हिजोका कुरामा प्राज्ञ सुषमा : जसलाई जंगबहादुर र बडाबाजे सिद्धिमानको चित्रले चित्रकार बनायो

हिजोका कुरामा प्राज्ञ सुषमा : जसलाई जंगबहादुर र बडाबाजे सिद्धिमानको चित्रले चित्रकार बनायो

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागीय प्रमुख पदमा कार्यरत सुषमाले अहिले कला र अध्यात्मलाई सँगसँगै अगाडि बढाइरहेकी छिन्।

उनी सानोमा आमाले बिहान रातो माटोले पोतेको दैलोमा चकले अनेक बुट्टा भर्दै, घरका भित्तामा विभिन्न स्केच कोर्थिन्।

संस्कृति र जीवनशैलीका विभिन्न आयामले उनलाई चित्र कोर्न हौसला दिन्थ्यो। देवता र चाड-पर्वका अनेक दृश्यलाई उनले चित्रमा उतारेकी छन्। बाटोमा हिँड्दै गर्दा कुनै घटनाले मनमा गहिरो तरिकाले छोयो भने घरमा आएर स्केच बनाइहाल्थिन्।

मन्दिर तथा पाटीहरुमा सुन्दर कला-कौशल कोरिएका हुन्थे। सुषमालाई मठ-मन्दिरको कलाले लट्ठ  बनाउँथ्यो। ओहो! कस्तो गज्जबको सिर्जना। उनी खाली पानाहरुमा कोर्न थालिहाल्थिन्। चित्रसँगको  लगाव खासमा आफ्नै घरको बैठकका भित्तामा सजिएका ठूलाठूला ओयल पेन्टिङले गर्दा गाँसिएको भन्न उनी रुचाउँछिन् उनी।

सानैदेखि उनका आँखा बैठकमा राखिएका पेन्टिङमा गएर टक्क अडिन्थे। उनी बुझ्ने भएपछि त्यसका कथाहरु खोतल्न थालिन्।

०००
सुषमाका बडाबाजे सिद्धिमान राजभण्डारी तत्कालीन श्री ३ जंगबहादुरका खास मान्छे थिए। जंगबहादुर बेलायत जाँदा सिद्धिमान पनि सँगै गएका थिए। जुन सन्दर्भ 'जंगबहादुर' नामक पुस्तकमा पनि उल्लेख छ। जंगबहादुर र सिद्धिमानको सम्बन्ध गाढा थियो।

सुषमाका बडाबाजे ओहोर-दोहोर गर्न दरबारले घोडाको व्यवस्था गरिदिएको थियो। उनको घर नजिक तबेला बनाएर घोडा बाँधेर राख्ने गरिएको थियो। बैठक कोठाको सबैभन्दा ठूलो पेन्टिङमा जंगबहादुर र बडाबाजे सिद्धिमानको चित्र थियो। जसलाई कलाकार भाजुमानले जंगबहादुरलाई सिद्धिमानले  कोतपर्वपछि कालमोचनमा राख्न देखाइरहेको पत्र सहितको कलाकृति भनिन्छ।

कलाकार भाजुमानको सो चित्रको सजीवताले सुषमालाई कलाकार बन्न घच्घचाइरहन्थ्यो। तर घरमा कोही पनि कलाकार थिएनन्। कलाको नाममा भित्ताभरि चित्रहरु मात्रै।

१३ वर्षको उमेरमा विज्ञान विषयको लागि स्केच कोर्न भनेर ब्रह्म टोलमा कलाकार गोविन्दलाल सिंह डंगोलसँग स्केच सिक्न जान थालिन् उनी। विज्ञान पढ्दा विभिन्न चित्र बनाउन सजिलो होस् भनेर स्केच सिक्न गएकी सुषमालाई चित्र कोर्न जानेपछि विज्ञानप्रतिको चित्रकारितातिर मोडियो।

स्केच कोर्न सिकेपछि घरको भित्तामा टाँगिएजस्ता पेन्टिङ बनाउन कसरी सकिएला भन्ने सोच मात्र आउन थाल्यो। त्यही चित्रप्रतिको कौतुहलताले गुरुसँग पढाइको साथमा चित्र सम्बन्धी अरु पनि धेरै कुराहरु सोध्थिन्। उनी जति कौतुहलता देखाउँथिन्, त्यति नै खुलेर कलाको बारेमा भन्न रुचाउने गुरुले गर्दा उनको रुचि कल्पनामा मात्रै होइन, खोज र अन्वेषण गरेर चित्रहरु उतार्नमा बढ्दै गयो। जसको फलस्वरुप उनले मास्टर डिग्रीमा गणेशमै थेसिस पनि गरिन्। अहिले उनी गणेश विषयमा पिएचडी गर्दैछिन्।

गुरुसँग सिक्दा साह्रै नै अनुशासित हुनुपर्थ्यो। कडा मिजासका गुरु डंगोलले स्केच राम्रो नहुँदा कपी नै फ्यालिदिएका अनुभवहरु पनि छन् उनीसँग। त्यही कडा अनुशासनले नै सुषमालाई मिहिनेत गर्ने बानी बसाल्यो।

गणेशको चित्र बनाउने कलाकारको रुपमा परिचित सुषमा सानैदेखि गणेशप्रति विशेष आस्था राख्थिन्। केही दुःख पर्यो भने आमाले गणेशलाई लड्डु चढाउन भन्थिन्। केही सामान हरायो, गणेशलाई पूजा गरेपछि भेटिन्थ्यो। त्यही भएर पनि सानैदेखि उनी गणेशको कलेक्सन गर्थिन्। उनीसँग गणेशका अनगिन्ती कलेक्सन छन्।

सुषमालाई सानैदेखि गणेश आदर्श भगवान् लाग्यो। त्यसैले पनि उनी गणेश खोज्दै चीन, जापान, भारत, थाइल्यान्ड र कोरिया लगायतका देश पुगिसकेकी छन्।

उनले गणेशका धेरै चित्र बनाइसकेकी छन्। गणेशको प्रकृतिसँग जोडिएर पनि धेरै कलाकृति सिर्जना गरेकी छिन्। उनी जहाँ जान्छिन्, त्यहाँ गणेशको विषयमा खोजी गर्छिन् र आफ्नो चित्रकारितामार्फत पोख्छिन्।

कलामार्फत इतिहासलाई पनि देखाउनुपर्छ भन्ने सुषमाको मान्यता छ। लेलेमा रहेको लिच्छिवी गणेश, चार विनायक, मणि विनायक, थाइल्यान्डको १२ विनायक, भारतको आठ विनायक यी सबै गणेशलाई चित्रमा उतारेकी सुषमाले भर्खरै पञ्चमुखी गणेश बनाएकी छिन्।

गणेशकै खोजीमा उनले कम्बोडियामा महादेवको छोरा भनेर कुमार र गणेशलाई पुज्ने र जापानमा राक्षसलाई मारेको भनेर गणेशलाई पुज्ने गरेका तथ्यहरु पत्ता लगाएकी छन्। यसरी खोजिएर बनाएका चित्रहरु फरक मात्रै होइन, पछि त्यसको विषयमा खोज्न चाहनेको लागि सजिलो पनि हुने उनको ठहर छ। उनले अहिलेसम्म १८ वटा एकल कला प्रदर्शनी गरिसकेकी छिन्।

अहिले जस्तो क्यानभाष, रङ, ब्रसहरुको पहुँच थिएन त्यतिबेला। सुषमा क्यानभाष आफैं बनाउँथिन्। पौभा बनाउँदा सफेटा टेक्सर ह्वाइट र सरेस हालेर बनाउँथिन्। शंख वा पेपर वेटले घोटेर बनाउँथिन्।

०००
एसएलसी सकेपछि सुषमा काठमाडौंबाट नजिकका स्थानमा गएर ल्यान्डस्केप गर्छिन्। एक पटक स्युचाटारमाथि गएर ल्यान्डस्केप गर्दै थिइन्, एक जना विदेशी आएर उनले कोर्दै गरेको कलाको मूल्य सोधे। उनले त्यत्तिकै २ सय भनिदिइन्। नभन्दै ती विदेशीले केही समय कुरेरै २ सय तिरेर लिएर गए। त्यो क्षण उनको लागि अविष्मरणीय छ।

त्यो दिन उनले नसोचेको कमाइ भएको दिन। घर जाँदा आमालाई चुरा, पोते, टीका किनेर गरेको अझै सम्झिन्छन् उनी। छोरीले चित्र बेचेर आफूलाई उपहार ल्याइदिएपछि आमा निकै खुसी भएकी थिइन्।

०००
त्यतिबेला महिला कलाकार औंलामा गन्न सकिने मात्रै थिए। कलेज चढ्दै जाँदा छात्राहरु घट्दै जान्थे। ब्याचलरमा पुग्दा त उनी एक्लै भइन्। ब्याचलरमा पढ्दापढ्दै उनलाई पौभा चित्रकारीमा रुचि बढ्न थाल्यो। लोक चित्रकारको पौभा चित्र हेर्दाहेर्दै त्यस विधाप्रति उनको झुकाव बढ्दै गयो। त्यही झुकावका  कारण सुषमाले प्रेममान चित्रकारसँग पौभा सिकिन्।

भगवानको अवधारणा कस्तो हुन्छ भन्ने कन्सेप्टमा उनका चित्रहरु आउन थाले। प्रेममान चित्रकारसँग पौभा सिकेपछि उनको चित्रकारितामा अझै निखार आयो। सुषमाले कला सिक्दा गुरुहरुलाई पैसा तिर्नु परेन। उल्टै पेटभरि खाजा खुवाएर पठाउँथे।

त्यतिबेला कला, संगीत सिकाएर गुरुले पैसा लिने चलन थिएन। कला, संगीतलाई साधनाको रुपमा लिइन्थ्यो भने पुस्तान्तरणको लागि पनि सिकाइने गरिन्थ्यो।

उनले बनाएका पिस आइजको चित्रमा दर्शनसँगै मोक्ष पनि पाइन्छ। उमेर हुँदा मान्छे धन-सम्पत्तिको खोजीमा दौडिरहे पनि जीवनको उत्तरार्धमा हरेक मान्छे शान्ति चाहन्छ। उनका चित्रले शान्तिको खोजी गरेका हुन्छन्।

सुषमाले पहिलो एकल कला प्रदर्शनी नव-परम्परागत कला शीर्षकमा दस अवतार, गणेशका सिरिजहरु समावेश गरेकी थिइन्। जसमा बुद्धको एउटा पेन्टिङको तोकिएको २५० डलरमा एक जना जापनिजले किनेर टिप्स पनि दिए। रुसस्थित एसियन म्युजियममा नेपालबाट चित्रकार चन्द्रमान मास्के र सुषमाको कला संकलन गरेर राखिएको छ।

कला सिर्जना गर्ने क्रममा राणाकालमा युरोप भ्रमण गरेका भाजुमान, दीर्घमान चित्रकार, बेलायतका ब्रियन हडसनद्वारा दीक्षित राजमान चित्रकार, कोलकातामा अध्ययन गरेका चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार तथा युरोपमा कला शिक्षा लिएका लैनसिंह बाङ्देल, प्रेममान चित्रकार सुषमाका आदर्श कलाकारहरु हुन्। उनीहरुको चित्रकारितालाई नियाल्दै सुषमाले आफ्नो यात्रा तय गरेकी हुन्।

असार २४, २०७८ बिहीबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।