मेडिकल कलेज स्थापना : टुंगो छैन जग्गाको

मेडिकल कलेज स्थापना  :  टुंगो छैन  जग्गाको
मेडिकल स्थापना हुने प्रस्तावित ग्रागेताल क्षेत्र।

सुर्खेत : सुर्खेत मेडिकल कलेजको काम अगाडि बढ्न सकेको छैन। मेडिकल कलेज बनाउन तीन सय शैय्याको अस्पताल आवश्यक पर्ने भएकाले कर्णाली प्रदेश अस्पतालसँग सम्झौता गरि तत्काल शिक्षण प्रक्रिया अगाडि बढाउने तयारी भए पनि हालसम्म संरचना निर्माण गर्ने जग्गाको टुंगो लाग्न सकेको छैन।

कलेज स्थापनाका लागि संघीय सरकारले गत आर्थिक वर्ष १० करोड रकम समेत बजेट विजियोजन गरेको थियो। तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माद्वारा गठित कार्यदलले सुर्खेतमा मेडिकल स्थापनाको लागि प्रतिवेदन तयार गरेको थियो। उक्त कार्यदललार्ई दुई महिनामा  विस्तृत योजना अध्ययन प्रतिवेदन (डिपिआर) बुझाउन निर्देशन दिइएको थियो।

सोहीबमोजिम जग्गा तथा पूर्वाधार पहिचान गरी भोगाधिकार प्राप्तिका लागि सिफारिस गर्ने, पूर्वाधार तथा सम्भाव्यताको अध्ययन गरी शिक्षा मन्त्रालयलमा विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने र स्थानीय स्तरमा समन्वय गरेर पूर्वाधार विकासका लागि तयार गर्न भनेर निर्देशन दिएको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ।

मेडिकल कलेज स्थापनाका लागि जग्गा तथा पूर्वाधार पहिचान गर्न तत्कालीन नेकपा माओवादी केन्द्रका नेता जीतबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय प्रारम्भिक कार्य समिति तोकेको छ।

सदस्यहरुमा वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख बालाराम शर्मा, अधिवक्ता कृष्णबहादुर हमाल र तत्कालीन जिल्ला शिक्षा अधिकारी दीपा हमाल छन्।

समितिले प्रारम्भिक अध्यायनमा सुर्खेतको ग्रागेतालमा जग्गा अधिग्रहणका लागि सिफारिस गरे पनि हालसम्म पनि कुनै प्रक्रिया अगाडि नबढेको मेडिकल कलेज पूर्वाधार विकास समितिले जनाएको छ।

कलेजको पूर्वाधार निर्माण विकास आयोजनाले शिक्षण अस्पताल र प्राज्ञिक भवन अलग–अलग स्थानमा सञ्चालन गर्ने तयारी थालेको आयोजनाका प्रमुख जीतबहादुर शाहले जानकारी दिए। उनका अनुसार वीरेन्द्रनगर नगरपालिकास्थित वडा नम्बर ११, १२ र १३ का ६ वटा सामुदायिक वन क्षेत्रको अध्ययन भइरहेको छ।

शिक्षण प्रयोजनका लागि प्रदेश अस्पताल कालागाउँ र आवासीय, प्रशासनिक तथा अन्य प्राज्ञिक प्रयोजनका लागि ग्रागेताल वन क्षेत्रमा भवन बनाइने योजना रहेको प्रमुख शाहले जनाए।

भवन बन्ने क्षेत्र सामुदायिक वन पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्न सहमति प्रदानका लागि वन तथा वातावरण मन्त्रालयसँग माग गरिएको आयोजना प्रमुख शाहले बताए।

‘तीनवटा वडामा रहेका सामुदायिक वनको कति जग्गा आवश्यक पर्छ भन्ने टुंगो लागेको छैन,’ शाहले भने,‘भेरीगंगा नगरपालिकामा बनाउने भन्ने प्रस्ताव पनि आएको छ। अझैँ संचरना कहाँ बनाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन।’

अस्पताललाई शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरिसकेको सामाजिक विकासमन्त्री दल रावलले बताए।

‘संघीय सरकारले सुर्खेतमै मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गरिसकेपछि प्रदेशले छुट्टै मेडिकल कलेज बनाउन जरुरी नरहेकाले प्रक्रिया ढिलासुस्तीका विषयमा मलाई जानकारी छैन,’ उनले भने,‘प्रदेश सरकारले प्रदेशमा नै मेडिकल स्थापना गर्ने आफ्नो नीति तथा कार्यक्रममा ल्याएको थियो। संघीय सरकारले बनाउने भनेपछि रोकिएको हो।’

मेडिकल कलेजका लागि आवश्यक संरचना बनाउन कम्तीमा तीन वर्ष लाग्ने आयोजना प्रमुख शाहले बताए। ‘मेडिकल कलेज स्थापना भएको तीन वर्षपछि पढाई हुन्छ,’ उनले भने,‘अहिले राजनीतिक खिचातानी, जग्गा झमेला, लगायतका विषयमा अड्किएर बसेको छ।’

कोरोना भाइरसका कारणले सरकारले मेडिकल कलेजको कुनै काम अगाडि नबढाउन निर्देशन दिएका कारण अहिले सबै प्रक्रिया रोकिएको आयोजना प्रमुख शाहले जानकारी दिए।

चिकित्सा अध्ययनका लागि सुर्खेत मेडिकल कलेजले कर्णाली प्रदेश अस्पतालसँग सम्झौता गरेको भए अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन।

 

असोज २९, २०७७ बिहीबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।