संसद् विघटन सिफारिस स्वीकार नहुँदै निर्वाचनको मिति सिफारिस !
काठमाडौँ : आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक राखेर संसद् विघटनको सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारी सिफारिस स्वीकार गरिसकेकी छैनन्। तर प्रधानमन्त्री केपी शर्मा ओली एक कदम अगाडि बढेर निर्वाचनको मिति नै सिफारिस गरिसकेका छन्।
नेकपाभित्र चर्किएको पार्टी विवाद आफू प्रतिकुल बन्दै गएपछि प्रधानमन्त्री ओलीले अन्तिम हतियारको रूपमा वर्तमान संसद् विघटनको सिफारिस गरे। संविधानको प्रावधान अनुसार सिफारिस राष्ट्रपतिबाट अनुमोदन आवश्यक छ। उनी मन्त्रीपरिषद्को सिफारिस बोकेर राष्ट्रपति कार्यालय जाँदा चुनावको मिति समेत सँगै लिएर गएका छन्।
उनले वैशाख २३ मा निर्वाचन गर्न सिफारिस गरेको सितल निवास स्रोतले जानकारी दियो। उता प्रधानमन्त्री संसद् विघटन र नयाँ निर्वाचनको मिति एकै पटक घोषणा गर्न कस्सिएको बेला यता नेकपाका नेता सहित विपक्षी दलका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विज्ञप्ति निकालेर अधिनायकवाद ल्याउने प्रयत्न गरेको भन्दै आलोचना गरेको छ। उसले यस प्रकरणबारे छलफल गर्न पार्टी पदाधिकारीको बैठक राखेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेका छन्।
पुष ५, २०७७ आइतबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।