सिंहदरबारलाई 'असुरक्षित बनाउने' भवनमा बुटिक होटेल

सिंहदरबारलाई 'असुरक्षित बनाउने' भवनमा बुटिक होटेल

काठमाडौँ : प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षा चुनौती बढाएको निष्कर्षसहित अधिग्रहणको सिफारिसमा परेको भवनमा होटेल सुरु भएको छ। गृह मन्त्रालयले गठन गरेको समितिले सिंहदरबारको दक्षिणी भागमा बनेको ११ तले भवनले प्रमुख प्रशासनिक केन्द्रसमेत रहेको क्षेत्रको सुरक्षा चुनौती बढाएको भन्दै अधिग्रहण गर्न एक वर्ष अगाडि सिफारिस गरेको थियो।

अधिग्रहणको सिफारिस मन्त्रिपरिषद्को कार्यालयका अलपत्र छ। काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, पुरातत्त्व विभाग, सहरी विकास कार्यालय, काठमाडौं महानगरपालिका र सुरक्षा निकायका प्रतिनिधि रहेको समितिले गत भदौ १५ मा गृहमन्त्री रामबहादुर थापा बादललाई बुझाएको प्रतिवेदनमा सरकारले अधिग्रहण गर्नुपर्ने भनिएको भवनमा व्यवसायी विशाल पण्डितले बुधबारबाट होटेल सञ्चालनमा ल्याएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार प्रधानमन्त्री कार्यालय समेत रहेको सिंहदरबार र राष्ट्रपति कार्यालय रहेको शीतल निवास क्षेत्रको भवनले बढाउन सक्ने सुरक्षा जोखिमबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन नीतिगत निर्णयका लागि मन्त्रिपरिषद्को कार्यालय पुगेको छ। तर सिफारिस अनुसार निर्णय नहुँदा प्रतिवेदनको सिफारिस अनुसार काम हुन सकेको छैन।

‘सिंहदरबार अगाडिका केही भवनले सुरक्षा जोखिम बढाउने देखिएपछि अधिग्रहण गर्न सिफारिस आएको प्रतिवेदन गत असोजमै मन्त्रिपरिषद् कार्यालय पठाएका थियौँ,’ उनले भने‘ अधिग्रहणबारे कुनै नीतिगत निर्णय नहुँदा सिफारिस अनुसारको काम हुन सकेको छैन।’

बन्दाबन्दै विवादमा

३६ आनामा बनेको बसेरा बुटिक होटेल बन्न सुरु भएदेखि नै राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायले समेत सुरक्षा थ्रेट बढाउने भन्दै निर्माण रोक्न ध्यानाकर्षण गराएका थिए।प्रधानमन्त्रीको कार्यालय लगायत अधिकांश मन्त्रालय रहेको क्षेत्रकै सुरक्षा जोखिम बढाउने गरी अग्लो भवन बनेको विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुग्यो। उनले यसबारे अध्ययन गर्न निर्देशन दिए अनुसार समिति समेत बन्यो ।

समितिले सुरक्षा जोखिम बढाउने निष्कर्षसहित प्रतिवेदन बुझायो। विकल्पमा भवन अधिग्रहण गरी सरकारी कार्यालय चलाउन भनियो। तर अधिग्रहण गर्ने नगर्नेबारे कुनै निर्णय भएन। निर्णय नभएपछि पण्डितले पुस १ गते बुधबार पारेर होटेलको सफ्ट लन्च गरे। पण्डित नेकपाभित्र प्रभावशाली पहुँच भएका व्यवसायी मानिन्छन्।

 

पुष २, २०७७ बिहीबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।