राजमार्गमा एड्सको जोखिम
अध्ययन अनुसार नेपालका राजमार्ग क्षेत्रमा एड्स रोगको समस्या बढी देखिएको हो। विशेषगरी तराईका राजमार्ग क्षेत्रमा एड्सको समस्या बढी देखिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा बताउँछिन्।
प्रदेश २ (तराई)का राजमार्गमा यस्तो समस्या बढी देखिएको उनी बताउँछिन्। डा. देवकोटाले उकेरासँग भनिन्, ‘ओहोर˗दोहार हुने भएकाले नेपाल–भारत बोर्डर क्षेत्रमा एचआइभी संक्रमणको समस्या बढि देखिन्छ।’
प्रदेश २ का राजमार्ग आसपासका सिराहा, सप्तरी लगायतका क्षेत्रमा यस्तो समस्या बढी देखिएको अध्ययता (चिकित्सक) बताउँछन्।
त्यसो त रागमार्ग क्षेत्रमा एड्सको समस्या बढी देखिएको केन्द्रका तथ्यांक अधिकृत दीपक दाहाल पनि बताउँछन्। दाहालले भने, ‘तराईका हाइवे आसपासमा एड्सको समस्या बढी देखिन्छ।’
तथ्यांक अनुसार काठमाडौं उपत्यका, पोखराजस्ता सहरी क्षेत्रका केही ठाउँमा एड्स संक्रमणको समस्या बढी देखिएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि यस्तो देखिएको हो।
राजमार्ग क्षेत्रमा किन बढी संक्रमण देखियो भन्ने विषय यकिन रूपमा भन्न नसकिने चिकित्सक बताउँछन्। तर, राजमार्ग क्षेत्रमा होटल व्यवसाय हुन्छन्। बास बस्ने ठाउँ छन्। ट्रान्स जेन्डर (तेस्रो लिंगी) लगायतको ओहोर–दोहोर, सम्पर्क बढ्ने जस्ता कारणले यी क्षेत्रमा संक्रमण बढी देखिएको हुनसक्ने चिकित्सकको मत छ।
नेपालस्थित एड्स हेल्थ केयर फाउण्डेसनका दीपक ढुंगेल पनि राजमार्ग र सहरी क्षेत्र सम्पर्क सूत्रका लागि सहज हुने भएकाले यस्ता क्षेत्रमा एड्सको संक्रमण पनि बढी भएको बताउँछन्। यस्ता क्षेत्रमा एड्स नियन्त्रणका लागि विशेष कार्यक्रम लागु हुनुपर्ने चिकित्सकको मत छ। अध्ययन गरिएकामध्ये २२ भन्दा बढि जिल्लाका राजमार्ग क्षेत्रका यौनकर्मी महिलामा यौनजन्य रोगको संक्रमण छ।
नेपालमा करिव ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट हुन्छ। भारतमा काम गर्न गएर फर्केका पुरुषहरू स्वास्थ्य परीक्षण नगरी श्रीमतीसँग यौन सम्पर्क गर्दा पनि तराईका राजमार्ग आसपासमा यस्तो समस्या देखिएको निर्देशक डा. देवकोटा बताउँछिन्। गरिबी, अशिक्षा जस्ता कारणले एचआइभी परीक्षणको पहुँच नहुँदा बोर्डर क्षेत्रमा संक्रमण बढी देखिएको चिकित्सकको मत छ।
जोखिम समूह
अध्ययन अनुसार नेपालमा सुईको माध्यमबाट लागुपदार्थ प्रयोग गर्ने व्यक्ति, यौनकर्मी एचआइभी संक्रमणको उच्च जोखिममा रहेको समूह हो। त्यसैगरी पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारिका लागि विदेशिने व्यक्ति र जेलमा रहेका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा रहेको समूहमा पर्छ। सुईको माध्यमबाट लागुपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिंगी यौनकर्मीहरूमा एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको केन्द्रले जनाएको छ।
उमेर समूहका आधारमा १५ देखि ४९ वर्ष उमेर समूह सबैभन्दा बढी संक्रमित उमेर समूह हो। यो उमेर समूह बढी हिंडडुल गर्ने समूह हो। अध्ययन अनुसार संक्रमितमध्ये ११ प्रतिशत २० देखि २४ वर्ष उमेर समूहका छन् भने ७२ प्रतिशत संक्रमित त २५ देखि ४९ वर्ष उमेर समूहका छन्। बाँकी १७ प्रतिशत अन्य उमेर समूहका छन्।
संक्रमितमध्ये औसतमा ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिलामा संक्रमण देखिन्छ। नेपालमा करिव २९ हजार पाँच सय जनामा एचआइभी संक्रमण भएको अनुमान छ, जसमध्ये पुरुषको संख्या १७ हजार पाँच सय ८७ छ भने महिलाको संख्या ११ हजार नौ सय १६ छ।
पछिल्लो समय एचआइभी संक्रमित र संक्रमणका कारण हुने मृत्युदर पनि कम हुनु सकारात्मक पक्ष हो। तथ्यांक अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ।
त्यसैगरी, नेपालमा पनि सन् २०१० देखि २०१९ सम्ममा नयाँ संक्रमण ७६ प्रतिशतले घटेको छ भने बालबालिकामा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ।
सचेर रहौं
चिकित्सकका अनुसार अन्य क्षेत्रको तुलनामा राजमार्ग क्षेत्रमा संक्रमितको संख्या बढी छ। तर, त्यहाँ पनि संख्या कम हुँदै गएको छ।
रोग नियन्त्रणका कार्यक्रम प्रभावकारी भएकाले राजमार्ग क्षेत्रमा पनि संक्रमण कम हुँदै गएको रोग नियन्त्रण केन्द्रको दाबी छ। केन्द्रका तथ्यांक अधिकृत दाहालले भने, ‘त्यो एरिया (राजमार्ग क्षेत्र)मा फोकस कार्यक्रम छन्। त्यसैले एड्स कम भएको हो।’
एचआइभी एड्स संक्रमण कम गर्नका लागि राजमार्ग क्षेत्र तथा सहरी क्षेत्रमा सुरक्षित यौन सम्पर्कका लागि सरकारका विभिन्न कार्यक्रम हुनु सकारात्मक पक्ष भएको एड्स हेल्थ केयर फाउण्डेशनका ढुंगेलको तर्क छ। अहिले भइरहेका कार्यक्रमहरूलाई नै निरन्तरता दिँदै गति बढाउने हो भने एचआइभी एड्स नियन्त्रण गर्न सम्भव हुने उनी बताउँछन्।
एचआइभी भाइरस हो भने एड्स रोग हो। एचआइभी भाइरस संक्रमणको कारण एड्स रोग लाग्छ। एचआइभीको संक्रमण बढ्दै गए एड्स रोग लाग्छ।
एचआइभी भइहाले पनि नियमित औषधि उपचार गरेको खण्डमा एड्स हुनबाट बच्न सकिने काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्। एचआइभी˗एड्स पूर्णरूपमा ठिक नभए पनि यसलाई नियन्त्रण तथा रोकथाम भने गर्न सकिन्छ, जसले आयु लम्ब्याउन सकिन्छ। स्वस्थ जीवन नै अपनाउन सकिन्छ। डा. पुनले भने, ‘एचआइभी भाइरसको संख्या वृद्धि विकास हुन नदिन औषधि उपचार गर्नुपर्छ।’
संक्रमणको संख्या बढ्दै गए रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। त्यसैले बेलैमा उपचार नगरेको खण्डमा एचआइभी˗एड्सका कारण व्यक्तिको ज्यानै जान सक्छ। नेपालमा एचआइभी संक्रमितलाई निःशुल्क औषधि वितरण कार्य ८० वटा एआरटी केन्द्रहरू र २० वटा एआरभी औषधि वितरण केन्द्रबाट भइरहेको सरकारले जनाएको छ।
डा. देवकोटा यौन व्यवसायमा जानुपर्ने बाध्यता नै आउन नदिन सीपमूलक कार्यक्रमतर्फ ध्यान दिनुपर्ने बताउँछिन्। तर, यौनलाई व्यवसायका रूपमा अँगाल्ने व्यक्तिले लुकेर यौन धन्दा चलाउनुभन्दा निश्चित कानुनी मापदण्ड बनाई व्यावसायीकरण गर्नु नै उचित हुने डा. देवकोटाको मत छ। मापदण्ड बनाई यौन व्यवसाय गर्दा यौनजन्य रोगबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउन सहज हुने चिकित्सकको मत छ।
मंसिर ३०, २०७७ मंगलबार ०९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।