प्रदेशमा जनशक्तिकै अभाव : बाढी, पहिरो, डुबान र कोभिड व्यवस्थापनमा कुन प्रदेशको के योजना?

प्रदेशमा जनशक्तिकै अभाव : बाढी, पहिरो, डुबान र कोभिड व्यवस्थापनमा कुन प्रदेशको के योजना?

प्रदेश १ मा हब अस्पताल तोकियो

प्रदेश १ स्थित प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र (पिएचइओसी) प्रमुख डा. संगीता राई प्रदेश १ मा बाढी, पहिराबाट हुने क्षति कम गर्न पूर्व तयारी अवस्थामा रहेको बताउँछिन्। उनले सबै स्थानीय तहसम्म नै अलर्ट गराइएको जानकारी दिइन्। अन्तर मन्त्रालयसँग समन्वय गरी अलर्ट गरिरहेको उनको दाबी छ। 

जनशक्ति लगायतको स्रोत कोरोनाको उपचार तथा व्यवस्थापनमा नै खटिएकाले बाढी, पहिरोका कारण निम्तिने रोग तथा स्वास्थ्य समस्याका लागि जनशक्ति भने अभाव रहेको उनले बताइन्। डा. राईले भनिन्,‘चुनौती त छ। किनकि जनशक्ति कोरोनाकै लागि जुटिरहनु भएको छ। जनशक्ति कमै छ। तर, भएकोलाई व्यवस्थापन गरिरहेका छौँ। समन्वय गरिरहेका छौँ।’

सुनसरीको धरानस्थित हब अस्पतालका रूपमा रहेको बिपी कोइराला अस्पताललाई अलर्ट गरिएको उनले बताइन्। बिपी, झापाको मेची र मोरङको कोसी सरकारी अस्पताललाई हब अस्पताल तोकिएको प्रमुख डा. राईले बताइन्।  

प्रदेश २ मा पानीजन्य रोग निम्तन सक्ने सम्भावना

प्रदेश २ मा पनि बाढी पहिरोले व्यक्तिमा निम्तन सक्ने जोखिमलाई ध्यान दिएर त्यसको व्यवस्थापनका लागि सबै स्वास्थ्य संस्था तथा जनशक्तिलाई अलर्ट गराइएको प्रदेश २ ले जनाएको छ।

प्रदेश स्थित स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले बाढी, पहिरो, डुबानपछि हुन सक्ने सम्भावित रोगको उपचारका लागि पूर्व तयारी गरिएको जानकारी दिए। कोभिडको उपचारमा लागिरहेका स्वास्थ्यकर्मीलाई तालिम लगायतको व्यवस्थापन गरिएको उनले बताए।

निर्देशक झाले स्वास्थ्य क्षेत्रको जनशक्ति भने कमी रहेको बताए। ‘सानो एरियामा ठुलो जनसङ्ख्या छ। त्यसले गर्दा सरुवा रोग सर्ने जोखिम कायमै छ। कोभिडबाट त पीडित छँदै छन्। बाढी आएर झन् जोखिम बढाउँछ,उनले भने,‘क्राइसिसमा काम गर्ने त बानी परिसक्यो हाम्रो।’

निर्देशक झाले प्रदेश २ मा पोषण लगायत औषधी उपचार सामग्री तत्काललाई पर्याप्त रहेको जानकारी दिए। प्रदेश नं. २ मा रहेका सङ्घ अन्तर्गतको वीरगन्जको नारायणी अस्पताल, राजविराजको गजेन्द्र नारायण अस्पताल र जनकपुर प्रादेशिक हब अस्पताललाई पनि अलर्ट गराइएको निर्देशक झा बताउँछन्।

निजी क्षेत्रका जनकपुरको जानकी मेडिकल कलेज र वीरगन्जको नेशनल मेडिकल कलेजले पनि हब अस्पतालकै रूपमा काम गरिरहेको उनले जानकारी दिए। कोसी, कमला, बलान, बकैया, बागमती, गण्डकलगायत साना ठुला नदी तथा खोलाको प्रभावले गर्दा पानी दूषित हुने लगायतको समस्यालाई मध्यनजर गर्दै पानीजन्य रोग निम्तिन सक्ने उनले बताए।

बागमतीमा ओपिडी सेवा सुरु गर्न निर्देशन

बागमती प्रदेशले पनि बाढी, पहिरो तथा त्यसबाट निम्तने स्वास्थ्य समस्याका लागि तयारी अवस्थामा रहेको दाबी गरेको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाइ पूर्व तयारी अवस्थामा रहेको दाबी गर्छन्।

प्रवक्ता डा. सेढाइले प्रदेशका १३ वटै स्वास्थ्य कार्यालयमा र्यापिड रेस्पोन्स टिम परिचालनको लागि बजेट सहितको कार्यक्रम व्यवस्थापन गरिएको जानकारी दिए। काभ्रेपलान्चोकको मेथिनकोट अस्पताल, चितवनको बकुलर, मकवानपुरको हेटौँडा अस्पताल, काठमाडौँको टोखा, भक्तपुरको भक्तपुर अस्पताल, ललितपुरको वज्रवाराही, सिन्धुलीको सिन्धुली अस्पताल, दोलखाको चरिकोट अस्पताल, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, रसुवाको रसुवा अस्पताल र रामेछाप प्रादेशिक अस्पतालहरू तयारी अवस्थामा रहेको उनले बताए।

डा. सेढाइले प्रादेशका स्वास्थ्य संस्थाहरूमा आवश्यकता अनुसारको जनशक्ति राख्न अधिकार दिइएको बताए। कोरोना भाइरससँगै अन्य रोगको पनि चुनौती भएकाले सबै अस्पतालमा ओपिडी सेवा सुरु गर्न निर्देशन दिइसकेको उनले बताए। प्रवक्ता डा. सेढाइका अनुसार ठुला अस्पतालहरूमा करिब ३ हप्तादेखि कोभिड बाहेकका बिरामीको लागि ओपिडी सुरु भइसकेको छ।

गण्डकीमा चिकित्सकलाई ३ लाखको अफर

गण्डकी प्रदेशमा बाढी, पहिरोका कारण निम्तनसक्ने स्वास्थ्य समस्याको व्यवस्थापनका लागि पूर्व तयारी अवस्थामा रहेको प्रदेश स्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाइसकेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. राम बहादुर केसीले जानकारी दिए। तर, विशेषज्ञ जनशक्तिको भने अभाव भएको महाशाखा प्रमुख डा. केसीले बताए। केही समय अघि ३ सय ७० जनाको  दरबन्दी सृजना गरी स्वास्थ्यकर्मीको माग गरिए पनि विशेषज्ञ चिकित्सकको आवेदन नपरेको उनले सुनाए।  

विशेषज्ञ चिकित्सकको दरबन्दी आह्वान गरे पनि दरखास्त नपरेको उनले बताए। ३ लाख सम्मको अफर गरे पनि चिकित्सकहरूले सरकारी अस्पतालमा करारमा काम गर्न इच्छुक नदेखिएको उनले बताए। डा. केसीले भने,‘डेढ लाख, २ लाख, ३ लाखसम्म पनि आउनु हुन्छ भने गर्छौ भनेर विज्ञापन गरेका थियौ। २२ जनाको विज्ञापन गर्दा एउटा पनि दरखास्त परेन।’ 

जिल्लाको माग अनुसार धेरैजसो स्टाफ नर्स, मेडिकल अफिसरको दरबन्दी बढाएको उनले बताए। जसले गर्दा उपचारमा केही सहज भएको डा. केसीले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल र गण्डकी मेडिकल कलेज र केही निजी अस्पताल पनि हब अस्पतालका रूपमा रहेको उनले बताए। 

डा. केसीले तत्काललाई औषधि स्टकमा रहेको बताए। उनले भने,‘जिल्ला जिल्लामा ठुलो विपद् भयो भने धान्न सक्दैनौँ। गत वर्षको अनुपातमा बाढी, पहिरो गयो भने थाम्न सक्ने औषधि हामीसँग छ।’ धान्न नसक्ने अवस्थामा सङ्घीय सरकारसँग सहयोग लिइने उनले बताए। 

लुम्बिनीमा विपद् हेर्ने ९ वटा क्लष्टर

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बाढी पहिरोले निम्तिने विभिन्न रोग तथा समस्याको निम्ति तयारी अवस्थामा रहेको बताएका छन्। 

प्रवक्ता डा. पौडेलले बाढी पहिरोका कारण पानीका मुहान दूषित भएर आउँ, झाडापखाला, हैजा, टाइफाइड, डेंगु, मलेरियाको जोखिम हुने बताए। विशेष गरी तराइका जिल्लाहरूमा डेंगु, मलेरिया, हात्तीपाइले, सर्प दंशको समस्या हुने उनी बताउँछन्। डा. पौडेलले भने,‘डुबानका कारण सर्प दंशका बिरामी बढ्छन्। झाडापखाला बढ्छ।’

गण्डकी, राप्ति, तिनाउ गरी मुख्य ३ नदिको जोखिम क्षेत्रलाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा जीवनजल, पानी सफा गर्ने चक्की, पारा सिटामोललगायत अत्यावश्यक औषधिको व्यवस्थापन गरिएको उनले बताए। 

हब अस्पतालसमेत रहेका यी अस्पताल र जिल्लाका अस्पताललाई अलर्ट गरिएको डा. पौडेलले बताए। कोभिडको महामारी कम हुँदै गएकाले जनशक्तिले भने धान्ने उनी बताउँछन्।

प्रदेशीक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र मार्फत सतर्क रहन निर्देशन दिइरहेको पनि उनी बताउँछन्। लुम्बिनी प्रदेशमा विपद् हेर्ने ९ वटा क्लस्टर भएको डा. पौडेलले जानकारी दिए। 

कर्णाली प्रदेशमा औषधी व्यवस्थापन गन्जागोल

कर्णाली प्रदेशमा मनसुन सुरु हुनुभन्दा अगाडी नै पूर्व तयारी योजना बनाएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रबिन खड्काले जानकारी दिए। कर्णालीमा मनसुन सुरु भएपछि विशेष गरी दूषित पानीका कारण पानीजन्य रोग, चट्याङ लगायतका कारण निम्तिन सक्ने स्वास्थ्य समस्याको उपचार तथा व्यवस्थापनका लागि पूर्व तयारी गरिएको उनको दाबी छ। 

कर्णालीमा पनि स्वास्थ्य क्षेत्रमा जनशक्तिको कमी छ। ‘जनशक्ति त कम नै छ। यसै पनि कमै छ। अहिले पनि स्वीकृत दरबन्दीको करिब एक तिहाइ मात्रै पद पूर्ति छ,’ निर्देशक डा खड्काले भने,‘करारका स्वास्थ्यकर्मी चिकित्सक लिएर काम गरिरहेको अवस्था छ। भएका मौजुदा जनशक्तिलाई कोभिडमा लगाएर बाँकीलाई खटाउँछौँ।’ त्यसै गरी औषधिको सवालमा झाडापखाला, मौसमी इन्फ्लुन्जाजस्ता औषधीको व्यवस्थापन गरिएको उनले बताए। 

३ तहको सरकारका कारण स्वास्थ्य उपकरण तथा औषधि लगायतको व्यवस्थापनमा भने गन्जागोल भएको उनको तर्क छ। निर्देशक डा. खड्काले भने,‘३ तहको सरकार हुँदा अलि गन्जागोल भएको छ।’ व्यवस्थापनमा एक रुपता नहुँदा चुनौती भएको उनले बताए। 

सुदूरपश्चिममा रोग फैलिएको ठाउँमा पहिला औषधी 

सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोले निम्तिन सक्ने जोखिमका विषयमा स्थानीय तह सम्मलाई अलर्ट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सुदूरपश्चिम जिल्लाका सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले स्थानीय तहमा भएको र्यापिड रेस्पोन्स टिम(आरआरटी)ले पहिले उद्धार गर्ने बताए। उनले भने,‘स्थानीय तहमा आरआरटी हुन्छ। त्यसले रेस्पोन्स गर्छ, त्यसले भएन भने स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्यको पाटोमा व्यवस्थापन गर्छौँ।’

सुदूरपश्चिममा भएको जनशक्ति नै कुनै ठाउँमा महामारी भए परिचालन गरिने उनले बताए।

सुदूरपश्चिममा धनगढीको सेती अस्पताल, कञ्चनपुरको महाकाली र डडेलधुरामा डडेलधुरा, अछामको बयलपाटा र टीकापुरमा ठुला अस्पताल रहेको र हब अस्पतालमार्फत उद्धार तथा उपचारको व्यवस्थापन भएको उनले बताए।

औषधि तथा उपकरणको सवालमा जुन रोग फैलिन्छ त्यही औषधि लगिने उनले बताए। बाढी पहिरो गएको करिब एक हप्तापछि प्रदूषित खानपानले स्वास्थ्य समस्या निम्तने प्रवक्ता कार्की बताउँछन्। उनले भने,‘बाढी पहिरो शान्त भएको एक हप्तापछि स्वास्थ्यको समस्या आउँछ।’ उनले यसका लागि तयारी अवस्थामा रहेको दाबी गरे।

असार ४, २०७८ शुक्रबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।