संसद् विघटनबारे कांग्रेस नेता तीनतिर : देउवा सकारात्मक, पौडेल विपक्षमा, सशांक मौन
विघटित संसद् पुनःस्थापना कि निर्वाचन भन्नेमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख तीन नेता तीनतिर फर्किएका छन्। पार्टी सभापति शेरबहादुर देउवा अदालतले जे भन्छ त्यही मान्ने पक्षमा खुलिसके।
ओलीको कदमको विरोधमा पार्टीले दुई पटक विरोध प्रदर्शन गर्यो। दुवै पटकको सम्बोधनमा देउवाले अदालतले चुनावमा जा भने पार्टी चुनावमै जाने बताए। देउवासँगै उनी पक्षका नेताहरूको धारणासमेत चुनावमैत्री आइरहेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल अदालतबाट जस्तोसुकै आदेश आए पनि कांग्रेस ओलीको कदमको विपक्षमा उभिनुपर्ने पक्षमा खुलेका छन्। प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक भएको भन्दै यसैमा टेकेर निर्वाचनमा जान नसकिने उनको मत छ।
सार्वजनिक कार्यक्रमहरूमा उनी ओलीको कदमको विपक्षमा खुलेका छन्।
पार्टी महामन्त्री सशांक कोइरालाले सार्वजनिक मन्चमा ओलीको कदमको विरोध गरे पनि पक्ष या विपक्षमा त्यति जोड दिने गरेका छैनन्। पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा उनले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक त भने तर त्यसपछिको बाटो देउवा र पौडेलझैं पक्ष वा विपक्षमा खुलेनन्।
अदालतको आड
देउवा पक्ष अदालतमा जोड दिइरहेको छ। संसद् विघटन संवैधानिक कि गैरसंवैधानिक भन्ने विषय अदालतमा प्रवेश भइसकेकाले उसले गर्ने छिनोफानो अनुसार पार्टी अगाडि बढ्ने देउवाको लाइन देखिन्छ।
पौडेल पनि अदालतको विपक्षमा खुलेका छैनन्। नागरिक समाजदेखि पूर्व प्रधानन्यायाधीशहरूसम्मले संसद् विघटन संविधानविपरीत भनिसकेकाले आदेश नआए पनि पार्टीको लाइन प्रष्ट हुनुपर्नेमा जोड दिँदै आएका छन्।
कांग्रेसले प्रधानमन्त्रीको कदमलाई जसरी लिन्छ त्यसको प्रभाव अदालतमा पर्ने भएकाले ओलीको कदमप्रति नरमपना देखाउँदा पार्टीको साख गिर्ने पौडेल पक्षको मत देखिन्छ।
उता महामन्त्री कोइरालाको मुड जे भए नि हुन्छ पाराको देखिन्छ। उनी प्रष्टरूपमा पक्ष वा विपक्षमा खुलिसकेका छैनन्। उनी नखुल्दा उनको गुट पनि मौन छ।
युवा हेरेको हेर्यै
गगन थापा, प्रदीप पौडेल लगायतका केही युवा पार्टीको आन्दोलन चर्काउनुपर्ने पक्षमा देखिन्छन्। उनीहरूले सार्वजनिक मन्चमा राख्ने धारणा प्रधानमन्त्री ओलीको विपक्षमा छ।
उनीहरूसहितको जोडबलमा पार्टीले दुई पटक विरोध प्रदर्शन गरे पनि अदालतको आदेश कुर्ने पार्टी सभापति देउवाको मन बदल्न सकेका छैनन्।
त्यसैले देउवाले भनिरहेका छन्, ‘अदालतले चुनावमा जा भन्छ भने कांग्रेस जान्छ।’
पुष २७, २०७७ सोमबार १०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।