प्रज्ञामा गोलमाल : पुनःनिर्माणमा खर्चिएको २२ करोड शंकामा

प्रज्ञामा गोलमाल : पुनःनिर्माणमा खर्चिएको २२ करोड शंकामा

स्रोतले प्रतिष्ठानका केही व्यक्तिको मिलेमतोमै पुनःनिर्माणको कम्पनी छनोट गरिएको र सामान्य मर्मतले हुने ठाउँमा समेत रेक्ट्रोफिटिङ गराएको भन्दै बढी रकम खर्च देखाएको दाबी गरेको छ। 

सहरी विकास विभागले भवन जीर्णोद्धारका लागि १७ करोडको अनुमान गरेको थियो। तर प्रज्ञाले करिब २२ करोड खचिर्यो। सहरी विभागले निकालेको अनुमानभन्दा करिब पाँच करोड  बढी खर्च निकालियो।

तर, प्रतिष्ठान कुलपति गंगाप्रसाद उप्रेती यी आरोप स्वीकार्दैनन्।

कुलपति उप्रेतीले भूकम्पका कारण भवनको कुनै स्थान भत्किएर बस्नै नहुने भएकाले सबलीकरण गरिएको दाबी गर्छन्। ‘कुनै स्थानमा भने सामान्य क्षति मात्रै भएको थियो,’ उनले भने। 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भने आर्थिक वर्ष २०७३/०७४ मा भवन पुनःनिर्माण सुरु गरिँदा  मुल सभास्थल मात्रै रेक्ट्रोफिटिङ गर्नुपर्ने अवस्था रहेको बताउँछ।

प्राधिकरणले भूकम्पपछि गरिएको अनुगमनमा भवनमा ‘मध्यमस्तरको क्षति’ भएको बताएको थियो। अनुगमन गर्दा बाहिरी संरचनामा सामान्य क्षति पुगेको र भवनको पूर्वतर्फको एउटा पिलरमा समस्या देखिएको प्राधिकरणले जनाएको छ।

बैठक भत्ता र खाजा खर्चमा सवा ६ लाख 

प्रतिष्ठानले बैठक भत्ता र खाजा खर्चमा ६ लाख २५ हजार ४ सय ९५ रूपैयाँ खर्च गरेको छ, जसअन्तर्गत आर्थिक वर्ष २०७३/०७४ मा बैठक भत्ता र खाजा तथा यातायात खर्चमा १ लाख ३८ हजार ७ सय ६२ रूपैयाँ खर्च भएको देखिन्छ। 

यस्तै, सोही शीर्षकमा आर्थिक वर्ष २०७४/०७५मा ४ लाख ७ हजार ५ सय ४३ र २०७५/०७६ मा ७९ हजार १ सय ९० रूपैयाँ खर्च भएको आर्थिक विवरणमा उल्लेख छ। 

तर, कुलपति उप्रेती प्रतिष्ठानका कर्मचारी र प्राज्ञ सभा सदस्यलाई भत्तासमेत नदिएको दाबी गर्छन्। 

जीर्णोद्धारका लागि प्रतिष्ठानले इन्जिनियर महेन्द्र कार्कीको संयोजकत्वमा प्राज्ञ हेमनाथ पौडेल र ध्रुव मधिकर्मी रहेको समिति गठन गरेको थियो।

‘भत्तावापतको रकम कुनै पनि प्राज्ञ र कर्मचारीले लिएनन्,’ उप्रेतीले भने, ‘प्राविधिक र सुपरभाइजरले मात्रै लिएका हुन्।’ 

यस्तै, प्रतिष्ठानले सूचना प्रकाशन, सुपरभाइजर र प्राविधिकको पारिश्रामिक ज्याला, मेसिनरी औजार, फर्निचर र ठेकेदार कम्पनीको अग्रिम भुक्तानी शीर्षकमा खर्च गरेको देखिन्छ। 

प्रतिष्ठानले सूचना प्रकाशनमा १ लाख ८२ हजार ४ सय २४ रूपैयाँ, सुपरभाइजर प्राविधिकको पारिश्रमिकमा २३ लाख ४६ हजार रूपैयाँ खर्च गरेको देखिन्छ। 

यसैगरी, मेसिनरी औजार र फनिर्चरमा ८९ हजार २ सय रूपैयाँ, लामा समानान्तर शान्ति जोइन्ट भेन्चरलाई २१ करोड ६४ लाख ९२ हजार गरी २१ करोड ९७ लाख ३६ हजार २ सय ९२ रूपैयाँमा पुनःनिर्माण भएको प्रतिष्ठानको आर्थिक विवरणमा उल्लेख छ। 

कुन वर्षमा कति खर्च ? 

प्रतिष्ठानले भवन पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ का लागि दुई करोड रूपैयाँ पाएको थियो। उक्त वर्ष पुनःनिर्माणमा १ करोड ९९ लाख रूपैयाँ खर्च भएको प्रतिष्ठानको आर्थिक विवरणमा उल्लेख छ। 

यस्तै, आर्थिक वर्ष ०७४/७५ मा पाँच करोड रूपैयाँ निकासा भएकोमा सबै रकम खर्च भएको थियो। आर्थिक वर्ष ०७५/७६ मा १४ करोड ९७ लाख रूपैयाँ निकासा भएकोमा १४ करोड ४९ लाख रूपैयाँ खर्च भएको आर्थिक विवरणमा उल्लेख छ।

पुनःनिर्माणका लागि निकासा भएको रकममध्ये १८ हजार रूपैयाँ बचेको जोगिएको आर्थिक विवरणमा उल्लेख छ।

प्रतिष्ठानले भवन पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ बोलपत्र आह्वान गरेको थियो। त्यसका लागि १ लाख ८२ हजार ४ सय २४ रूपैयाँ खर्च भएको थियो। 

बोलपत्र आह्वानपछि भवन पुनःनिर्माणको ठेक्का लामा समानान्तर शान्ति जोइन्ट भेन्चरले पाएको थियो। 

आर्थिक विवरण अनुसार भवन पुनःनिर्माणमा २१ करोड ६४ लाख ९२ हजार ६ सय ५७ रूपैयाँ खर्च गरिएको थियो। 

प्रतिष्ठानले भवन जीर्णोद्धारका लागि इन्जिनियर महेन्द्र कार्कीको संयोजकत्वमा प्राज्ञ हेमनाथ पौडेल र ध्रुव मधिकर्मी रहेको समिति गठन गरेको थियो।

 

पुष २८, २०७७ मंगलबार ०७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।