सयपत्री हेर्दा मनै उमंग !

सयपत्री हेर्दा मनै उमंग !

बगैंचामा सयपत्री फुल्दा उनलाई गार्डेनमा घुमिरहुँ लाग्छ। तर, ढकमक्क फुलेका सयपत्री निमिट्यान्ने पारेर चटक्क चुँड्दा उनको मन कटक्क खान्छ। उनलाई फुलिरहेको फूल टिप्न साह्रै माया लाग्छ। उनलाई फूल चुँटेको देख्दा लाग्छ, ‘फुलिरहेको फूलको जीवन गयो।’ त्यसैले उनी फुलेर ओइलाउँदै गरेको फूल प्रयोग गर्नु उचित हुने तर्क गर्छिन्।

उनी घरमा बसेको समयमा आमालाई बगैंचा स्याहार्न सघाउँछिन्। गायिका राउतले भनिन्, ‘साँझमा एक÷डेढ घण्टा फूलमा पानी हाल्छु। बगैंचा गोडमेल गर्छु।’ 

 

 

विशेषगरी आमा सावित्री राउत (रचनाकार)को प्रेरणाले नै फूलप्रति आफू आकर्षित भएको उनले सुनाइन्। राउतले भनिन्, ‘ममी गार्डेनमा फूल स्याहारिरहनु हुन्छ।’ त्यसो त उनका बुबा हरिबहादुर राउत (बरिष्ठ लोक गायक) पनि बगैंचामा फूल स्याहार्न मन पराउँछन् रे। 

आफूले स्याहारेका बोटबिरुवा हराभरा भएको देख्दा आनन्द नलाग्ने कुरै भएन। तर, रोग लागेको देख्दा उनको मन पनि खिन्न हुन्छ। राउतले गार्डेन अनुभव सुनाइन्, ‘फूल–बिरुवाका पात किराले खाँदा मन दुख्दो रहेछ क्या !’

त्यसो त उनी सयपत्रीमा औषधीय गुण हुने भएकाले ओइलाएको सयपत्रीको थँुगा पानीमा भिजाएर तथा चियाएको रूपमा पनि पिउने गरेको सुनाउँछिन्। गायिका राउतले भनिन्, ‘ओइलाएको सयपत्री फूल सुकाएर ब्ल्याक टीमा हालेर पिउँछु।’ उनी यसरी सयपत्रीको पानी पिउँदा स्वास्थ्यमा लाभ मिलेको अनुभव हुने गरेको सुनाउँछिन्।

बगैंचामा सयपत्री फुल्दा तथा गार्डेन हराभरा हुँदा सकारात्मक भाव पैदा हुने आस्थाको अनुभूति छ। उनले भनिन्, ‘फूल–बिरुवासँग रमाउँदा पोजेटिभ एनर्जी आएको फिल हुन्छ।’

त्यसो त मनोविद् गोपाल ढकाल पनि फूल–बिरुवासँग दैनिक रमाउन रुचाउने व्यक्ति हुन्। उनी ढकमक्क सयपत्री फुलेको हेर्दा मन प्रफुल्लित हुने गरेको अनुभव सुनाउँछन्। सयपत्री फुलेको देख्दा शरीरमा रसायनिक परिवर्तन भई अक्सिटोसिन, डोपामिन, सेरोटोनिन् जस्ता खुसी दिने हार्मोन सक्रिय हुने र मन मन प्रफुल्लित हुने उनी बताउँछन्। 

ढकमक्क फूलेको सयपत्री हेर्दा सोच तथा भावनामा सकारात्मक परिवर्तन आउने ढकाल बताउँछन्। मनोविद् ढकालले भने, ‘सयपत्री फुलेको देख्दा होस् वा माला लगाउँदा, मनमा सकारात्मक सोचको प्रवाह हुन्छ।’ 

सुन्दर फूल हेर्दा तनाव तथा निराशा कम भई उमंग आउने ढकालले सुनाए। उनी तनाव तथा डिप्रेसनको समस्या भएका व्यक्तिलाई शक्ति तथा उमंग दिने कलर थेरापीको समेत प्रयोग गरिने बताउँछन्। त्यसैले घर तथा बगैंचामा सयपत्री लगायतका रंगीचंगी फूल फुलाएर फूलको दृष्यमा रमाउनु शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायक हुने उनको सुझाव छ। 

ढकमक्क सयपत्री

तिहारको समयमा सयपत्री फुलेर फूलबारी ढकमक्क हुन्छ। विशेषगरी सहरी क्षेत्रमा बगौंचामा सयपत्री रोपेर फुलाइन्छ। घरको कम्पाउण्ड, कौशी तथा छतमा सयपत्री फूलेको देख्दा मनै गदगद हुन्छ। बगैंचामा ढकमक्क सयपत्री फुलेको देख्दा कसको पो मन गदगद हुँदैन र ! 

सयपत्री नेपालमा फुलाइने फूलमध्ये सबैभन्दा बढी मन पराइने फूल हो। विशेषगरी दसैं तिहारको समयमा यो फूल बढी फुलाइन्छ। प्रविधिको विकास हुँदै गएको अवस्थामा हाइब्रिड गरेर साना गमलामा चटक्क फुलाएर घर तथा कौशीमा सजाउनेको संख्या बढिरहेको छ। विशेषगरी सहरी क्षेत्रमा हाइब्रिड जातका सयपत्री गार्डेन तथा गमलामा फुलाएर सजाउने संस्कार बढिरहेको छ। 

सामान्यतः तिहारमा फुलाउनका लागि असार–साउनमा सयपत्रीका बिरुवा रोप्न फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)का अध्यक्ष कुमार कसजु श्रेष्ठ सुझाउँछन्। श्रेष्ठले भने, ‘हाइब्रिड जातको सयपत्री साठी दिनमा फुल्छ।’ 

हाइब्रिड जातको सयपत्री सामान्यतः बीउ हालेको ७५ दिनमा फूल्न थाल्छ। त्यसैले दिन गनेर फूल रोप्न सकिन्छ। 

‘ट्यागेस्टेस’,‘फ्रेन्च’,‘कलकत्ते’,‘अफ्रिकन’,‘गार्ल्याण्ड’जस्ता जातका सयपत्री नेपालमा पाइन्छ। हाइब्रिड र कटफ्लावरगरी दुई किसिमका सयपत्री हुन्छन्। कटफ्लावर जातकोे एक बोट सयपत्रीबाट चारवटासम्म माला हुने श्रेष्ठले बताए। सामान्यतः कटफ्लावर जातको सयपत्री अग्लो हुन्छ। धेरै फुल्छ। त्यसैले जमिनमा रोपेर मालाका लागि प्रयोग गरिन्छ। हाइब्रिड जातका सयपत्री होचा हुन्छन्। यो करिव ६ सेन्टिमिटर फैलन्छ। त्यसैले गमलामा तथा गार्डेनमा रोपेर बगैंचा तथा कौशी सजाइन्छ। 

हाइब्रिड जातका सयपत्री जमिनमा रोप्दा सामान्यतया एक फिटको दूरीमा रोप्न सकिन्छ। पानी जम्ने ठाउँमा रोप्नु हुँदैन। रोप्दा भने राम्रोसँग मल मिलाउनुपर्छ। १० इन्चको गमलामा सयपत्री रोप्दा एक मुठ्ठी गाईको मल वा दुई चम्चा पिना माटोमा मिलाएर सयपत्री रोप्न सकिने हर्टिकल्चर विशेषज्ञ बताउँछन्। यसलाई सफा हावापानी आवश्यक हुन्छ।  विभिन्न किसिमका रोगले पनि दुःख दिन सक्ने भएकाले स्वस्थ बिरुवा रोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ। त्यसो त रोग लागिहाल्यो भने पनि उपचार भएकाले हर्टिकल्चर विशेषज्ञको सुझाव लिनु उचित हुन्छ। सयपत्रीमा ‘लाई’ किरा बढी लाग्ने तथा डढ्ने किसिमको रोग लाग्ने भएकाले यस्ता रोगविरुद्धको विषादी प्रयोग गर्न सकिन्छ। 
फूल टिकाउनका लागि फुलेको थुँगामा पानी हाल्नु हुँदैन।

अध्यक्ष श्रेष्ठले भने, ‘थुँगामा पानी पर्यो भने फूल टिक्दैन। त्यसैले फेदमा हल्कागरी पानी हाल्नुपर्छ।’

एक थुँगा फूलको आयु करिव १५ दिन हुन्छ। समग्रको कुरा गर्ने हो भने एउटा हाइब्रिड जातको सयपत्री फुल्न थालेपछि पनि झण्डै दुई महिना रहन्छ। कटफ्लावर जातको सयपत्री भने करिव ६ महिना फुलाउन सकिन्छ। थुँगामा शित तथा पानी परेको अवस्थामा भने फूल चाँडै औलाउने श्रेष्ठले बताए। फुलेको फूल धेरै घाम भएको ठाउँमा राख्दा चाँडै ओइलाउने भएकाले गमलामा रोपिएको फूल भए शितलमा राख्न सकिन्छ। टिपेको फूललाई पनि घाम नलाग्ने ओशिलो ठाउँमा माला गाँसेर झुण्ड्याएर राख्दा थप एक हप्ता टिकाउन सकिन्छ। 

नेपाली उत्पादनले धान्ने

त्यसो त नेपाल पनि सयपत्री फूलमा आत्मनिर्भर हुँदै गएको छ। यसपालीको तिहारमा नेपालमा नै भएको उत्पादनले धान्ने फ्यानले जनाएको छ। यो वर्ष कोरोना भाइरसको कारण मालाको खपत पनि कम हुने अनुमान छ।

फ्यानका अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा यो वर्ष १५ लाख मालाको खपत हुने अनुमान छ।’

उनले १२ लाख सयपत्री र तीन लाख मखमली फूलको माला खपत हुने अनुमान गरे। यो वर्ष गत वर्षको तिहारको तुलनामा ३५ प्रतिशतभन्दा कम खपत हो। यो वर्षको तिहारमा मालाको मूल्य भने गत वर्षकै हाराहारीमा हुने देखिएको छ।

सयपत्रीको माला करिव ७० रूपैयाँ र मखमलीको ५० रूपैयाँ हुने फ्यानले जनाएको छ। तिहारमा मात्रै ३० करोड हाराहारीको फूलका माला तथा बोटबिरुवाको कारोवार हुने भए पनि यो वर्ष घटेको छ। 
 

कात्तिक २८, २०७७ शुक्रबार ००:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।