पूर्वराजा महेन्द्रले मासेको त्यो पाटी  

पूर्वराजा महेन्द्रले मासेको त्यो  पाटी  

काठमाडौँ : ६० वर्ष अघिसम्म काठमाडौँको रानीपोखरीस्थित शान्तिबाटिका नजिकै एक पाटी थियो। असनलगायतका बजारबाट सामान किनमेलका लागि आएका बटुवाको थकान बिसाउने चौतारी थियो त्यो। 

त्यति बेला सामान किनमेलका लागि देशभरका विभिन्न जिल्लाबाट मानिसहरू असन आउने गर्थे।

बटुवाहरू त्यही बास बस्थे। र, खाजा पकाएर खान्थे। स्थानीयको गफिने थलो पनि थियो त्यो। 

सम्पदा अभियन्ता आलोक सिद्धी तुलाधर ६० वर्ष अघिसम्म त्यहाँ पाटी रहेको सुनेको बताउँछन्। ‘त्यो पाटी मैले त देखिनँ। तर, बुबा–आमा र अग्रजहरूबाट पाटीबारे सुनेको थिएँ,’ उनले भने। 

तर, अहिले त्यहाँ न पाटी छ न त त्यसको अवशेष नै। 

६० वर्षअघिको त्यो पाटी कसरी मासियो त ? 

संस्कृतिविद् तथा क्षेत्रपाटीका स्थानीय योगेन्द्रमान श्रेष्ठ तत्कालीन राजा महेन्द्र शाहले पाटी हटाउन लगाएको बताउँछन्। तर, उनलाई पाटी हटाउनुको कारण थाहा छैन। 

नामबारे दुईथरि धारणा

कसैले त्यसलाई गोलपाटी भन्थे त कसैले हात्तीपाटी। 

सम्पदा अभियन्ता तुलाधर त्यो पाटीको नाम गोलपाटी रहेको बताउँछन्। ‘गोलपाटी भने पनि त्यो ठ्याक्कै गोलो थिएन। अष्टकोण आकारको थियो,’ उनले भने, ‘तर, हामीले त्यसलाई गोलपाटी भन्ने गर्थ्यौ।’

तर, संस्कृतिविद् तथा क्षेत्रपाटीका बासिन्दा योगेन्द्रमान श्रेष्ठ यो कुरा मान्न तयार छैनन्। उनी त्यो पाटीको नाम हात्तीपाटी रहेको बताउँछन्। ‘पाटी गोलो आकारको भएर मान्छेले गोलपाटी भनेको हुनुपर्छ। तर, खासमा यसको नाम गोलपाटी नभएर हात्तीपाटी हो,’ उनले भने।  

पाटी नजिकै हात्तीको मूर्ति छ। त्यस कारण हात्तीपाटी भनिएको हुनसक्ने कतिपयको अनुमान छ। 

‘बटुवाले खाजा पकाएको देखेको थिएँ’ 

विद्यालय तहमा पढ्दा उक्त पाटीको छेउमा धुनी (आगो बालिरहेको) जगाएर राखिएको, बटुवाले खाजा पकाएको देखेको संस्कृतिविद् श्रेष्ठ बताउँछन्। 

‘त्यति बेला असनलगायतका बजारमा सामान किनमेलका लागि आएका बटुवाहरू पाटीमै आराम गर्थे, खाजा पकाएर खान्थे,’ उनले सम्झिए, ‘६० वर्षअगाडि काठमाडौँमा पाटी नै पाटी थिए।’ 

त्यति बेला पूर्व र पश्चिमका बटुवालाई छुट्टाछुट्टै पाटी बनाइएको उनी सुनाउँछन्। 

यहाँको पाटीमा उपत्यका आसपासका क्षेत्रबाट आउनेहरू बास बस्ने गरेको उनी बताउँछन्। ‘यहाँ विशेष गरी सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, दोलखालगायत जिल्लाबाट आउनेहरू बास बस्थे,’ उनले सुनाए। 

पश्चिमबाट आउनेहरू भने सोह्रखुट्टे, क्षेत्रपाटीका पाटीमा बास बस्ने गरेको उनी सुनाउँछन्। 

पूर्वबाट आउनेहरू रानीपोखरी, जोरपाटी, चुच्चेपाटी, डिल्लीबजार, बागबजार लगायतका स्थानमा बस्ने गरेका थिए। 

०००

काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, २७ र २८ वडाले छोएको छ रानीपोखरी। त्यस कारण यहाँका सम्पदा संरक्षण, संवर्द्धनको जिम्मा यी वडाको पनि हो। 

महानगरको वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले महानगरपालिकाले पुरानै शैलीमा पाटी निर्माण गर्न लागेको बताए।

‘पाटी पहिलेकै स्वरूपमा निर्माण गरिनेछ,’ उनले भने, ‘यसको जिम्मा पुरातात्त्विक विभागले लिइसकेको छ।’ 

फागुन ५, २०७७ बुधबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।