आवेगको ‘आगो’ले ‘खरानी’ बनेका तीन परिवारको नियति : न कारण खुल्यो, न दोष
मुना मात्रै हैन, त्यही फ्ल्याटमा अर्को पनि शव थियो विजय चौधरीको। घरका सहयोगी उनको गलामा नाइलनको पासो थियो।
विजय र मुनाबीच त्यस्तो कुनै विवाद थिएन। शान्त स्वभावका उनले नै हत्या गरेर आत्महत्या गरेझैं घटनास्थल भए पनि पत्याइहाल्ने अवस्था थिएन।
महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर, ललितपुरले अनुसन्धान गर्दा हत्यामा तेस्रो व्यक्तिको संलग्नताका प्रमाण खुलेन। अन्तमा अनुसन्धानको निष्कर्ष निस्कियो, ‘विजयले पिर्काले हानेर मुनाको हत्या गरे अनि आत्महत्या।’
घटनामा नयाँ तथ्य फेला परेको छैन। त्यसैले अहिले सो केस ललितपुर परिसर र अपराध महाशाखाको दराजमा थन्कियो।
०००
यही वर्षको भदौ २६ गते भक्तपुरको मध्यपुर थिमिमा रहेको एक घरका कुनै सदस्य घरबाहिर ननिस्किएपछि उनको परिवार जाँदा घरका तीनै जना सदस्य मृत अवस्थामा फेला परे। वर्ष ३६ का सुदीप अधिकारी उनको ३४ वर्षीया श्रीमती सम्झना अनि वर्ष १६ का छोरा सुशान्त।
प्रहरी घटनास्थलमा पुग्दा आमा र छोराको शव सड्न थालेको थियो। दुवैको शरीरमा चोट लागेको थियो। सुदीपको शवबाट गन्ध आएको थिएन। घरमा पालिएको कुकुरसमेत मृत थियो।
घटनास्थलको अवस्थाले तेस्रो पक्ष आएर हत्या गरेर गए कि भन्ने नलागेको हैन प्रहरीलाई। पोस्टमार्टममा आमा र छोराको मृत्युको समय र सुदीपको मृत्युको समय फरक देखियो। श्रीमतीको हत्याको कारण टाउकोमा धारिलो हतियारको प्रहार देखियो। छोराको टाउको र छातीमा लागेको चोटले मृत्यु भएको खुल्यो। सुदीपको शरीरमा कुनै चोट थिएन। मृत्युको कारण विषादी सेवन खुल्यो।
सबै कोणबाट भएको अनुसन्धानको निचोड सानेपाभन्दा फरक आएन, ‘सुदीपले छोरा, श्रीमती र कुकुर मारेर आफूले पनि आत्महत्या गरे।’
यसको पनि अनुसन्धानको फाइल बन्द भयो। नयाँ तथ्य नखुलेसम्म अब फाइल खुल्दैन। घटनाक्रम हेर्दा नयाँ तथ्य खुल्ने सम्भावना न्यून छ।
०००
गत शुक्रबार काठमाडौंको टोखामा रहेको ग्रिन भिल्लाको एक घरमा मृत फेला परेका उमेश गिरी र सुदीक्षाको घटनाको अनुसन्धानको निष्कर्ष पनि ललितपुर र भक्तपुरको उही दुई घटनाकै निष्कर्षतिर लम्किएको छ।
उमेशको शव रगताम्मे भएर खाटमा लडिरहेको अवस्थामा फेला परेको थियो। सुदीक्षाको शव पासो लागेको अवस्थामा फेला परेको थियो।
अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एवं एसएसपी दीपक थापाका अनुसार पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुदीक्षा र उमेशको मृत्युको समय करिव १० देखि १२ घण्टाको फरक देखिएको छ।
उमेशको मृत्युको कारण टाउकोमा प्रहार देखियो भने सुदीक्षाको मृत्युको कारण झुन्डिनु देखियो। उमेशको हत्या देखियो भने सुदीक्षाले आत्महत्या गरेको।
‘घटनास्थलको अवस्था र पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले श्रीमान्को हत्या गरेर श्रीमतीले आत्महत्या गरेझंै देखिएको छ,’ थापाले उकेरासँग भने, ‘अहिलेसम्म घटनामा तेस्रो व्यक्तिको संलग्नताको प्रमाण फेला परेको छैन। तर, अनुसन्धान जारी छ।’
०००
फरक स्थान, फरक पात्र र फरक परिवेशमा भएका तीन आपराधिक घटनाको कारण भने एकै देखिन्छ– आवेग।
पहिलो घटनामा प्लास्टिकको सानो कुर्सीले मुनाको टाउकोमा प्रहार गरेर हत्या गरेपछि विजयले पासो लगाएर आत्महत्या गरेको देखियो।
दोस्रो घटनामा सुदीपले दाउले हानेर श्रीमती र छोराको हत्यापछि कुकुरलाई समेत विषादी मिसाएको खाना खुवाएर आफूले समेत विष पिएको देखियो।
तेस्रो घटना जुन अनुसन्धानकै चरणमा छ, त्यसमा लोहोरोको प्रहार भएको देखिएको छ।
तेस्रो घटना अनुसन्धानकै चरणमा रहे पनि अहिलेसम्म हत्याको कारण खुलेको छ्रैन। अमेरिकामा बस्दै आएका उमेश र काठमाडौंमै बस्दै आएकी सुदीक्षाबीच त्यस्तो ठूलो समस्या खुलिसकेको छैन, जसले हत्यासम्मको चरणमा पुगोस्।
पहिलो घटनामा किन विजयले मुनाको वीभत्स हत्या गरे, त्यसको कारणसमेत खुलेन। दोस्रो घटनामा ऋण लागेर सुदीप तनावमा रहेको त खुल्यो। उनको घर सहकारीमा धितो थियो भने ससुरालीबाट दुई लाख ऋण लिएको खुलेको थियो। तर, त्यसकै कारण उनी श्रीमती र छोराको हत्यासम्मको चरणमा पुगेका हुन् भन्ने प्रमाणित गर्नसक्ने तथ्य खुलेन।
घटनास्थलको अवस्था, हत्यामा प्रयोग भएको हतियारलाई आधार बनाएर प्रहरीले निकालेको घटनाको कारण थियो– आवेग।
आवेगमा विवेक गुमाउँदा ललितपुर र भक्तपुरको घटना भएको प्रहरी अनुसन्धानको निष्कर्ष आयो। र, टोखाको अनुसन्धानको बाटो पनि त्यतैतिर लम्किरहेको छ।
हत्याको बढ्दो ग्राफ
प्रहरी प्रधान कार्यालयको पाँच वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष हत्याको ग्राफ बढिरहेको देखिन्छ। आर्थिक वर्ष २०७६–०७७ मा ५ सय ५५ जनाको हत्या भएको थियो। २०७५–७६ मा ६ सय ५९, २०७४–७५ मा ६ सय २८, २०७३–७४ मा ६ सय १६ र २०७२–७३ मा ६ सय जनाको हत्याको कारण आवेग देखिएको थियो।
मानसिक असन्तुलनले आवेगमा अपराध
गोपाल ढकाल, मनोविद्
आपराधिक क्रियाकलाप गर्ने कुनै मनसाय नभए पनि एक्कासि आवेशमा आउँदा अपराध हुन सक्छ। पछिल्लो समय यस्ता अपराधिक घटना बढेको पनि देखिन्छ।
व्यक्तिको व्यक्तित्व तथा विभिन्न मानसिक समस्याको कारणले व्यक्ति आवेशमा आएर अपराध हुनसक्छ।
पर्सनालिटी डिसअर्डरले गर्दा पनि व्यक्ति चाँडो आवेगमा आउँछ। उत्तेजनामा आउँछ। व्यक्तिगत स्वभाव, मुड डिसअर्डले गर्दा पनि व्यक्ति चाँडै आवेगमा आउँछ। मुड डिसअर्डर भएको अवस्थामा मुड तलमाथि भइरहन्छ।
मेनियाको समस्या भएको अवस्थामा पनि व्यक्ति चाँडै आवेगमा आउँछ। त्यसैगरी छिट्टै रिसाउने रोग (इन्टरमिटेन एक्सक्लोसिभ डिसअर्डर)को समस्या भएका व्यक्ति पनि रिस नियन्त्रण गर्न सक्दैन। जसले गर्दा आवेशमा आई विभिन्न अपराधिक क्रियाकलाप गर्न सक्छन्।
मद्यपान तथा लागुपर्दाथको कुलतमा लागेका व्यक्तिले पनि संवेग रोक्न सक्दैनन्। र, रिस नियन्त्रण गर्न सक्दैनन्।
मानसिक समस्यामा परेका व्यक्तिको अपराध गर्ने मनसाय हुन्न। तर, संवेग नियन्त्रण गर्न नसक्दा अपराध गर्न सक्छ। क्षणिक विवेक गुमाएको अवस्थामा हत्या, हिंसा गर्न सक्छ।
मानसिक रोगका कारण व्यक्तिले संवेग नियन्त्रण गर्न नसके उपचार गर्नुपर्छ। मनोपरामर्श लिनुपर्छ। साइको थेरापीलगायत औषधि उपचार गरेको खण्डमा आवेग नियन्त्रण गर्न सकिन्छ।
पुष २९, २०७७ बुधबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।