शासकको विभेदले कुटुकुटु मन खान्छ
१० वर्षको लडाइँमा उनले कैयौँ दुःख कष्ट भोग्नुर्यो। कहिले भोकै त कहिल्यै जङ्गलको बास। २०५७ सालको कलिलै उमेरमा भूमिगत भएकी विजयसराले २०५८ साल असारमा कालिकोटको लडाइँमा आफ्नो एउटा हात नै गुमाउन पर्यो। २०६१ सालमा सुर्खेतको भेरीमा भएको दोहोरो भिडन्तमा उनका श्रीमानको खुट्टा गुम्यो।
भूमिगत जीवनमा नै विवाह गरेकी उनीहरू दुवै जना अहिले विकलांग छन्। आफैँले लडेर ल्याएको गणतन्त्रमा धेरै कुरा पाउने आशा थियाे। तर अहिले उनीहरूले ल्याएको गणतन्त्रले उनीहरुलाई नै चिन्दैन।
‘ज्यानको बलिदानी दिएर हामीले गणतन्त्र स्थापना गर्यौँ, आखिर के पायौँ त? महिला, दलित, आदिवासी जनजाति र पिछडा वर्गको उत्थानका लागि भनेर लड्यौँ,’ बिजयसराले भनिन्, ‘उल्टै अपाङ्ग भयौँ, हात खुट्टा गुमायौँ।’
सरकारले दिने अलि अलि भत्ता पनि रोकेको गुनासो उनले गरिन्। ‘गणतन्त्र त ल्याइयो तर यसको प्रयोग गर्न जानिएन, नीति-नियम र कानुनहरू व्यवस्थित बनाउन सकेनन्, ’उनले भनिन्, ‘हामीले निःस्वार्थसँग लड्यौँ, नेतृत्वकर्ताहरु स्वार्थमा रहेछन्। त्यसैले पहिले परिकल्पना गरेको गणतन्त्र र अहिले चलनचल्तीमा आएको गणतन्त्रमा फरक छ।’
पुर्ख्यौली घर मुगु भएकी विजयसराको वीरेन्द्रनगरमा सानो घर बाहेक अरू केही छैन। उनका एक छोरा र एक छोरी छन्। निजी विद्यालयहरूलाई आफैंले हारगुहार गरेपछि उनका दुवै जना छोराछोरीलाई विद्यालयले निःशुल्क पढाइ दिएको छ।
अहिले उनी माओवादीको कुनै पनि सङ्गठनमा आवद्ध छैनन्।
आन्दोलनकै क्रममा १० वर्ष जेल जीवन बिताएका लेकवेसी नगरपालिका–४ का प्रकाश पौडेल गणतन्त्र स्थापनाका लागि गरिएका आफूहरूका प्रयासले आंशिक मात्रामा उपलब्धि पाए पनि अझै धेरै कुराहरूलाई व्यवस्थित गर्नुपर्ने बताउँछन्।
सशस्त्र द्वन्द्वकै क्रममा १० वर्ष जेल जीवन बिताएर आर्जन गरेको गणतन्त्रलाई अहिलेको सरकारले खतरामा पारेको उनको बुझाइ छ। ‘हामी र हाम्रा सहिदले दिएको बलिदानी केही रूपमा पूरा भए पनि अझै यसलाई व्यवस्थित गरेर संस्थागत गर्न सके मात्रै सहिदको सम्मान हुनेछ,’ उनले भने ।
घाँसपात, बासी भात खाएर लडेर प्राप्त गरेको गणतन्त्रमा शासकहरूले गरेको विभेदले बेलाबेला आफ्नो मन पोल्ने गरेको वीरेन्द्रनगर–१ की देवीसरा विक (शारदा) ले बताइन्।
‘अहिलेको अवस्थामा गणतन्त्र नै खतरामा छ, समावेशिताका कुरामा अझै पनि विभेद छ,’उनले भनिन्, ‘जुन वर्गका लागि लडेका थियौँ, त्यी एजेन्डा संरक्षण हुन जरुरी छ।’
१९ हजार मान्छेले दिएको वलिदानमा २५ सय महिलाको पनि रगत बगेकोले महिलालाई हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने उनको भनाइ छ।
प्रतिगमनवादीहरुले सहिद र वीर योद्धाहरूको लडाइँबाट नयाँ मुलुकको जग बसाउन ल्याइएको गणतन्त्रको सार्थकता दिन नचाहेको चौकुने गाउँपालिका-६ का अमर चलाउने (तोसी) ले बताए।
केही निश्चित उद्देश्य पूरा भए पनि सबैले सन्तुष्ट हुनसक्ने स्थिति नरहेको वीरेन्द्रनगर–१ कै भक्त बास्पाने (पुरन) को भनाइ छ। उनले पूर्व जनमुक्ति सेनाका बटालियन कमान्डर हुँदै पार्टीको विभिन्न तहमा रहेर काम गरेका थिए। गणतन्त्रको परिकल्पना गरेअनुसार आधार मात्रै तयार भएको र वास्तविक उठाइएका एजेन्डाहरू अझै आउन नसकेको उनको भनाइ छ।
‘गणतन्त्रको परिकल्पना अनुसार केही आधार तयार भए पनि हामीले गरेको दुःखको उपलब्धि हुन सकेको छैन,’चलाउनेले भने, ‘त्यो देख्दा लाग्छ सङ्घर्ष खेर गयो की? व्यवस्था त बदलियो अवस्था भने उस्तै छ।’
घरघरमा सिंहदरबार जस्ता नाराहरू अझै पनि जनताका लागि पूरा नभएको उनको बुझाइ छ। विजयसरा, प्रकाश र अमर मात्रै होइनन्, गणतन्त्र प्राप्तिका लागि जनयुद्ध लडेका लडाकुहरू अझै पनि सन्तुष्ट छैनन्।
जेठ १५, २०७८ शनिबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।