै सम्बन्ध छ। काठमाडौँ उनकै पसलबाट सामान ल्याउने गरेका छन् हरिले।
‘सानै उमेरमा मेरो व्यवसायी बन्ने सपना थियो, आर्थिक अभावका कारण साहुको पसलमा काम गर्न बाध्य भएँ,’ हरिले भने, ‘८ वर्षसम्म थोरै तलब खाएर काम गरेँ, उनै साहुजीले मलाई साहु बनाइदिनुभयो। अहिले पनि हाम्रो सम्बन्ध राम्रो छ।’
सुर्खेतमा व्यवसाय गर्दै गर्दा द्वन्द्वका बेला माओवादीले चन्दा मागेर हैरान पारेको उनी सुनाउँछन्।
अहिले हरिले आफ्नो स्टोर्सबाट नेपाली र इन्डियन इन्डियन ब्रान्डका जुत्ता–चप्पल कर्णालीका सबै जिल्लामा सप्लाई गर्दै आएका छन्।
आफैँ चाइना गएर ग्राहकको रुचि र माग अनुसारको सामान ल्याउने र आफ्नै मेसिन ल्याएर फ्याक्ट्री खोल्ने योजना छ हरिको।
साउन १९, २०७८ मंगलबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।