चोरी ५३ सिलिन्डर, सजाय ५८ वर्ष
काठमाडौँ : माघ ३ गते शनिवार काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बौद्धबाट पक्राउ परे दीपक श्रेष्ठ।
दीपक माघ ३ गते बौद्धको एक होटेलको किचनमा काम गर्दै थिए । महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली उनी काम गर्ने होटेलमा पुग्यो र पक्राउ ग¥र्यो। किन पक्राउ परे ? उनी जानकार थिए। तर होटेलका अन्यलाई पत्तो थिएन उनी काठमाडौँका नामुद सिलिन्डर चोर हुन् भनेर।
उनले गरेको अपराधको कसुर अहिलेको हैन, १५ वर्ष अघिको थियो । अपराध मिति २०६१ को। कसुर ५३ वटा ग्याँस सिलिन्डर चोरी। उनी यही कसुरमा ८ महिना हिरासतमा बसेर सात हजार धरौटीमा छुटेका थिए। तर त्यही अदालतबाट उनलाई ५८ वर्षको कैद सजाय सुनाए पनि उनी पक्राउ परेनन्।
१५ वर्षसम्म स्वतन्त्र जीवन बिताएका उनको नाम फैसला कार्यान्वयन हुन बाँकीको सूचीमा थियो। टन्नै कैद सजाय पाएका दोषी देखिएपछि महाशाखाको टोलीको नजर उनको नाममा प¥र्यो र खोज्दै जाँदा बौद्धमै फेला परे।
उनी विरुद्ध २०६३ पुस २३ मा ८५ वर्ष कैद तोकिएको थियो।
भारतमा ११ वर्ष
धरौटीमा छुटेका उनी फेरी पक्राउ पर्ने डरले नेपालमा बसेनन् र सिधै लागे भारत। ११ वर्षसम्म उनी भारतको विभिन्न सहरमा लुकेर बसे। यता प्रहरीले त्यति खोजी गरिरहेको थिएन। अब त के पक्राउ परिएला र भनेर चार वर्ष अगाडि उनी नेपाल फर्किए।
उनी नेपाल फर्किएको एक वर्षपछि नै उनी काठमाडौँ आएको प्रहरीले चाल पाइसकेको थियो। फेला पर्छन् कि भनेर बेलाबखत प्रहरीले नखोजेको हैन।
प्रहरी उनको गृह जिल्ला रामेछाप र दोलखा पुगेर खोजी गरेको पनि हो। तर फेला परेनन्।
एक महिना अगाडि उनी दोलखाको सिंगटीमा रहेको एक हाइड्रोपावरमा ‘मेन कुक’ को रूपमा काम गर्ने गरेको सूचना आयो। प्रहरी पुसमा हाइड्रोपावर पुग्यो। तर उनी पहिल्यै त्यहाँबाट हिँडिसकेका थिए।
‘उनी काठमाडौँ आएको सूचनाको आधारमा उनी बस्न सक्ने क्षेत्रमा सुराकी परिचालन गरेका थियौँ,’ महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने‘ बौद्धको एक होटेलमा काम गरिरहेको खुलेपछि पक्राउ गर्न सकियो।’
गोदाममै गएर चोरी
२०६१ फागुन २७ गते काठमाडौँको चौमतीमा २८ वटा ग्यास सिलिन्डर हरायो। उजुरी आएपछि खोजी गर्दै जाँदा जोरपाटीमा रहेको श्रेष्ठको डेरामा चैत ३ गते ती सिलिन्डर फेला पर्यो।
त्यही दिन चाबहिलको विक्रम मानन्धरको पसलबाट १० वटा नेपाल ग्याँस, चाबहिलकै विमल मानन्धरको पसलमा लुम्बिनी ग्याँसको ९ वटा सिलिन्डर, जोरपाटीमा रहेको शंकर श्रेष्ठको पसलबाट ७ थान बाबा ग्यास, बौद्धस्थित उमेश प्रधानको घरबाट एभरेस्ट ग्यास र बाबा ग्यास २ वटा सिलिन्डर चोरी भएको थियो।
२०६१ फागुन १५ मा प्रहरी गस्ती गर्दै जाँदा राती १२ बजे सामाखुसीबाट २ थान सिलिन्डर दुई जनाले बोक्दै हिँडेको बेलामा उमेश प्रधान, पदम बहादुर तामाङ र दीपक श्रेष्ठ पक्राउ परेका थिए।
उनीहरूले सिलिन्डर चोरी गरेर कुमार श्रेष्ठ, शंकर श्रेष्ठ, विक्रम मानन्धर र विमल मानन्धरलाई बिक्री गरेको बयान दिए। प्रहरीले ५३ वटा सिलिन्डर फेला पारेपछि चोरी मुद्दामा उनीहरूलाई काठमाडौँ जिल्ला अदालतमा बुझाएको थियो।
२०६१ फागुन २७ मा उमेश प्रधानले १८ सय प्रतिगोटा पर्ने सिलिन्डर २८ वटा सिलिन्डरको बिगो ५० हजार ४ सय कायम गरेर जाहेरी दिए।
दीपकले चोरी गरेको स्वीकारेको बयानमा देखिन्छ। उनले ती सिलिन्डर ११ सयका दरले व्यापारीलाई बेचेको बयान दिए। उनीहरूले चोरीको सिलिन्डर चमतीमा रहेको नवराज न्यौपानेको डिपोमा बेचेको खुल्यो।
किरण लामाले दिएको बयान अनुसार २०६१ फागुनमा ग्यासको अभाव भएको थियो। त्यो बेला उनीहरूले डिपोमा गएर २८ वटा सिलिन्डर चोरेर बेचे। उनीहरूले बेलायती १८ सय पर्ने सिलिन्डरलाई ११ सयमा बेचेका थिए ।
सिलिन्डर किनेका कुमार श्रेष्ठ, शंकर श्रेष्ठ, विक्रम मानन्धर र विमल मानन्धरले ११ सयमा किनेको बयानमा स्वीकारे। उनीहरुविरुद्ध जाहेरी बढेर २४ पुग्यो।
२४ चोरी, ५८ वर्ष कैद
उनीहरूले विभिन्न स्थानबाट चोरेको सिलिन्डरको संख्या ५३ पुग्यो । २४ वटा जाहेरी आयो। सबै जाहेरीको छुट्टाछुट्टै फैसला आउँदा २४ नै भयो र सबैमा तोकिएको कैद सजाय जोड्दा ५८ पुग्यो।
पहिलो पटक उनले २०६१ असार ३ मा एभरेस्ट सिलिन्डर २२ थान चोरी गरेर११ सयका दरले बेचेको खुल्यो । त्यति वेला दीपकलाई एक महिना कैद र ६२ सय जरिवाना भयो।
२०६१ भदौ ५ मा रामबहादुर तामाङले दिएको जाहेरीमा ३ महिना कैद ५१ सय जरिवानाको फैसला आयो। असोज १० गतको जाहेरीमा ६ महिना कैद १ हजार ६ सय ७५ जरिवाना भयो।
त्यस्तै मंसिर १२ मा २ वटा सिलिन्डर चोरी भएको पुष्टि भएसँगै १ वर्ष कैद ३ हजार ४ सय जरिवाना भयो भने २०६१ मंसिर २६ मा एउटा सिलिन्डर चोरेको मुद्दामा दुई महिना कैद १ हजार ७ सय ५० जरिबाना भयो।
उनी पटके चोर रहेको खुल्दै गयो र सजाय पनि बढ्दै गयो। २०६१ पुस १६ मा एउटा सिलिन्डर चोरेको केसमा ६ वर्ष कैद र २ हजार ३ सय ५० जरिवाना भयो। पुस १६ को अर्को जाहेरीमा ६ वर्ष कैद र ३ हजार १ सय ५० जरिवाना भयो।
दीपकको समूहले माघमा ७ पटक चोरी गरेका थिए। २०६१ माघ १३ मा तीन वटा सिलिन्डर चोरेकोमा ६ वर्ष कैद ७ हजार जरिवाना, माघ १५ मा ५ वटा ग्याँस चोरेकोमा ६ वर्ष कैद र १ हजार ४ सय जरिवाना, माघ २५ मा एउटा सिलिन्डर चोरेकोमा १ हजार ७ सय २५ जरिवाना र ६ वर्ष कै भयो।
माघमै अर्को चोरीमा ६ वर्ष कैद र १४ सय जरिवाना, माघ २० को चोरीमा ६ वर्ष कैद र ४ हजार ७ सय जरिवाना २५ को घटनामा ९ वर्ष कैद र १ हजार १ सय ५० जरिवाना, माघ २७ को चोरीमा ६ वर्ष कैद र १२ हजार जरिवानाको फैसला भएको थियो।
फागुनमा ९ पटक उनले नौ वटा चोरी गरे। चोरीको अन्तिम मिति २०६१ चैत २ सम्मको सजाय जोड्दा एक सय ४४ वर्ष हुन्छ। तर प्रहरीले भने ५८ वर्ष कैद जोड्नुमा १० वटा चोरी मुद्दामा मात्रै हो ।
कति वर्ष बस्नुपर्छ कारागार ?
तत्कालीन मुलुकी ऐनको १४(१) नम्बर बमोजिम चोरीको ६ वर्ष कैद र सामान अनुसार जरिवानाको सजाय छ । दीपकले पटक पटक चोरी गरेकाले कैद सजाय जोडिँदै आएको हो।
महानगरीय प्रहरी महाशाखाका प्रवक्ता ईश्वर कार्कीका अनुसार सबैभन्दा अधिकतम सजाय भुक्तान गरेर अन्य कैद माफ हुन्छ। यो आधारमा अब उनी नौ वर्ष कैद बस्नुपर्ने देखिन्छ।
माघ ९, २०७७ शुक्रबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।