नेवारी भाषाको पाठ्यपुस्तक तयार
काठमाडौं : काठमाडौं महानगरपालिकाले नेवारी भाषाको स्थानीय पाठ्यपुस्तक तयार पारेको छ।
महानगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठनका लागि ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरेको हो। ‘येँ देय् म्हसीके’ को अर्थ नेपाली भाषामा नेपाललाई चिनौँ हुन्छ।
कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा पाठ्यपुस्तक पठनपाठन अघि बढाइएको महानगरले जनाएको छ।
महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती खनालले कार्यपालिका बैठकले चालु क्षैक्षिकशत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरेअनुसार पठनपाठनको तयारी थालिएको जानकारी दिए।
‘वैशाख–जेठबाट पढाउने तयारी थियो। कोभिडका कारण पाठ्यपुस्तक छपाइलगायतका काममा केही ढिलाई भएको छ।’ उनले भने,‘यद्यपि, महानगरपालिकाले सञ्चालन गरेको एफएम र विभिन्न माध्ययममार्फत पठन–पाठन अघि बढाएका छौँ।’
खनालका अनुसार महानगरभित्र ९२ वटा सामूदायिक र करीब ६ सय ४० संस्थागत विद्यालयमा पठनपाठन गरिनेछ। यसका लागि
शिक्षकहरुलाई तालिम दिइएको विभागले जानकारी दिएको छ।
के छ पाठ्यक्रममा ?
पाठ्यक्रममा नेवार जातीको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेल,चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा जस्ता विषय समेटिएको छ। त्यस्तै पुरातात्विक महत्वका ढुंगेधारा, पाटी, सत्तलसमेत यसमा समेटिएको महानगरले जनाएको छ।
पाठ्यपुस्तक लेखनमा सहभागी वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यले पाठ्यपुस्तक यो भाषा सिकाउने पुस्तक नभएको वताइन्।
‘बालबालिकालाई नेवार भाषा लाद्ने गरी होइन, परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ’ उनी भन्छन,‘यो पुस्तकको अध्ययनले काठमाडौंलाई नजिक रहेर बुझ्न सकिन्छ।’
अर्थ नेपाली भाषामै
शिक्षा विभागका अनुसार कक्षा १ को लागि पाठ्यपुस्तक तयार भएको छ। कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाईन भईसकेका छन्।
पूर्णरूपमा रंगीन ८० पृष्ठ रहने पुस्तकमा नेपाल भाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ।
महानगरले स्थानीय तहले स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर अध्यापन गराउन सक्ने संबैधानिक व्यवस्था अनुसार पाठ्यपुस्तक लागु गरिएको जनाएको छ।
मंसिर २१, २०७७ आइतबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।