बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बर्दिया, गेरुवा गाउँपालिका– ५ का ७२ वर्षीय र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ का ७३ वर्षीय पुरुष छन्। ती दुवैको उपचारका क्रममा आज बिहान मृत्यु भएको केन्द्रले जनाएको छ।
बर्दियाका ७२ वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालमा बिहान १ः११ बजे मृत्यु भएको छ। ती पुरुषलाई यही मंसिर १४ गते कोरोना पुष्टि भएको थियो।
त्यस्तै, कञ्चनपुरका ७३ वर्षीय पुरुषको भने कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा बिहान १ः४५ मा मृत्यु भएको हो। ती पुरुष यही मंसिर १५ गते अस्पताल भर्ना भएका थिए। उनलाई त्यसको दुई दिनअघि कैलालीको सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको थियो।
केन्द्रका सूचना स्रोत व्यक्ति तेज ओलीका अनुसार बाँकेमा हालसम्म १०३ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ३० जिल्लाकै छन् भने बाँकी अन्य जिल्लाका छन्।
मंसिर २२, २०७७ सोमबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।