युवा उद्यमीको गुनासो ‘ऋण गरेर व्यवसाय गरियो, उत्पादन बिक्दैन, अनुदान पनि छैन’

युवा उद्यमीको गुनासो ‘ऋण गरेर व्यवसाय गरियो, उत्पादन बिक्दैन, अनुदान पनि छैन’
पञ्चपुरी नगरपालिका —६ बाबिया चौर स्थित आफ्नै उद्योगमा काम गर्दै बुद्धिमान बोहोरा। तस्बिर: जगतदल जनाला विक

सुर्खेत : वीरेन्द्रनगर–१०, खजुराका मुरारीजंग थापा (सुवास) ले चार वर्षदेखि ‘वीरेन्द्रनगर अर्ग्यानिक कृषि फर्म’ मार्फत कालो धान उत्पादन गरिरहेका छन्। बिबिए अध्ययन सकेर कृषि कर्ममा लागेका थापाले कर्णालीमै पहिलो पटक कालो धान उत्पादन थालेका थिए।

घरपरिवारले बिबिए पढेर बैङ्क तथा वित्तीय संस्थामा काम गर्न प्रोत्साहन गरे पनि थापाले परम्परागत कृषिलाई परिष्कृत गर्दै विभिन्न समूह र बैङ्कबाट सात लाख रुपैयाँ ऋण गरेर व्यवसाय सुरु गरेका थिए।

वीरेन्द्रनगर– १०, भुवानपुरमा आफ्नो १० कट्ठा र भाडामा लिएको २५ कट्ठामा वर्षमा दुई पटक कालो धान रोप्छन्।

चैत १५ र असार १५ मा उनले कालो धान रोप्ने गरेका छन्। यो सँगै कालो मकै र माछा पालन समेत गरेका छन् उनले। तर उनले सोचेजस्तो भइरहेको छैन। उत्पादित खाद्य सामाग्री बिक्दै बिक्दैन।

‘ऋण गरेर कृषि काममा लागियो। तर उत्पादन गरेको वस्तु बिक्दैन। कसैले अनुदान पनि दिँदैन,’थापाले भने, ‘बरु बाहिरबाट आएको विषादीयुक्त खाद्यवस्तु महँगोमा किन्छन्, तर स्थानीय उत्पादनलाई पत्याउँदैनन्।’

मुरारीजंग थापाको वीरेन्द्रनगर— १० भवानपुर स्थित कालो धान लगाइएको क्षेत्र।

बहु उपयोगी कालो धान र मकैले स्वास्थ्यलाई फाइदा हुने भए पनि यसको महत्त्व नबुझ्दा स्थानीयले त प्रयोग नै गर्दैनन्।

कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेशको नारा बनाए पनि अर्ग्यानिक वस्तु उत्पादन गर्ने कृषकलाई प्रोत्साहन नगरेको उनको गुनासो छ।

०००

चौकुने गाउँपालिका– २ का बुद्धिमान बोहोराले पञ्चपुरी नगरपालिका–६ बाबिया चौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालन गरेको तीन वर्ष भयो ।

आठ लाख रुपैयाँ सयकडा तीन रुपैयाँका ब्याजदरमा ऋण गरेर २ रोपनी जग्गा भाडामा लिई उनले हाते कागज सुरु गरेका थिए।  उनी अहिले उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।

सुरु–सुरुमा राम्रो नाफा कमाए पनि कच्चा पदार्थको अभाव, आर्थिक स्रोतको अभाव र बजारीकरणको अभावले उद्योग सङ्कटमा परेको उनले बताए।

उद्योगमार्फत उत्पादित उत्पादन बिक्री गर्न धेरै टाढा पुग्नुपर्ने झन्झटिलो प्रक्रिया, लगानी अनुसारको प्रतिफल नआउनु, आर्थिक अभाव, पर्याप्त मात्रामा औजार नहुनु, समयमा कच्चापदार्थ नपाइनु, ढुवानीको समस्यालगायतका कारणले उद्योग सञ्चालनमा समस्या आएको उद्योगका सञ्चालक बोहोराले बताए ।

‘पहिला चार वर्षसम्म कागज उद्योगमा काम गरेँ, सम्भावना पनि राम्रै देखेपछि ऋण गरेर भए पनि उद्योग सञ्चालनमा ल्याएँ,’ बोहोराले भने, ‘न चाहिएको बेला कच्चापदार्थ आउँछ, नत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाबाट अनुदान मिल्छ ।’

उद्योगलाई आधुनिक औजार तथा मेसिन, नयाँ प्रविधि, फ्रेमहरू तथा भण्डारणका लागि भौतिक संरचना चाहिए पनि आर्थिक अभावकै कारण उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

कच्चा पदार्थका रूपमा  कालिकोट र जुम्लाका वनजंगलमा पाइने लोक्ताको प्रयोगबाट बोहोराले नोट बुक, डायरी, फोटोकपी पेपर, ए फोर साइज पेपर, गिफ्ट बक्स, गमला लगायत नेपाली हाते कागजका थुप्रै सामग्री उत्पादन गर्ने गरेका छन् ।

सरकारले उद्योगहरूका लागि भाडामा जग्गा, अनुदान नदिनु र उद्यमीलाई प्रोत्साहन नगर्दा यस्ता उद्योगहरू सङ्कटमा परेको उनले बताए ।

स्थानीय, प्रदेश तथा केन्द्र सरकारले वितरण गर्ने अनुदान समेत ठाँटाठाँट र नातागोतालाई वितरण गरिएको उनको आरोप छ। 

‘स्थानीय तथा प्रदेश तहमा अनुदानका लागि बारम्बार धाएँ तर कुनै पनि सहयोग भएन,’ उनले भने, ‘पहिला सम्भावना देखेर फरक व्यवसाय गरौँ भनेर उद्योग सञ्चालन गरियो, अहिले त लगानी नै डुब्ने डर लागेको छ ।’

गाउँघरमा सञ्चालन गरिएका घरेलु उद्योग र युवाहरूले गरेका व्यवसायलाई सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने साना तथा घरेलु उद्योग महासङ्घका कर्णाली प्रदेश अध्यक्ष चन्द्र बिसीको भनाई छ।

‘आफ्नै गाउँ ठाउँमा स्थानीय स्रोत र साधनबाट बनेका राज्यले संरक्षण गर्न नसक्दा यस्ता उद्योगहरू सङ्कटमा छन्,’ उनले भने‘जबसम्म स्थानीय, प्रदेश र केन्द्र सरकारले उद्योगीका हितमा नीति तथा कार्यक्रम ल्याउँदैनन्, तबसम्म युवाहरू र यहाँको जनशक्ति बाहिर जान्छ।’

उनका अनुसार कर्णालीमा करिब १७ हजार साना तथा घरेलु उद्योगहरू रहे पनि कोरोना लगायत अन्य कारणले १० प्रतिशत उद्योग मात्र नियमित सञ्चालनमा छन्।

चैत ९, २०७७ सोमबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।