कर्णालीमा धान उत्पादनमा वृद्धि
सुर्खेत : गत वर्षभन्दा यो वर्ष कर्णालीमा साढे पाँच प्रतिशतले धान उत्पादनमा बृद्धि भएको छ।गत वर्ष कर्णालीमा एक लाख १४ हजार तीनसय १८ मेट्रिक टन धान उत्पादन भएको थियोभने यो वर्ष एक लाख २० हजार नौ सय ७१ मेट्रिक टन धान उत्पादन भएको हो।
यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा बृद्धि भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाय यो वर्ष समयमा नै वर्षा भएको र कृषकले छिटै धान रोपेकाले उत्पादनमा बृद्धि भएको बताउँछन्।
‘यो वर्ष वर्षा हुँदा कृषकले समयमै धान रोप्न पाए’निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले भने, ‘कृषकको मेहनत र वर्षाले साथ दिएकै कारण धान उत्पादनमा बृद्धि भएको हो।’ कोरोनाका कारण किसानहरु समयमै घर आउनु र गोडमेलमा ध्यान दिनु जस्ता कारणले धान उत्पादन बृद्धि भएको रोकायले जनाए।
‘विदेश गएकाहरु कृषकहरु गाउँ फर्किए, खाद्यान्न अभाव हुने डरले राम्रोसँग गोडमेल गरे’ उनले भने, ‘कृषकको मेहनत र समयमै बर्षा हुँदा धान उत्पादनमा बृद्धि भयो।उनका अनुसार प्रदेश सरकारले उत्पादन बृद्धिका लागि कृषकलाई प्रेरित गर्नु, बाँझो जमिनमा पनि खेति गर्नु जस्ता कारणले पनि धान उत्पादनमा बृद्धि भएको हो।
कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार सुर्खेतमा ४२ हजार आठसय तीन, रुकुम पश्चिममा आठ हजार नौ सय ७६, सल्यानमा २८ हजार नौसय, दैलेखमा चारहजार चारसय ४९ र जाजरकोटमा १० हजार ६ सय ६५ मेट्रिक टन धान उत्पादन भएको छ।
त्यस्तै डोल्पामा ६ सय पाँच, जुम्लामा दुई हजार नौ सय, कालिकोटमा नौ हजार चार सय ८९, मुगुमा सात हजार पाँच सय ७६ र हुम्लामामा सात सय ९० मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
मंसिर २४, २०७७ बुधबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।