समस्या र समाधान

समस्या र समाधान

कुनैबेला सहरको एउटा ठूलो कम्पनीमा काम गर्ने एकजना मान्छेलाई आफुले गरिरहने कामदेखि निकै तनाब भएछ।

उनको काम नै निकै तनाबपूर्ण थियो। त्यसमाथी उनको परिवारमा पनि खुशीयाली थिएन। उनको कमाई त राम्रो नै थियो तर कहिले परिवारका सदस्य बिरामी पर्थे, कहिले आफन्तहरुले आफुहरुलाई बेवास्ता गर्यो भनेर चित्त दुखाउँथे।

कहिले माथिल्लो ओहदाका हाकिमहरुले समयमा काम भएन भनेर कराउँथे भने कहिले फेरी आफुभन्दा तल्लो ओहदाका कर्मचारीहरुले समयका काम नगरेर हैरान गर्थे।

समग्रमा भन्ने हो भने ती मान्छे समस्यै समस्याहरुको भुमरीमा परेका थिए । केही दिनपछि उनलाई साहै्र दिक्क लाग्यो र अफिसबाट बिदा नै नलिईकन जहाँ पुगे पुग्छु भन्दै कतै टाढा जान भनेर हिँडे। आफु कहाँ जान लागेको भनेर उनले घरमा समेत कसैलाई भनेनन् ।

जाँदा जाँदा निकै टाढा एउटा एकान्त ठाउँमा पुगे। त्यहाँ एउटा ठूलो चौर थियो र चौरमा थुप्रै भेंडाहरु चरिरहेका थिए।

चौरको बिचमा एउटा अग्लोभाग थियो जहाँ एउटा सानो कुटीजस्तो घर थियो। घरको नजिकै एउटा रुख पनि थियो।

साँझ पर्न लागिरहेको थियो। त्यो ठाउँको वरीपरी कुनै बस्ती पनि थिएन। त्यसैले आजको रात त्यहीँ बिताउनुपर्ला भन्ने सोंच्दै उनी घरमा गएर, "को हुनुहुन्छ ?"  भनेर बोलाए।

बाहिरको आवाज सुन्ने बित्तिकै भित्रबाट एकजना सेतै फुलेका लामालामा दाह्री पालेका जोगीबाबा निस्किए।

एकछिन आफ्नो परिचय दिएपछि ती सहरीया मान्छेले जोगीबाबासँग बास मागे। जोगीबाबाले सहरीया मान्छेसँग एकछिन कुराकानी गरे।

सहरीयाले आफु सहरको जिन्दगीको तनाबबाट मुक्त हुनको लागि बिना उद्धेश्य नै यात्रामा हिँडेको कुरा बताए।

जोगीबाबा सहरीया मान्छेलाई आफ्नो कुटीमा बस्नको लागि एउटा शर्त पालना गर्नुपर्ने भन्दै यदी त्यो शर्त पालना गर्न मञ्जूर भएमा मात्र बास दिन सक्ने कुरा भने। यदी शर्त हारेमा जोगीबाबाले भनेको कुरा मान्नुपर्ने कुरा सुनाए ।

शर्त निकै कठिन पनि थिएन। अघि चौरभरी देखिएका भेंडाहरु ती जोगीबाबाका थिए। उनले राती ती भेंडाहरुलाई भुईंमा बसालेमा मात्र आफुले त्यहाँ बास दिने कुरा सुनाए। सहरीया मान्छेलाई पनि त्यो कुरा खासै कठिन लागेन।

उनले शर्त मञ्जूर गरे। जोगीबाबाले ती आगन्तुक सहरीया मान्छेलाई एउटा बिछ्यौना पनि दिए। कुटी सानो थियो। तैपनी अप्ठ्यारो परेको बेलामा त्यही सहायता पनि सहरीया मान्छेको लागि ठूलो लाग्यो।

उनी भेंडाहरुलाई बसाल्ने तरखरमा लागे। जोगीबाबा आफ्नो ओछ्यानमा पल्टिएर एकैछिनमा निदाए। बिहान जोगीबाबा उठ्दा ती सहरीया मान्छे हातमा लौरो लिएर जागेकै थिए।

जोगीबाबा मुस्कुराउँदै कस्तो रह्यो त बाबु निद्रा भन्दै सोधे। तर सहरीया भने पटक्कै निदाएका थिएनन्। उनले ती भेडाहरुलाई आफुले पटक्कै बसाल्न नसकेको भन्दै त्यसैले आफु नसुतेको कुरा भने।

उनले भन्दै गए ,

"केही भेडाहरु आफै बसे, केही भेडाहरुलाई मैले बसाल्न कोशिस गर्नासाथ बसे, केहीलाई अलिक बढि नै मेहनत गर्नुपर्यो बसाल्नको लागी, तर बाँकी भेंडाहरुलाई पटक्कै बसाल्न सकेन।"

यो कुरा सुनेर जोगीबाबा एकपटक फेरी मुस्कुराए अनि भन्न थाले,

" हेर बाबु अब त तिमीलाई जिन्दगीको एउटा शिक्षा मिल्यो होला। तिम्रा जीवनमा पनि समस्याहरु आए , कुनै समस्या आए अनि आफै गए, कुनै समस्या समाधान गर्नका लागि तिमीलाई अलिकती जोड गर्नु पर्यो होला भने कुनैलाई निकै बेसी नै मेहनत गर्नुपरे होला, कुनै कुनै समस्याहरु फेरी समाधान नै हुन सकेनन् होला।"

जोगीबाबाको कुरा सुनेपछि ती सहरीयाले पनि आफ्ना समस्याहरु सम्झे अनि समस्याहरुसँग भाग्दैमा त्यसको समाधान निस्कने रहेनछ भन्नेकुरा महशुस गरे।

अनि ती जोगीबाबालाई जिन्दगीको निकै महत्वपूर्ण शिक्षा प्रदान गरेकोमा धन्यवाद दिँदै समस्याहरुसँग जुध्न भन्दै आफ्नै सहरतिर लागे।

 

मंसिर १०, २०७७ बुधबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।